चितवन – हिमाली क्षेत्र मुस्ताङ र मनाङमा मात्रै पाइने लुलु गाई अनुसन्धानका लागि चितवनमा ल्याइएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पशु प्रजनन महाशाखाको सहकार्यमा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमअन्तर्गत रामपुरमा लुलु गाई ल्याइएको हो।
नेपालमा पाइने रैथाने गाईमध्येको लुलुको संरक्षण गर्न सुरु गरिएको अनुसन्धान कार्यक्रमअन्तर्गत लुलुलाई चितवन ल्याइएको गाई अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए। तीन गोरु र सात गाई गरी १० वटा लुलु फागुन ८ मा चितवन ल्याइएको छ। नेपालमा लुलु, शिरी, अछामी, खैला, पहाडी, तराई र याक गरी सात प्रजातिका रैथाने गाई पाइन्छन्।
नेपालको रैथाने जात मध्येमा जुरो नहुने गाईमा लुलु पर्छ। आछामीपछिको होचो प्रजातिको लुलुलाई मानिन्छ। ३५ सयदेखि चार हजार मिटरको उचाइमा मनाङ र मुस्ताङ जिल्लाका केही ठाउँमा पाइने लुलु करिब आठ हजाराको संख्यामा रहेको पशु प्रजनन महाशाखाकी वरिष्ठ वैज्ञानिक निना अमात्य गोर्खाली बताउँछिन्।
महाशाखाले दुई वर्षअघि जोखिम मोलेर लुलुलाई महाशाखाको फार्म खुमलटारमा ल्याएको थियो। ‘माथिल्लो उचाइमा हुने गाईलाई कम उचाइको ठाउँमा ल्याएर राख्न सकिन्छ कि सकिन्न भनेर अनुसन्धान भइरहेको छ,’ उनले भनिन्, ‘उपत्यकामा राखेपछि थप अनुसन्धानका लागि चितवन लगिएको छ।’ २५ वटा लुलु खुमलटारमा लगिएका थिए। मनाङ र मुस्ताङबाट खुमलटार लगिएका तथा खुमलटारमा जन्मिएका मध्ये केहीलाई चितवन ल्याइएको हो। उपत्यकामा ल्याएर खानपानमा ध्यान दिँदै उपयुक्त हेरचाह गर्दा त्यहाँ लुलु बाँच्न सक्ने पाइयो। खुमलटारमा राख्दा प्रजनन क्षमता र उत्पादन दुवैमा राम्रो नतिजा पाइएको उनले बताइन्।
हिमाली क्षेत्रमा हुँदा दैनिक १.५ देखि दुई लिटर दूध दिने लुलुबाट प्रतिदिन ३.७ लिटरसम्म उत्पादन लिन सकिएको डा. अमात्य बताउँछिन्। तापक्रम बढी भएको क्षेत्रमा पनि बाँच्न सक्ने नतिजा खुमलटारमा राखिएबाट पाएकाले त्यसभन्दा कम उचाइमा लुलुलाई ल्याइएको हो। रिप्रोडक्टिभ र जेनेटिक पर्फमेन्सको अध्ययन तथा ‘हेमाटोलोजिकल पारामिटर’ र ‘मोलिकुलर’ तहमा समेत अनुसन्धान गरिने उनले जानकारी दिइन्।
गाईको प्रजनन र उत्पादनको चक्र हेर्न कम्तिमा दुई वर्ष लाग्ने हुनाले चितवनमा लुलुलाई दुईदेखि तीन वर्षसम्म राखिनेछ। चितवन ल्याइएका लुलु दुईदेखि चार वर्ष उमेरका छन्। ‘स्थानीय ठाउँमा हुँदा दुईदेखि चार वर्षमा बाली लागेको किसानले जानकारी दिएका थिए,’ डा. अमात्यले भनिन्, ‘खुमलटार ल्याइएपछि १५ महिनादेखि दुई वर्षमा बाली गएका छन्।’ बाँझोपनको समस्या निकै कम हुने गाईमा लुलुलाई लिइन्छ। हेरचाह र स्याहारका लागि पनि धेरै खटिनु पर्दैन।
चिसो ठाउँमा हुने गाईले गर्मी सहन सक्छ कि सक्दैन, रोग, ब्रिडिङ लगायतको अवस्थाबारे अनुसन्धान भइरहेको गाई अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक आचार्यले बताए। लुलु पाल्नका लागि सजिलो र सुकेका फुर्काहरु खाएर पनि बाँच्न सक्ने भएकाले अरु ठाउँमा पनि पाल्न सकिन्छ कि भनेर अनुसन्धान गरिएको उनी बताउँछन्।
थोरै खानपान र बसाइँको व्यवस्थापनमा ध्यान दिँदा उत्पादन बढेको पाइएको छ। त्यसैले सहरी क्षेत्रमा बसोबास गर्ने सानो परिवारले पनि सजिलोसँग लुलु पालेर ताजा घरकै दूध खान सक्छन्। ताजा दूध खान चाहने सानो परिवारलाई एउटा गाईमात्र पाल्न प्रोत्साहन गर्न सकिने डा. अमात्य बताउँछिन्। लुलुमा अनुसन्धानका लागि ‘च्यालेन्ज फिडिङ’ कार्यक्रम गरिँदैछ। कार्यक्रमअन्तर्गत कति मात्रामा खाने कुरा दिँदा उत्पादन धेरै लिन सकिन्छ भनेर अनुसन्धान गरिनेछ।
नेपालका रैथाने गाईमध्ये खैला, आछामी संकटापन्न अवस्थामा छन्। लोप भएको मानिएको शिरीजस्तै देखिने गाई ताप्लेजुङ र सोलुखुम्बुमा भेटिएकाले शिरी नै हो कि होइन भनेर निक्र्यौल गर्ने काम भइरहेको डा. अमात्यले जानकारी दिइन्। नेपालमा रैथाने गाईको संख्या घट्दो छ। जलवायु परिवर्तनका कारणले पनि सीमित ठाउँमा मात्र पाइने रैथाने गाई संकटमा परेका छन्।
प्रकाशित: ५ चैत्र २०७४ ०३:१२ सोमबार





