१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मिल सञ्चालनमा आएपछि उखु तानातान

सर्लाहीकाे धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग। तस्बिर : नागरिक

सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ। सर्लाहीका चिनी उद्योगले किसानको उखु तान्न अनेक उपाय गर्न थालेको पाइएको छ।

सर्लाहीको हरिहवनमा रहेको इन्दुशंकार चिनी उद्योग र बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले पहिलेदेखि नै क्रसिङ गरिरहेको भए पनि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग पनि सञ्चालनमा आएपछि किसानलाई उखु बेच्न सजिलो भएको हो।

गत वर्षको तुलनामा केही मात्रामा उखु खेती बढेको र उखुले केही राम्रो मूल्य पाउनुका साथै भुक्तानी पनि समयमै पाइरहेको अवस्थामा तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानलाई उखु बेच्न अझ सजिलो भएको हो।

पहिलेदेखि हरिवन र बगदहमा रहेका चिनी मिलहरु सञ्चालनमा आएका थिए तर केही समय पहिले मात्र धनकौलको चिनी मिल पनि सञ्चालनमा आएको हो।

धनकौलस्थित अन्नपूर्ण चिनी मिलले किसानको भुक्तानी नै दिन आनाकानी गर्ने गरेको तथा कम्तीमा पाँच वर्षदेखिको उखुको रकम भुक्तानी दिन बाँकी रहेको किसानको दाबी रहेको छ।

बाँकी रहेको पुरानो बाँकी पैसाको भुक्तानी नदिँदासम्म उद्योगलाई उखु नदिने भनेका किसानहरुले पनि धनकौल चिनी उद्योगलाई पुनः उखु बेच्न बाध्य भएका छन्। गाउँको नजिकका किसानले उब्जाएको उखु अन्यत्र दिँदा समाजमा नराम्रो प्रभाव जाने भएकाले किसानहरुले बाध्यतावश अन्नपूर्ण चिनी उद्योगलाई उखु बेचेका हुन्।

अन्नपूर्णमा सीमावर्ती भारतीय गाउँको उखु संकलन केन्द्रबाट भारतीय उखु पनि पर्याप्त प्राप्त भइरहेको बताइएको छ। भारतबाट आएको उखुले अन्नपूर्ण चिनी मिल धानिएको आरोप केही मानिसको रहेको छ।

अन्नपूर्ण चिनी उद्योगले पुरानो पैसा बाँकी राखेर अहिले उखु बेच्ने किसानलाई तत्काल भुक्तानी दिने नयाँ रणनीति अपनाएको छ। उद्योगका सञ्चालक रमेश श्रीवास्तवले किसानका पैसा भुक्तानी दिन केही समस्या भएकाले उद्योगको समस्या किसानले बुझेर सहयोग गर्नुपर्ने बताएका छन्।

चिनी उद्योग उखु किसानकै भरमा चल्ने उद्योग भएको र उद्योग सञ्चालनमा रहे किसानले नै फाइदा लिने बताउँदै सञ्चालक श्रीवास्तवले उखु किसानले बुझेर सहयोग गरिरहेको प्रतिक्रिया दिएका छन्।

सर्लाहीमा लगाइएको उखुको करिब साठी प्रतिशत उखु चिनी उद्योगहरुले किनिसकेका छन्। लगातार दुई उद्योगले किसानको उखु किन्दै भुक्तानी गरिरहेको अवस्थामा तेस्रो उद्योग पनि सञ्चालनमा आएपछि सर्लाहीका किसानका उखु छिटै बिक्री हुने सम्भावना बढेको धनकौलका किसान मनोहर यादवले बताएका छन्।

प्रकाशित: १८ फाल्गुन २०८० १६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App