२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

रौतहटका १५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदान स्थलमध्ये एक सय ५२ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा राखेको छ।

सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदान स्थल अतिसंवेदनशील सूचीमा राखेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए। एक सय मतदान स्थल संवेदनशीलको सूचीमा रहेका र बाँकी २५ मतदान स्थल सामान्य सूचीमा रहेको प्रजिअ भुसालले जानकारी दिए। रौतहट क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदान स्थल रहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रौतहटमा पाँच सय ४१ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए। विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दुई सय ७६ मतदान स्थल कायम रहेकामा यस वर्ष एउटा स्थल थप गरिएको हो। गरुडा नगरपालिका–६ मा नयाँ मतदान स्थल थपिएको कार्यालय प्रमुख दासले जानकारी दिए।

यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार एक सय ५६ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६११ मतदाता रहेका छन्। विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा चार लाख १५ हजार ४५५ मतदाता थिए। दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। रासस

प्रकाशित: ४ माघ २०८२ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App