१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराका होटलः २० प्रतिशत छुट वैशाखसम्मै

पाहुनाले महंगो तिनुपर्ने छैनः व्यावसायी

पर्यटकीय सहर लेकसाइड। तस्बिरः नागरिक

पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यवसायीले दिएको यो छुट चैतदेखि वैशाख महिनाभर लागु हुनेछ।

चैत २९ देखि आगामी वैशाख १ सम्म पोखरामा फेवा नववर्ष महोत्सव पनि आयोजना हुँदैछ। त्यसबाहेक चैत पहिलो साता पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो। राजधानी घोषणा र महोत्सवको अवसर पारेर चैतदेखि वैशाख महिनाभरी छुट दिइने व्यवसायीले बताएका छन्।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले चैत पहिलो साता घोषणा गरिएको २० प्रतिशत छुटको अफर वैशाख महिनाभर लागु हुने बताए। ‘आन्तरिक तथा बाह्य पाहुनालाई पोखरामा आकर्षण बढाउन सकिन्छ भनेर यो अफर ल्याएका हौं। यसले पाहुना आगमन बढाउने अपेक्षा छ,’ सुवेदीले भने, ‘मूल्य केही सस्तो पर्ने हुँदा पाहुनाको पोखरा बसाई अवधि पनि लम्बिने अपेक्षा छ।’ पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको र नेपाली नयाँ वर्षको अवसर पारेर धेरै पाहुना भित्र्याउन छुट घोषणा गरेको उनले बताए।

अध्यक्ष सुवेदीका अनुसार यसअघि व्यवसायीले पाहुना अभाव भएको भन्दै होटलको कोठाको मूल्य केही घटाएर पनि दिएका पनि थिए। अब पनि पहिला घटाएको मूल्यमा नै थप २० प्रतिशत छुट दिइने उनले बताए।

‘पाहुनाले पहिले तिरेको भन्दा २० प्रतिशत कम शुल्कमा कोठा पाउनेछन्। महँगो परेको गुनासो पक्कै आउने छैन,’ उनले भने, ‘होटलले तोकेको मूल्य महँगो हुँदाहुँदै पनि पहिला सस्तोमा दिएका थिए। अब झनै सस्तो हुनेछ।’

उनका अनुसार पाहुना कम हुँदा व्यवसायीले यसअघि नै कोठाको मूल्यमा केही छुट दिइसकेका थिए। अब त्यही छुट गरिएको रकममा थप २० प्रतिशत सस्तोमा पाइनेछ।‘होटलले तोकेको पूरानै मूल्यमा छुट गरेको भरमा पाहुनालाई सस्तो पर्दैन। त्यसैले पहिलेको छुटमा थप २० प्रतिशत छुट पाउनेछन्,’ उनले भने, ‘पहिले तिरेको भन्दा महँगो पर्‍यो भने राम्रो सन्देश जाँदैन।’ उनका अनुसार व्यवसायीले अहिले नै छुट सहितको रकम विभिन्न माध्यममार्फत सार्वजनिक गर्ने गरेका छन्। त्यसैले पाहुनाले महँगो रकम तिर्नुनपर्ने उनले बताए।    

व्यावसायीका अनुसार यति बेला पोखराका होटलको अकुपेन्सी अनुपात करिब ६० प्रतिशत छ। यो बेला पर्यटकीय सिजन परेपनि पाहुनाको आगमन सन्तोषजनक नहुँदा मुख्य सिजनमा पनि होटलका कोठा खालि हुन पुगेका हुन। होटल संघका केन्द्रीय सदस्य भरत पराजुली भन्छन्, ‘यो बेला मुख्य सिजन हो। तर, पनि अकुपेन्सी सोचेजति माथि लाग्न सकेको छैन। अहिले ६० प्रतिशत हाराहारीमा अकुपेन्सी छ।’  

उनले पनि पोखराका होटलमा अहिले दिइएको छुटले आन्तरिक र बाह्य पाहुनालाई लाभ पुग्ने बताए। होटलको कोठाको शुल्कमा दिइएको छुटले पाहुनाको पोखरा बसाई अवधि बढ्ने उनले बताए।

‘छुटबाट आन्तरिक पाहुना बढी लाभान्वित हुनेछन्। पोखरामा पाहुनाको बसाई अवधि बढाउन छुटले सघाउनेछ,’ उनले भने, ‘नेपाली नयाँ वर्षलाई भव्य र पाहुनामय बनाउने गरि पोखरामा महोत्सव गर्ने तयारी छ।’ अंग्रेजी नयाँ वर्षमा पोखरामा पर्याप्त पाहुना आउने र त्यस्तै आगमन नेपाली नयाँ वर्षमा पनि बनाउन खोजेको व्यावसायीको भनाई छ। अघिल्ला वर्ष पनि व्यवसायीले नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएका थिए।

महोत्सव ड्यामसाइटदेखि खहरेसम्म

नेपाली नयाँ वर्षलाई लक्षित गर्दै होटल संघले १९ औं महोत्सवको तयारी गरेको छ। महोत्सव ड्यामसाइटदेखि खहरेसम्मको करिब पाँचकिलोमिटर क्षेत्रमा आयोजना हुने होटल संघले बताएको छ। पोखराको ड्यामसाइट पुरानो पर्यटकीय गन्तव्य हो। फेवातालको पुछारमा पर्ने ड्यामसाइटमा पनि सयौं होटल छन्। तर, त्यो क्षेत्र पछिल्लो समय केही ओझेलमा छ। पर्यटकीय गतिविधि लेकसाइड क्षेत्रमा बिस्तार भएसँगै ड्यामसाइट कमजोर बन्दै गएको थियो।

‘पर्यटकीय दृष्टिले कमजोर बनेको ड्यामलाईटमा थप गतिविधि गरेर यो पटक महोत्सवलाई अघिल्ला वर्षभन्दा फराकिलो बनाउने तयारीमा छौं,’ संघका अध्यक्ष सुवेदीले भने, ‘कुनै बेलाको पर्यटकीय गतिविधि हुने ठाउँको रुपमा ड्यामसाइट थियो। तर, लेकसाइडमा गतिविधि बढेसँगै ड्यामसाइट ओझेलमा परेको हो। अब ड्यामसाइटलाई उकास्ने प्रयास थाल्नेछौ।’

ड्यामसाइटमा होटल व्यवसायीले माथिल्लो क्षेत्रमा पर्यटकीय गतिविधि बिस्तार भएसँगै आफुहरु ओझेलमा परेको गुनासो सुनाउँदै आएका थिए। व्यवसायीले फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने गन्तव्य भन्दै ड्यामसाइटलाई पर्यटकमाझ परिचित गराउने गरेका छन्।

प्रकाशित: १४ चैत्र २०८० १५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App