२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एमसिसीअन्तर्गतको प्रसारण लाइन निर्माणकार्य अघि बढाइने

एमसिए-नेपाल सञ्चालक समितिको बैठकले १८ किलोमिटर सीमापार प्रसारण लाइनको निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ। समितिको फागुन २१ गते बसेको ४० औं बैठकले विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमिटर लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ।

समितिका अनुसार यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ। ‘नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीर महत्वलाई दृष्टिगत गर्दै एमसिए नेपाल सञ्चालक समितिले त्यस्तो ठहर गरेको हो।

यस खण्डलाई बृहत् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्न यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्नेछ,’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले भने।

यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नेछ।

नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ साल असोजमा सहमति भएको थियो। बाँकी २९७ किमि प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन-बिल्ड निर्माण कम्पनीहरूको सेवा खरिदका लागि एमसिए–नेपालले काम अगाडि बढाइरहेको छ।

एमसिए–नेपाल प्रसारण लाइनहरू समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसिसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App