१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, केही उडान रद्द

तुँवालोले ढाकेको पोखरा। तस्बिरः नागरिक

बाक्लो तुवाँलोले गर्दा पोखरा–काठमाडौं हवाई उडान प्रभावित भएको छ।

पोखरामै बास बसेका बुद्धका दुई र यतीको एउटा जहाज बुधबार बिहानै उडेर काठमाडौं गएको बाहेक पोखरामा बाहिरबाट जहाज आउन सकेका छैनन्। तुवाँलोले भिजिबिलिटी नपुग्दा हवाई उडान प्रभावित भएको हवाई कम्पनीले बताएका छन्।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिउँसोको भिजिबिलिटी २५ सय मिटर मात्र थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तीमा ३८ सय मिटरको भिजिबिलिटी चाहिन्छ। भिजिबिलिटी नपुग्दा पोखराबाट काठमाडौं मात्र नभई भरतपुर, भैरहवा र नेपालगन्जका उडान पनि प्रभावित भएका छन्। विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले भिजिबिलिटी नपुग्दा उडान प्रभावित भएको बताइन। उनका अनुसार भिजिबिलिटी १५ सय मिटरसम्म झरेको थियो।

‘पोखरामा जहाज अवतरण गर्नका लागि कम्तीमा ३८ सय मिटर भिजिबिलिटी चाहिन्छ। तर, तुवाँलोका कारण सबैतिर ढाकिएको छ। जहाज अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन,’ उनले भनिन, ‘हावा नचलेसम्म भिजिबिलिटी घट्ने अवस्था देखिन्न। उडान कतिखेर हुन्छ भन्न सकिने अवस्था छैन।’

उनका अनुसार उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुको भिडभाड भएको छ। यात्रुको भिडभाड व्यवस्थापन पनि सकसपूर्ण रहेको उनले बताइन। ‘एक–दुई वटा उडान रद्द हुँदा त खासै फरक पर्दैन तर, धेरै नै संख्यामा उडान रोकियो भने यात्रु भिडभाड बढ्छ,’ उनले भनिन। रात्रिकालीन विशान गरेका तीनवटा जहाज पोखराबाट उडेर बुधबार बिहान काठमाडौँ गएको भएपनि अन्यत्रबाट पोखरा भित्रिन नसकेको उनले बताइन।

उडान रद्द

बुद्धले पोखराबाट भैरहवा, नेपालगन्ज र भैरहवाका लागि राखेको एक–एकवटा उडान रद्द गरिसकेको छ। बुद्धका पोखरा–काठमाडौं रुटका पाँच वटा उडान रद्द भइसकेका छन्।

‘भिजिबिलिटी नपुगेपछि उडान रद्द गरिएको हो। पोखरामा बास बसेका जहाज काठमाडौं फर्किने बाहेक पोखरामा आउन सकेनन्,’ बुद्धका स्टेशन म्यानेजर गौतम बरालले भने, ‘बाक्लो तुवाँलोले हवाई सेवा नै प्रभावित भएको छ।’ उनका अनुसार बाक्लो तुवाँलोले पोखरा उपत्यका ढाकेकोले डाँडाकाँडा देखिन छाडेका छन्।

यो बेला पर्यटकीय सिजन भएकोले यात्रु संख्या राम्रो भएपनि उडान प्रभावित भएको उनले बताए। बुद्धले अहिले पोखराबाट दिनमा २० वटा उडान गरिरहेको छ। ती मध्ये सबैभन्दा बढी १७ वटा उडान काठमाडौंका लागि गर्दै आएको छ।

निजी क्षेत्रको अर्को हवाई कम्पनी यती एयरलाइन्सका प्रवक्ता सुशर्दन बर्ताैलाले पनि बाक्लो तुवाँलेका कारण हवाई उडान प्रभावित भएको बताए। उनका अनुसार यतीले पोखराका लागि दिनमा नौवटा उडान राखेको भएपनि बुधबार दिउँसोसम्म कुनैपनि उडान हुन सकेका छैनन्। ‘बाक्लो तुवाँलोका कारण उडान प्रभावित भएको हो,’ बर्ताैलाले भने।  

प्रकाशित: ७ चैत्र २०८० १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App