१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

साढे १६ अर्बको सुन आयात

फाइल तस्बिर

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भए पनि नेपालमा खपतमा खासै कमी आएको छैन। चालु आवको आठ महिनामा करिब साढे १६ अर्ब रूपैयाँको सुन आयात भएको छ।

डलर कमजोर हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरू सुनतर्फ आकर्षित हुँदा मूल्य निरन्तर बढ्दै आएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार चार सय रूपैयाँमा खरिद–बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ थियो।

स्थानीय बजारमा सोमबारको तुलनामा मंगलबार सुनचाँदी मूल्य केही घटेको छ। सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेको हो। यसैगरी तेजाबी सुन भने १ लाख २५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा १० रूपैयाँ मात्र घटेको छ। चाँदी प्रतितोला एक हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको हो।

नेपालीले पनि सुनलाई सम्पत्तिको रूपमा लिँदा सुनको माग हुन्छ। विवाह, धार्मिक काममा पनि सुनको प्रयोग हुन्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर स्वतः नेपाली बजारमा पर्छ।

अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपालमा हरेक दिन सुनको मूल्य निर्धारण हुन्छ। डलर बलियो नहुँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले सुनको भाउ निरन्तर बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए।

‘लगानीको सुरक्षाका लागि सुनमा लगानीकर्ताको आकर्षण देखियो,’ शाक्यले भने, ‘त्यसले मूल्य बढेको हो ।’ अमेरिकाको फेडरल रिजर्भ बैंकले निक्षेपको ब्याज घटाएको कारण पनि लगानीकर्ता सुनमा फर्केको उनको दाबी छ।

नेपालमा सुन आयात गर्ने अनुमति बैंकलाई मात्र छ। बैंकहरूले दैनिक २० किलो सुन आयात गर्ने अनुमति पाउँछन्। राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिने गरेको छ। अवैधानिक रूपमा पनि नेपालमा सुन आयात हुने गरेको छ। अवैधानिक रूपमा सुन आउँदा सरकारको राजस्व गुम्छ।

प्रकाशित: १४ चैत्र २०८० ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App