२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषिबाटै करोडपति

कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवा पुस्ताको संख्या ठूलो छ। देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन्। धरान वसन्तटारका कृष्ण राई भने कृषि पेसामै ठूलो सम्भावना देख्छन्।

कृषिबाटै नाम र दाम कमाएको उनी बताउँछन्, ‘अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावना नै सम्भावना छ’, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बंगुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट वार्षिक करोडौंको कारोबार गर्दै आएका छन्। कृषिबाटै उनले करोडौंको जग्गा जमिन जोडेका छन्, भव्य घर बनाएका छन्। कृषिबाट उनी आफूले मात्र कमाएका छैनन्, अरुलाई पनि रोजगारी दिएका छन्।

कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन् भने बराह क्षेत्रमा करिब १५ बिघा किनिसकेका छन्। ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन् भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूल नर्सरी बनाएका छन्। उनको गोठमा ५५ वटा गाई छन्। ती गाईबाट उत्पादित दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन्।

त्यस्तै उनको खोरमा अहिले १० वटा बंगुरका माउ छन्। तिनबाट उत्पादन भएका बच्चा बेछन् भने मासुका लागि पालिएका बंगुर पनि बेच्छन्। उनले कुखुरा, हाँसलगायतका पंक्षी पनि पालेका छन्। घरै उनले माटोबिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन् भने त्यससँगै माछा पनि पालेका छन्।

उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुबा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन्। त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन्। हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौं पुगिसकेको छ।

उनले धरान– ७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन्। त्यसबाहेक घरमै किन्न आउनेहरू पनि उत्तिकै हुन्छन्। तरकारी, फलफूल तथा पशुपालनबाट मासिक १२ लाख रुपैयाँको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन्।

पचपन्न रुपैयाँबाट सुरु  

अहिले करोडौंको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो। उनी भन्छन्, ‘सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यही फैलिँदै अहिले करोडौंको भएको हो।’

सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा ६ कट्ठा जग्गा मात्र थियो। त्यसैमा बाबुले परम्परागत कृषि कर्म गर्दै आएका थिए। खासै राम्रो उब्जनी हुँदैनथ्यो। त्यसबाट जीवन धान्नै मुस्किल पर्ने अवस्था थियो। करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्कने क्रममा बाटोमा एकजना मान्छेले काँक्राको बीउ किनिरहेको देखे।

त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए। ‘त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ’, उनी सम्झन्छन्, ‘त्यो बीउ मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो। त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ। त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागिपरेको हुँ।’

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोच भए पनि तालिमको अवसर थिएन। उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारण हुने कृषि कार्यक्रम नै तालिम बने। ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले। पत्रपत्रिकामा कृषिका समाचार देख्नेबित्तिकै पढे। उनी भन्छन्, ‘कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थें। मेरा गुरुहरू तिनै थिए।’  

खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे तर समस्यासँग कहिल्यै हार मानेनन्। यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरुलाई पनि सिकाउँछन्। उनले केही वर्षअघि वसन्तटारमा ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन्।

कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन्। उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषक पनि आउने गरेका छन्। उनी भन्छन्, ‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिँंदै आएको छु।’

अर्गानिक गाउँ

धरान उपमहानगरपालिका– ४ मा पर्ने वसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ। यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ। उहाँकै प्रेरणाले गाउँभर अहिले कृषि फर्म खुलेका छन्। कृषिबारे बुझ्न आउनेका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ।

कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्गानिक बनाउन निकै मिहिनेत गर्नुपरेको थियो। अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गरेका थिए। तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो। त्यसपछि उनले किन यस्तो भयो ? भनेर कारण खोजे। धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादी प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ।

बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ती गरेको महसुस गरी उनले त्यसलाई सुधार्ने वाचा गरे। तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन। त्यसका लागि निकै मेहनत गर्नुपरेको उनको अनुभव छ। माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले। जैविक वनस्पतिकै विषादी बनाए। जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहेका छन्। उनी भन्छन्, ‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अग्र्यानिक खेतीको अभियन्ता बनेको हुँ।’

अर्गानिक खेतीका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन। उनी भन्छन्, ‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिनँ तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ। त्यसो हुँदा अर्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरूलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ।’

अहिले उनको पाइला पछ्याउँदै वसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्गानिक खेती गर्छन्। त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्गानिक कृषि नै रहेको उनी बताउँछन्। वसन्तटार अहिले कृषि अभियन्ताका लागि सिकाइको थलो बनेको छ। कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणा स्रोत समेत बनेका कृष्णलाई विभिन्न संघसंस्थाले सम्मानसमेत गरेका छन्। 

परिवारसहित कृषिमै रमाइरहेका राई भन्छन्, ‘कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावना नै छैन भन्ने कुरा गलत हो। पलायन हुनुभन्दा युवाहरूले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन।’ –रासस

प्रकाशित: २७ फाल्गुन २०८० १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App