३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

महिलाहरूलाई उद्यमी बन्न अध्यक्ष ज्ञवालीको आह्वान

महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महिलाहरूलाई उद्यमी बन्न आह्वान गरेकी छिन्। विराटनगरमा बुधबार आयोजित ‘ओमन इन बिजनेस’ अन्तरसंवाद कार्यक्रममा ज्ञवालीले महिलाहरूलाई उद्यमी बन्न आह्वान गरेकी हुन्।

कार्यक्रममा ज्ञवालीले राज्यलाई जगाउन, समाजलाई जगाउन र महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले महिला उद्यमी महासंघले देशैभर विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिइन्।

उनले अरुले के गर्‍यो भन्ने भन्दा पनि आफूले के गरे भन्ने मूल्यांकन गर्ने बेला आएको बताइन्। ‘राज्यले के गर्‍यो ? अरुले के गरे ? भन्ने भन्दा पनि आफूले के गरे ? भनेर मूल्यांकन गर्ने बेला भएको छ’ उनले भनिन् ‘आफूले आफूलाई नै मूल्यांकन गरेर अघि बढे सफलताको नयाँ बाटो भेटिन्छ।’

उद्यमशीलताका लागि महिलाहरूलाई अघि बढाउने उद्देश्यका साथ महिला उद्यमी महासंघ स्थापना भएको र सोही लक्ष्य प्राप्तिका लागि निरन्तर काम गरिरहेको ज्ञवालीले सुनाइन्।

महिलाका समस्या महिलाले नै बुझ्न सक्ने भएकाले महिला उद्यमी महासंघले देशभरका ६७ जिल्लामा शाखा स्थापना गरेर जिल्ला–जिल्लाका महिलाहरूलाई उद्यमी बन्न सघाइरहेको उनले जानकारी दिइन्।

कार्यक्रममा आयोजित अन्तरसंवादमा विज्ञ गंगा सुवेदीले व्यापार पनि कला नै भएको बताइन्। उनले व्यापार गर्दा आफूलाई कस्ता सामाग्री मन पर्छ भन्ने ध्यानमा राखेर त्यस्तै खालका सामाग्रीहरू उत्पादन गरे अरूलाई पनि मन पर्ने र व्यापारबाट राम्रो प्रतिफल प्राप्त हुने सुवेदीको धारणा छ।

होटल तथा पर्यटन व्यवसायी भविश श्रेष्ठले बस्तु उत्पादन गरेर मात्रै नहुने बजारमा पुर्‍याउन र ब्रान्ड स्थापना गर्न आवश्यक रहेको धारणा राखे।

युवा उद्यमी युनिश श्रेष्ठले नेपालमा केही हुँदैन भन्ने निराशाबाट देश गुज्री रहेको बताए। उनले १२ पास गरेपछि कुन देश पठाउने भन्ने चिन्ता अभिभावकले लिन थालेकै कारण धेरैजसो युवाहरू बिदेसिन बाध्य भइरहेको उनकाे भनाइ थियाे। नेपाली युवालाई यही देशमा काम गर्ने वातावरण तयार पार्न आवश्यक रहेको श्रेष्ठको धारणा छ। 

महिला उद्यमी सुनिता छाराहाङले अभिरुचि, मिहिनेत र निरन्तरको प्रयासले मात्रै सफलता मिल्ने बताइन्। उनले ठूला उद्योगका उत्पादनसँग महिलाहरूले बनाएका बस्तुले प्रतिस्पर्धा गर्न नसकेको गुनासो गरिन्। सानो स्केलमा उत्पादन हुने भएकाले लागत धेरै पर्ने र महिला उद्यामीहरूका व्यवसाय भ्याटमा दर्ता नभएका कारण सरकारी निकायहरूले पनि किन्न नमान्ने गरेको छाराहाङको गुनासो छ।

कार्यक्रममा महिला उद्यमी महासंघ कोशीले महिला उद्यमीहरूले उत्पादन गरेका सामाग्रीको प्रदर्शनी पनि गरेको थियो। प्रदर्शनीमा महिलाहरूले उत्पादन गरेका विभिन्न खाद्यान्नका परिकारहरू, कृषि उत्पादनहरू, हातले बनाएका सामाग्रीहरू, गार्मेन्टलगायतका बस्तुहरू राखिएको थियो।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीहरूको सहभागिता रहेको महिला उद्यमी महासंघ कोशी प्रदेशकी अध्यक्ष कृति उपाध्याय श्रेष्ठले जानकारी दिइन्।  

महिला उद्यमीका सामाग्रीहरू प्रदर्शन तथा अन्तर संवाद कार्यक्रमका सहभागीहरू । तस्बिर: चुमन बस्नेत/नागरिक 

प्रकाशित: १९ वैशाख २०८१ १९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App