१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनको पहिलो सर्किट तयार

कोसी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मौवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट तयार भएको छ।

तमोर नदी र त्यसका सहायक खोलानालाहरूमा निर्माण भएका÷हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण थालिएको हो।

समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ। प्रसारण लाइनका लागि १२७ वटा टावरहरू निर्माण गरिएका छन्।

वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा ६ वटा वे विस्तार भइरहेका छन्। त्यसमध्ये तीन वटा वेका उपकरणहरू जडान र परीक्षण कार्य भइरहेका छन्। उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि  मुख्य रूपमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताए।

‘वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत् जोडिने छ, आयोजनाअन्तर्गत हाल अन्तिम चरणका परीक्षण कार्यहरू भइरहेको जानकारी पाएका छौं, आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा वे विस्तार गर्न उपकरण जडान र परीक्षणका कार्यहरू भइरहेका छन्, मध्य तमोरले विद्युत् उत्पादन सुरु गर्ने वेलासम्ममा वसन्तपुर सबस्टेसनमा वे विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ’, उनले भने।

आयोजनाका अनुसार प्रसारण लाइन र सबस्टेसन तयार भयो तर जलविद्युत् आयोजनाहरू निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ। मध्य तमोरलगायतका जलविद्युत् आयोजनाहरूको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्लामा आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ।

कोसी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–३ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन र ढुंगेसाँघुमा १३२÷३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्टरनेसनल, भारतसँग २०७४ माघमा दुई करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो। प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुंगेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ। नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो।

कोसी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–४ अन्तर्गत वसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा वे विस्तार कार्य भइरहेको छ। कुल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ। वे विस्तार कार्य जारी छ।

यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडसँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो। नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ।

कोसी करिडोर प्रसारण लाइन प्याकेज–१ अन्तर्गत संखुवासभाको तुम्लिङटारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ।

प्याकेज–२ अन्तर्गत सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार, बानेश्वर तथा वसन्तपुरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। वसन्तपुर सबस्टेसनमा तुम्लिङटार र ढुंगेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ। वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो।

अरूण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ। कोसी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो।

कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब एक हजार  मेगावाट, ढुंगेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ। कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो।  

प्रकाशित: २८ फाल्गुन २०८० ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App