१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा किन पर्यटकीय राजधानी ?

नेपाल भित्रिएका तेस्रो मुलुकका विदेशी पाहुनामध्ये करिब ४० प्रतिशत पोखरा आउने पर्यटन व्यावसायीको अनुमान छ। आन्तरिक पर्यटक त कति आउँछन् भन्ने लेखाजोखा छैन। त्यसबाहेक स्थलमार्ग हुँदै भित्रिने भारतीय पर्यटकको पनि गणना कतै हुँदैन।

अहिलेसम्म पर्यटक आगमनसम्बन्धी जे जति तथ्यांक बाहिर आउँछ, त्यो सबै अनुमानका भरमा मात्र छ। आफ्नै सहरमा भित्रिने विदेशी पाहुनाको तथ्यांकसमेत पोखरा महानगरले राखेको छैन। त्यसबाहेक गण्डकी प्रदेश सरकार पनि यसमा चुकेको छ।

विदेशीको मात्र नभई आन्तरिक पाहुनाको पनि यकिन जानकारी कतै छैन। अनुमानको भरमा ३५ प्रतिशत अकुपेन्सीको हिस्सा आन्तरिक पाहुनाले लिने व्यवसायीको अनुमान छ। यिनै तथ्यांक र पोखराभित्रका यावत समस्या हुँदाहँदै पनि आइतबार पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गर्दै अब पोखरालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न सहयोग पुग्ने बताए।

पर्यटन व्यवसायीले लामो समयदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गर्दै आएका थिए। व्यवसायीले मात्र नभई गण्डकी प्रदेश सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गर्दै संघीय सरकारलाई बारम्बार प्रस्ताव गर्दै आएको थियो तर संघीय सरकारले प्रदेश सरकारको प्रस्तावलाई बेवास्ता गर्दै पनि आएको थियो।

पहिलोपटक २०७५ मंसिर २८ मा गण्डकी सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग अनुमति मागेको थियो तर त्यसमा संघीय सरकारले कुनै जवाफ दिएको थिएन।

२०७८ कात्तिकमा पनि पोखरालाई पर्यटकीय राजधानी बनाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय तत्कालीन गण्डकी सरकारको मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। त्यो बेला पनि संघीय सरकारले बेवास्ता गरेको थियो।

प्रदेश सरकारले मात्र नभई संघीय, सरकारका मन्त्री, पोखरा महानगरपालिकाले पोखरालाई यसअघि नै अघोषित पर्यटकीय राजधानीको रूपमा ब्याख्या गर्दै आएका थिए। व्यवसायीले त बजार प्रवद्र्धनका क्रममा पोखरालाई पर्यटकीय राजधानी भन्दै पाहुनालाई बताउँदै पनि आएका थिए।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममार्फत पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने घोषणा गरेको थियो।

सोहीअनुसार पुस अन्तिम साता पोखरालाई पर्यटकीय राजधानी बनाउनेबारे अध्ययन गर्न प्रदेश सरकारले बनाएको समितिले प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारले आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको हो।

समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाएको थियो। समितिले बुझाएको प्रतिवेदनमा दुइ वर्ष भित्रमा गरिने कामलाई अल्पकालीन, पाँच वर्षमभित्र गरिनुपर्ने कामलाई मध्यमकालीन र त्यसभन्दा बढी समय लगाएर गरिने कामलाई दीर्घकालीन योजनामा राखेर काम गर्न सुझाव दिएको थियो।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले राजधानी घोषणाले पोखरालाई विश्वमा चिनाउन सघाउने बताए। ‘व्यवसायीले पोखरालाई पहिल्यैदेखि नै पर्यटकीय राजधानी घोषणा गर्न माग राख्दै आएका थिए,’ श्रेष्ठले भने, ‘पोखरा आफैंमा ब्रान्डिङ थियो, तर, अब पर्यटकीय राजधानीको पहिचान दिएर ब्रान्डिङ हुने छ।  

पोखराको ब्रान्डिङ गर्ने नयाँ नारा पर्यटकीय राजधानी पनि हो भन्ने हुनेछ।’ राजधानी घोषणा भएसँगै अहिले भन्दा बढी पर्यटक कसरी भिœयाउन सकिन्छ भन्ने चुनौती थपिएको उनले बताए।

‘अब वर्षमा देशभरमा १० लाख पर्यटक आए भनेर अड्केर बस्नुभएन,’ उनले भने। उनले पोखरा र गण्डकी प्रदेशमा भित्रिने सबै पर्यटकको तथ्यांक पनि राख्न जरुरी रहेको र त्यसका लागि पहल थालेको बताए।

भारतीय पर्यटकका लागि कल सेन्टर नै राख्ने पनि योजना उनले सुनाए। पर्यटकीय राजधानी घोषणासँगै पोखरामा पर्यटकीय पूर्वाधार विकासमा सरकारलाई दबाब पुग्ने उनले बताए। ‘पोखरासँग समस्या नै नभएको होइन, तर पनि अब राजधानी घोषणाले लगानीको ढोका खोल्ने र भएका समस्या समाधानमा दबाब पुग्ने अपेक्षा हो,’ उनले भने।

पर्यटकीय राजधानी घोषणा भए पनि पोखरासँग पर्याप्त समस्या छन्। यहाँ प्रदूषण बढ्दो छ, पोखरा भित्रिने नाकामा उत्तिकै सकस छ। यो बेला त राजमार्ग विस्तार भइरहँदा त्यो सकस झनै बढी छ।

पोखराभित्रकै प्राकृतिक सम्पदाको संरक्षण हुन सकेको छैन। सहरभित्र यातायात, हरियाली, फोहरमैला, ढल निकासका समस्या जहाँको तहीँ छन् तर पनि राजधानी घोषणाले ती पूर्वाधार सुधार्न दबाब पुग्ने व्यवसायीको विश्वास छ।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरालाई पर्यटकीय राजधानी घोषणाले अब जिम्मेवार निकाय अझै बढी जिम्मेवार हुनुपर्ने अवस्था ल्याएको बताए। ‘अब पनि पर्यटनमा समस्या छ भनेर देखाउन मिल्दैन। सुधार नगर्ने हो भने राजधानी घोषणा गरेर मात्र अर्थ राख्दैन। जिम्मेवार नहुने हो भने काम लाग्दैन,’ उनले भने, ‘व्यवसायी पनि जिम्मेवार हुनुपर्छ। सम्बन्धित निकायले ध्यान दिनुपर्छ।’

पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले पोखराको ब्रान्डिङ अब फरक तरिकाले गर्न बाटो खुलेको बताए। उनले भने, ‘अहिलेसम्म पोखरा पर्यटकीय राजधानीउन्मुख सहर हो भनेर प्रचार भएको थियो। तर, अब सरकारले नै पर्यटकीय राजधानी घोषणा गरेपछि ब्रान्डिङ गर्न सहज भयो।’ 

‘पर्यटकीय राजधानी कस्तो रहेछ भनेर चासो जाग्नेछ तर त्यसअनुसार काम गर्न पनि जिम्मेवार बनाउँछ’, उनले भने। पोखरालाई अहिले भन्दा सुन्दर, सुरक्षित, सफा र व्यवस्थित सहर निर्माणमा यो घोषणाले बल पुग्ने उनले बताए।

प्रकाशित: ७ चैत्र २०८० ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App