२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय महिला उद्यमी मेला सम्पन्न

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला मंगलबार सम्पन्न भएको छ। ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चैत १६ देखि २० गतेसम्म सञ्चालन भएको मेलाको २० हजार बढीले अवलोकन गरेको आयोजकले जनाएको छ।

पाँच दिनसम्म सञ्चालित सो मेलामा स्वदेशी महिला उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा उत्पादनका विभिन्न स्टल राखिएको थियो। मेला अवधिभर करिब दुई करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ।

उद्यमी महिलाहरूको साझा संस्था महिला उद्यमी महासंघ नेपाल (एफविन) ले आयोजना गरेको मेलाको समापन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिलाको उद्यमशीलता विकासका लागि आगामी वर्ष विशेष योजना र कार्यक्रम ल्याउने बताए। उनले नेपाली उत्पादन र उपभोगमा जोड दिने गरी सरकारले कार्यक्रम बनाउने बताए

‘स्वदेशी उद्योग र उद्यमशीलतामा महिलाको सहभागिता बढाउने गरी मन्त्रालयले आगामी वर्ष विशेष योजनाका साथ कार्यक्रम ल्याउनेछ’, उनले भने। मेला समापनका अवसरमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरोजविक्रम राणा, युरोपियन युनियनका प्रतिनिधि, एफविनका प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।

मेलाका सभापति तथा एफविनका अध्यक्ष शोभा ज्ञवालीले मेलाले नेपाली महिलाको उद्यमशीलता र सिर्जनशीलतासँगै महिला सशक्तिकरणमा कोसेढुंगो सावित भएको बताइन्।

महिलालाई उद्यमशीलतासँग जोड्न सरकारले सहयोग र लगानी गर्नुपर्ने समय आएको उनले बताइन्। ‘हाम्रा युवाहरू बाहिर छन्, महिला र छोरी बुहारीहरू मात्र घरमा छन्। उनीहरूलाई उद्यमशीलतामा जोड्नुपर्ने दायित्व छ। त्यसका लागि हामीले लगानी गर्नुपर्ने बेला आएको छ’, उनले भनिन्।

महिला सबल समाजको सकारात्मक रूपान्तरण गर्न निकै गहिरा खाडललाई पुर्दै अघि बढ्नुका साथै विशाल उद्देश्यलाई परिपूर्ण गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको उनले बताइन्।

उनले भनिन्, ‘उद्यमी महिला आफैंले अन्य स्रोतबाट सिकेर होस् वा महासंघले सिकाएर उद्यम व्यापार त गरिरहनु भएको छ तर मेलामा आफूजस्तै उद्यम गरेकाहरूले के कसरी गरेका छन्, आफू कहाँ चुकिएको छ, अझै राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा सिक्ने मौका मिल्छ।’

मेला समापनका अवसरमा तीन विधामा उत्कृष्ट र पाँचवटा स्टललाई अवार्ड प्रदान गरिएको थियो। जसअनुसार महिला उद्यमी संघ तेह्रथुम प्रथम, जुम्ला दोस्रो र कास्कीलाई तेस्रो अवार्ड प्रदान गरिएको थियो। प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई महासंघले क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद र सम्मान गरेको थियो।

त्यस्तै, ह्यान्डीक्य्राफ्ट विधातर्फ उत्कृष्ट हुने नेपाल सिल्क समूहलाई सम्मानपत्र प्रदान गरिएको थियो भने एग्रो स्टलतर्फ हजुरी खाद्य उद्योग प्रालिलाई सम्मान गरिएको आयोजकले जनाएको छ। मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय मुलुकका महिला उद्यमीको पनि सहभागिता थियो।

मेलामा हस्तकलाका उत्पादन, ढाका र हाते कागजका वस्तु, खानेकुराका परिकार, कृषिजन्य उत्पादन, जडीबुटी, गरगहना र अन्य धेरै स्वदेशी सामानको प्रदर्शनी स्टल राखिएको थियो। मेलाको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।

प्रकाशित: २१ चैत्र २०८० ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App