१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

८ करोड पेश्की लिएर ठेकेदार सम्पर्कबिहीन, पूरा हुन सकेन रारा पदमार्ग

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।

रारामा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष ०७८÷७९ मा ४५ करोड २९ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले ठेक्का पाएको भएपनि काम अझै सम्पन्न हुन सकेको छैन। योजना निर्माणको जिम्मा पाएको खानी थोदुुङ क्याराभान कन्ट्रक्सन प्रालिका प्रोपाइटर चन्द्र थकालीले आठ करोड पेश्की लिएर कामै नगरी योजना अलपत्र पारेका छन्।

रारा ताल वरिपरि बनाउने भनिएको १५ किलोमिटर पदमार्ग सोलिङ, पिसिसि, नाली लगायतका काम अधुरै छन्। तोकिएको समयमा काम सक्ने गरी योजना सम्झौता भएको भएपनि ठेक्का पाएको कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको जिल्ला वन डिभिजन कार्यालय मुुगुुका निमित्त कार्यालय प्रमुुख अमर प्रसाद साहले बताए।

बहुुवर्षीय योजना ०८२ सालसम्म सक्नुपर्ने भएपनि हालसम्म ठेकेदार कम्पनीको लापरबाहीले काम अगाडि नबढेको र ठेकेदार कम्पनीको कुनैपनि व्यक्ति सम्पर्कमा नआएको उनले बताए।

‘आठ करोड पेश्की गएको छ, काम अलिकति मात्रै भएको छ। तीन वर्षसम्ममा पनि सोचेअनुरूप काम नभएपछि पेश्की फिर्ताको बारम्बार चिठी पठाएका छौँ,’ निमित्त कार्यालय प्रमुख साहले भने। कार्यालयको तर्फबाट रकम फिर्ताको प्रक्रियागत उपाय पनि अपनाउने र ठेकेदार कम्पनीले राज्यको पैसा दोहन गर्ने काम नगर्ने ब्याज मात्रै असुली गर्नेजस्तो देखिएकाले सम्बन्धित निकायमा रकम असुुलीको पत्र बारम्बार कार्यालयको तर्फबाट पठाउने काम मात्रै भएको निमित्त कार्यालय प्रमुख साहले बताए।

यसैबीच रारा राष्ट्रिय निकुुञ्जका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेका अनुसार रारा राष्ट्रिय निकुुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण हुने भनिएको वर्षौं बित्दा पनि काम हुन सकेको छैन। ‘रारा राष्ट्रिय निकुञ्जभित्र पूर्वाधार निर्माण हुने भएकाले हामीले अनुुमति मात्र दिइने हो। तर, एकपटक अनुमति लिन आएका बेला कार्यालयको तर्फबाट अनुुमति दिइएका भए पनि काम अगाडि बढ्न सकेको छैन।

काम गर्ने म्याद पनि भएकाले विस्तारै काम सुरु गरौंला भनेर ढिलाई गरेको हुन सक्ने घिमिरेको भनाइ छ। उनले उक्त रारा तालमा बन्ने पुल पनी कसले बनाउने भन्ने कुरामा अन्यौल भएको बताए। उनका अनुसार अहिले ठेकेदार कम्पनी नै फरार छ।  

ठेकेदार चन्द्र थकालीले भने अबको केही दिनमा काम सुरु गर्ने बताएका छन्। अन्त पनि काम भएकाले राराको काममा ढिलाई भएको उनले बताए।

पर्यटकीय पूर्वाधार निर्माण भए रारा घुम्न आउने पर्यटकलाई सहज हुने छ। अहिले काम नहुँदा एकातिर राज्यको रकमको दोहन भएको छ भने अर्कोतिर राराको सौन्दर्यतामा आँच आएको छ स्थानीयको भनाइ छ।

यसअघि आर्थिक वर्ष ०७६/७७ मा पनि कर्णाली प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रारामा पुगेर रारामा साइकल लेन पर्यटकीय पूर्वाधार निर्माणका लागि शिल्यानाससमेत गरेका थिए।

त्यो योजनाले पनि सार्थकता पाएन। कर्णाली प्रदेश सरकारबाट पटकपटक बजेट आउने तर काम अगाडि नबढ्ने बजेट फ्रिज जाने प्रवृत्तिले रारामा सोचेअनुरूप संरचना बन्न सकेका छैनन्। नियमनकारी निकायको उदासीनताका कारण रारामा पर्यटकीय पूर्वाधार भौतिक संरचना बन्न नसेकेको स्थानीय भरत रावलको भनाइ छ।

प्रकाशित: ५ वैशाख २०८१ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App