१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पदयात्रा पर्यटक पोखरा टेक्छन्, तर, बस्दैनन्

‘ट्रान्जिट’ बन्दैछ पोखरा

अन्नपूर्ण क्षेत्रको पदयात्रामा रहेका विदेशी पाहुना। तस्बिरः नागरिक

केहीवर्ष अघिसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा जाने अधिकांश विदेशी पदयात्रीले पोखरालाई ‘सुरुवाती’ वा ‘अन्तिम’ गन्तव्य बनाउँथे। पदयात्रामा जानेहरु हवाईजहाज वा गाडीबाट पोखरासम्म आउँथे, अनि पोखरामा कम्तिमा एकरात बिताएर भोलिपल्ट पदयात्रामा निस्कन्थे। पोखराबाट पदयात्रा सुरु हुन्थ्यो। त्यस्तै पदयात्रा सकेर फर्किनेहरु पनि पोखरालाई अन्तिम बास बनाएर गन्तव्य तय गर्दथे।  

तर, अहिले पदयात्रीको पदयात्रा शैली फेरिएको छ। पदयात्रामा जाने पाहुनाहरु बिहानैको उडानमा पोखरा ओर्लिन्छन्, त्यसपछि विमानस्थलमै लिन आइपुगेको गाडी चढेर पदयात्राको प्रस्थान बिन्दुसम्म पुग्न थालेका छन्। गाडीमा आउनेहरु पनि पोखरामा बासै नबसी सिधै पदयात्रा सुरु हुने ठाउँसम्म पुग्ने गरेका छन्। पदयात्रा सकेर फर्किनेहरु पनि जसोतसो बेलुकीसम्म पोखरा झरिसक्ने र जहाज चढेर काठमाडौं पुग्न थालेका छन्।  

कम समय लिएर पदयात्रामा निस्कने पर्यटकहरुले अहिले पोखरालाई ‘ट्रान्जिट’ मात्र बनाउन थालेका छन्। अन्नपूर्ण आधारशिविर (एबिसी) को प्रवेशद्वार मानिने घान्द्रुकसम्मै अहिले गाडी पुग्छ। यस्तै आधारशिविर मार्गकै झिनुसम्म पनि गाडी पुग्ने गरेका छन। केहीवर्ष अघिसम्म घान्द्रुक र झिनुसम्म जानका लागि नयाँपुलदेखि नै पैदल हिड्नुपर्दथ्यो। त्यो करिब एकदिनको पैदलयात्रा थियो। तर मोटरबाटोले गर्दा पैदलयात्रा अवधि छोटिएको छ। त्यस्तै आधारशिविरको पदयात्रा सकेर फर्किनेहरु पनि घान्द्रुक वा झिनुबाटै गाडी चढ्न पाउँछन।

पदयात्रा सकेर गाडी चढेर बेलुकीसम्म पोखरा फर्किनेहरु त्यही बेलुकी हवाईजहाज चढेर काठमाडौंसम्म पुग्न थालेका छन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएर बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उडान संचालन हुँदा अहिले यात्रा सहज भएको छ। बिहानै पोखरा ओर्लिन मिल्ने र बेलुकी अबेरसम्म काठमाडौं पुग्न सकिने भएपछि व्यावसायीले पनि त्यही अनुसारको प्याकेज बनाएर पदयात्रा गराउन थालेका छन्।  

पोखराका एकजना पर्यटन व्यावसायी भन्छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा ट्रान्जिट बन्ने क्रम अझै बढ्यो। किनकी बिहानै पोखरा ओर्लिन र राती अबेरसम्म काठमाडौं फर्किने गरि हवाई सेवा सहज बनेको छ। त्यसबाहेक पदमार्गको माथिल्लो भेगसम्मै मोटर पुगेपछि स्थलमार्ग हुँदै भित्रिएका पाहुनाले पनि पोखरालाई ‘ट्रान्जिट’ बनाउन थालेका छन।’

‘पोखरामा बिहानै हवाईजहाजबाट ओर्लिएपछि विमानस्थलमै आइपुगेको गाडी चढेर अहिले पर्यटक सिधै घान्द्रक वा झिनुसम्म पुग्न सक्छन। त्यस्तै फर्किनेहरु पनि घान्द्रुक वा झिनुबाट गाडी चढेर सहजै पोखरा फर्किने गरेका छन,’ ती व्यावसायीले भने, ‘पोखरा फर्किदैनमा उनीहरुको बास नहुन पनि सक्छ। कतिपयले पोखरामै रात पनि बिताउँछन। तर पहिले जस्तो पोखरामा बास बस्ने चलन अहिले छैन। धेरैजसो त सहजै फर्किन्छन।’ स्थलमार्गबाट आउजाउ गर्ने मध्ये कतिपय त बरु पोखरामा बास बस्छन। तर, हवाईमार्गबाट आउजाउ गर्नेले पोखराई ट्रान्जिट बनाएको उनले बताए।

स्थलमार्ग हुँदै आउँजाउ गर्दा काठमाडौंबाट पोखरासम्म आउनै एकदिन लाग्ने र फर्किँदा पनि त्यत्ति नै समय लाग्ने भएपछि गाडीमा ओहोरदोहोर गर्ने केही पर्यटकको बास पोखरामा भएपनि हवाईमार्ग बाट आउजाउ गर्नेहरुले भने पोखरालाई ‘छल्न’ थालेको उनले बताए।

‘यो सबै मोटरबाटोको कारणले भएको हो। मोटरबाटो नहुँदासम्म पदयात्री पोखरामा बस्न बाध्य थिए। तर, अहिले धेरै नै माथिसम्म गाडी पुग्छन,’ ती व्यावसायीले भने, ‘त्यत्ति मात्र होईन, पोखरासम्मको हवाई पहुँच पनि पहिला भन्दा धेरै नै सहज छ। बिहान सबेरै र बेलुकी ९ बजेसम्मै उडान हुने गर्छन। पोखरामा पुरानो विमानस्थलबाट उडान हुँदाताका बिहान ८ बजेमात्र पोखरा आउन सकिन्थ्यो भने बेलुकी ४ बजेपछि काठमाडौं फर्किन पाइँदैनथ्यो।’

अन्नपूर्ण आधारशिविर पदमार्गमा पर्ने माछापुच्छ्रे आधारशिविर (एमबिसी) का व्यावसायी दिलीप गुरुङका अनुसार अहिले पोखराबाट २ देखि साढे २ दिनमै अन्नपूर्ण आधारशिविर पुग्न सकिन्छ। पोखराबाट गाडीमा सहजै झिनुसम्म पुगेपछि पदयात्राको गति निकै नै माथि पुगिने उनले बताए। ‘काठमाडौंबाट पहिलो उडानमा बिहानै पोखरा ओर्लेका पाहुना दिउँसै झिनु आइपुग्छन । त्यसपछि छोमरोङ हुँदै अघि बढ्दा पदयात्रा अवधि घटेको छ,’ गुरुङले भने, ‘फर्किदा पनि बेलुकीसम्म पोखरा पुग्ने गरि झिनुबाटै पाहुना गाडी चढ्छन। त्यसपछि सिधै विमानस्थल पुग्न सकिन्छ।’  

गुरुङका अनुसार पछिल्लो समय चिनियाँ, मलेशिया र कोरियाका पाहुनाले पोखरालाई बढी मात्रामा ट्रान्जिट बनाएर यात्रा गर्न थालेका छन। ‘ती मुलुकका पाहुनासँग समय पनि कम हुने गरेको छ। त्यसले गर्दा पोखरालाई छलेर उनीहरु काठमाडौंबाट एकैदिनमा छोमरोङ आउने गरेका छन,’ उनले भने, ‘फकिँदा पनि उनीहरुले पोखरालाई छलेर जाने गरेका छन।’  

उनका अनुसार छोमरोङदेखि दुइ दिनमा सहजै एबिसी उक्लिन सकिन्छ। फर्किदा भने त्यो गति झनै बढी हुन्छ। उनका अनुसार हिमालय वा दोभानबाट पोखरा झरेर बेलुकी जहाज चढेर काठमाडौं पुग्न सकिन्छ। एबिसीबाट पनि एकैदिनमा सहजै दोभान वा हिमालय झर्न सकिन्छ। 

‘विमानस्थलमा गाडी तयार हुन्छ, जहाजबाट ओर्लेपछि गाडी चढेर सिधै झिनुसम्म गाडीमा र त्यसपछि छोमरोङ उक्लिन्छन,’ उनले भने, ‘यूरोपियन मुलुकका पाहुना बरु बढी समय लिएर आएका हुन्छन। तर एशियाली मुलुकका पाहुनासँग समय कम हुने गरेको छ। त्यसले गर्दा उनीहरुले हतारमा पदयात्रा पुरा गर्छन।’

 उनका अनुसार पोखरामा बासै नबसी अन्नपूर्ण आधारशिविरको पदयात्रामा आउने पर्यटक पछिल्लो समय धेरै हुने गरेका छन। ‘काठमाडौंका धेरै व्यावसायीले अहिले पोखरालाई छलेर सिधै आधारशिविर आउनेगरि प्याकेज बनाउन थालेका छन। पछिल्लो समय नयाँपुल–घान्द्रुक सडक नै व्यस्त बनेको छ,’ उनले भने, ‘गाडी पाएपछि कोही पनि हिड्न खोज्दैनन। अहिले पदमार्गको माथिसम्मको मोटरबाटोले त्यही अवस्था देखाएको छ।’  

उनका अनुसार अहिले पोखरादेखि आधारशिविरसम्मको पदयात्रा चारदिनमै पनि पुरा हुन थालेको छ। विदेशी मात्र नभई स्वदेशी पनि त्यस्तै शैली अपनाउने गरेको उनले बताए। ‘नेपालीले बरु आउदा वा फर्किँदा पोखरामा रात बिताउँछन। तर, विदेशी पोखरालाई छलेर गन्तव्य पुग्न थालेका छन। यसले पोखराको पर्यटन व्यावसायमा पनि मार परेको छ,’ उनले भने, ‘पोखरामा गतिविधि नभएकोले पनि यस्तो अवस्था आएको हुनसक्छ।’ पोखराबाट काठमाडौंसम्मको रात्रीकालिन उडान भएपछि बेलुकी फर्किने तालिका लिएर पर्यटकहरु आउने गरेको उनले बताए।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पाहुना अड्याउनेगरि पोखरामा नियमित गतिविधि नहुँदा कतिपय आन्तरिक र धेरै विदेशी पर्यटकले पोखरालाई ट्रान्जिट बनाउन थालेको बताउँछन। ‘पोखरामा रात्रीकालिन मनोरञ्जनका पर्यटकीय गतिविधि धेरै छैनन। त्यसैले पोखरा ट्रान्जिट मात्र बन्न थालेको छ,’ पराजुलीले भने, ‘पुरानो विमानस्थल बिहान अबेर खुल्ने र बेलुकी छिटो बन्द हुने हुँदा पोखरामा एकरातको बसाई अनिवार्य जस्तै थियो। तर, अहिले अन्तर्राष्ट्रिय बिमानस्थल बिहान सबेरै र राती अबेरसम्म संचालन हुन्छ। त्यसले गर्दा आउजाउ सहज भएको छ।’  

‘पाहु्नालाई पोखरामै रोक्ने गतिविधि छैनन। पोखरामा नियमित गतिविधि हुने हो भने पाहुना अडिन्छन। नत्र रात बिताउन मात्र पोखरा बसाई बाध्यकारी बनेन,’ उनले भने, ‘पोखराको बसाई अवधि बढाउने हो भने केही प्रावधान पनि फेरबदल गर्नुपर्छ। अन्नपूर्ण क्षेत्र प्रवेशको अनुमतिपत्र पोखराबाट मात्र जारी गर्न पाउने हो भने यो पाहुनाको पोखरा बसाई हुन्छ।’ पोखरामा बेलुकीको समयमा पाहुना आकर्षण गर्ने खालको गतिविधि गराउने हो भने पोखरा ट्रान्जिट मात्र बन्ने चलन कम हुने उनले बताए। ‘रात्रीकालिन लाईफस्टाइलमा रमाउन पनि पाहुना पोखरा बस्थे। तर, ती गतिविधि भएनन,’ उनले भने।  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थी पनि पछिल्लो पटक पोखरालाई आन्तरिक र बाह्य दुवैखाले पर्यटकले ‘ट्रान्जिट’ मात्र बनाउन थालेको बताउँछन। ‘पोखरा नटेकी नहुने भएर मात्र हो। तर, अहिले पोखरा ट्रान्जिट बनेको छ,’ उनले भने, ‘कतिपय पाहुना पोखरामा बासै नबसी गन्तव्यमा निस्कन्छन र पदयात्रा सकेर फर्किन्छन। बिहानै विमानबाट ओर्लने र राती अबेर राजधानी फर्कनेले पोखरालाई ट्रान्जिट बनाएका छन। हवाई सेवाले सहज बनाएको छ।’  

उनका अनुसार कतिपय विदेशी त पोखरामा बासै बस्दैनन। जो नितान्त पदयात्राका लागि आएका हुन्छन, उनीहरुका लागि पोखरामा बास नबसि पदयात्रामै मिसिन पुग्छन। पदयात्रा सकेर फर्किदा पनि उनीहरुको तालिका काठमाडौंसम्मको हुन्छ। गाडीमा आउनेले पनि पोखरालाई छल्न थालेका छन। ‘सबै पर्यटकले पोखरालाई ट्रान्जिट बनाएको होईन। तर, यो ट्रेन्ड बढ्दो छ,’ उनले भने।  

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित हुँदा पनि यो अवस्था आएको हो। ‘अन्तर्राष्ट्रिय उडान हुँदो हो त राती अबेर पनि पाहुना पोखरा ओर्लन्थे। ती पाहुना पोखरामा बास बस्न बाध्य हुन्थे। तर, अहिले आन्तरिक उडानका यात्रु हुन। उनीहरुको बसाई अवधि कम  छ,’ पन्थीले भने, ‘पोखरामा बसाई अवधि कम हुँदा त्यसको असर व्यावसायमा परेको छ।’ 

प्रकाशित: २३ चैत्र २०८० १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App