८ वैशाख २०८१ शनिबार
अर्थ

वैभव यात्रामा बुटवल

तस्बिर: रेखा भुसाल/नागरिक

अहिलेको मुख्य बजारक्षेत्रभन्दा पश्चिम पर्ने तिनाउ किनारमा पुरानो बटौली बजार थियो। त्यहाँ ससाना घरहरूको गुजमुज्ज बस्ती थियो। डोकोमा घिउ बोकेर नुन साट्न गाउँबाट मानिसहरू बटौली झर्थे। मंसिरदेखि फागुनसम्म यो बजार गुलजार हुन्थ्यो। पहाडी घिउसँग नुन मात्रै होइन, भारतको बनारस र कानपुरबाट ल्याइएका लत्ताकपडा, भाँडाकुँडा, मरमसला साटेर पहाड पुर्‍याइन्थ्यो।

पश्चिम नेपालको आर्थिक तथा व्यापारिक केन्द्रका रूपमा स्थापित बुटवल ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहर हो। २०८ वर्षअघि वीर सेनानी कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई परास्त गर्दै गोरखपुर धपाउन सफल भएको ऐतिहासिक जितगढी किल्लाको काखमा बसेको सहर हो बुटवल।

१८७२ वैशाख ७ मा बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापानेतृत्वको नेपाली फौजले अंग्रेजमाथि विजय हासिल गरेको थियो। यो सहरको सिरानमा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार छ।

एक करोड दश लाख वर्ष पुरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको सहर हो बुटवल। सेनवंशीय राजाले पाल्पामा राज्य गर्नुअघिदेखि नै निर्यात व्यापार जोडिएको सहर हो बुटवल।

इतिहासविद्हरूका अनुसार २०१० सालसम्म पनि अहिलेको मुख्य बजारक्षेत्रभन्दा पश्चिम पर्ने तिनाउ किनारमा पुरानो बटौली बजार थियो। त्यहाँ ससाना घरहरूको गुजमुज्ज बस्ती थियो। डोकोमा घिउ बोकेर पाल्पा, अर्घाखाँची, गुल्मी, स्याङ्जा, प्युठान, बाग्लुङबाट मानिसहरू नुन साट्न बटौली झर्थे।

 २. बुटवल सहर

मंसिरदेखि फागुनसम्म यो बजार गुलजार हुन्थ्यो। पहाडी घिउसँग नुन मात्रै होइन, भारतको बनारस र कानपुरबाट ल्याइएका लत्ताकपडा, भाँडाकँुडा, मरमसला साटेर पहाड पुर्‍याइन्थ्यो।

पहाडको घिउलाई बटौलीमै खारेर टिनका ठुला बट्टामा भरिन्थ्यो र बनारस, कानपुरजस्ता भारतीय बजारमा पुर्‍याइन्थ्यो। पहाडको घिउ र जडीबुटीसँग ल्हासाको नुन र सुन अनि भारतको लत्ताकपडा र मरमसला साट्ने बटौलीसँग शताप्दीऔं अघिदेखि नै निर्यात व्यापार जोडिएको बटौली संरक्षण संवर्धन समितिका अध्यक्ष रवीन्द्र गोपाल लाकौल बताउँछन्।

बाजेका पालामा घिउसँग नुन साट्ने बटौली अहिले पश्चिम नेपालकै प्रमुख व्यापारिक सहर बुटवल नामबाट स्थापित छ। २०१६ सालमा ‘बुटवल–खस्यौली नगरपालिका’को स्थापना भएको थियो।

२०१७ सालमा बहुदलीय व्यवस्था विघटन भएपछि यसलाई ‘बुटवल–खस्यौली नगर पञ्चायत’ बनाइयो। बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि यसको नाम ‘बुटवल नगरपालिका’ राखिएको थियो।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा २०७१ मंसिर १६ मा बुटवल नगरपालिकाबाट उपमहानगरपालिकामा स्तरोन्नति भएको हो।

 बुटवल उपमहानगरपालिकाभित्रको जनसंख्या दुई लाखको हाराहारीमा छ। २०७८ को जनगणनाअनुसार यहाँको कुल जनसंख्या एक लाख ९५ हजार ५४ हो। जसमध्ये ९९ हजार ३४९ महिला र ९५ हजार ७०५ पुरुष छन्।

बुटवलको शिरमा रहेको नुवाकोट, काखमा रहेको जितगढी किल्ला, सिरानमा रहेको मणिमुकुन्दसेन उद्यान, हिलपार्क, कपरकट्टी ताल, सिद्धबाबा मन्दिर, नरैनापुर धाम, नीलकण्ठबाबा धाम, मुक्तिनाथ धाम, गणेश मन्दिर, बौद्ध गुम्बा, पद्य चैत्य विहार, पुरानो बटौलीको जामे मस्जिदजस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलले बुटवललाई सम्पदा सहरको परिचय दिलाएका छन्।

रूपन्देहीको उत्तरी सिमानामा रहेको बुटवल उपमहानगरपालिकाको उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका छ। पूर्वमा देवदह, पश्चिममा सैनामैना र दक्षिणमा तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका छन्। पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगम स्थल हो बुटवल। यो सहरको बिचबाट तिनाउ नदी बग्छ।

यहाँ रहेका प्राचीन तथा ऐतिहासिक जितगढी किल्ला, सेन वंशीय राजाको ग्रीष्मकालीन दरबार, मन्दिर, विहारजस्ता सम्पदाले सयौं वर्षअघि पनि बुटवल गणराज्यको राजधानी र व्यापारिक केन्द्र थियो भन्ने कुराको पुष्टि गर्छ। राणा शासनकालको अन्तिम चरणदेखि बुटवलले बिस्तारै आधुनिक सहरको रूप लिन थालेको इतिहासविद्हरू बताउँछन्।

‘देशकै अगुवा सहर बनाउँछौं’

२०७९ वैशाख ३० को दोस्रो निर्वाचनबाट निर्वाचित भएर आएपछि संविधानले दिएको अधिकार र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै जनताको सेवामा खटिरहेका छौं।

यो सहरलाई आर्थिक केन्द्रका रूपमा मात्रै होइन, मानव संशाधनका दृष्टिबाट पनि उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने मुख्य सहरका रूपमा स्थापित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ।

खेलराज पाण्डेय, प्रमुख, बुटवल उपमहानगरपालिका  

बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएका छौं। त्यसका लागि केही योजना अघि सारेका छौं।

हाम्रो मुख्य कार्यभार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने, चालु योजनालाई समयमै सम्पन्न गर्ने, बुटवलवासीलाई सुशासन र विकासको अनुभूति दिलाउनु हो। संघ, प्रदेश र आन्तरिक स्रोतको अधिकतम परिचालन तथा दातृ निकायहरूबाट प्राप्त सहयोगको उच्चतम उपयोग गरी बुटवलको विकासमा नयाँ उचाइ हासिल गर्नेछौं।

अग्रणी सहर

विकासका दृष्टिकोणले बुटवल काठमाडौं उपत्यकाबाहिरका अग्रणी सहरमध्येको एक हो। नवलपरासीदेखि दाङसम्म र उत्तरका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बागलुङ, पर्वतसँगको बुटवलको व्यापारिक साइनो शताब्दी पुरानो हो।

भौतिक पूर्वाधार र मानव संशाधनको विकासमा बुटवलले राष्ट्रिय रूपमै नेतृत्व गर्ने क्षमता राख्छ। देशमा भएका महत्त्वपूर्ण परिवर्तन र उपलब्धीहरूमा बुटवलले नेतृत्वदायी भूमिका खेल्दै आएको छ।

अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्र, झन्डै ६ अर्बको लगानीमा स्तरोन्नति हुँदै गरेको लुम्बिनी प्रादेशिक अस्पताल, महिला तथा बालबालिका अस्पताल आम्दा, व्यवस्थित अटो भिलेज, ढुवानीग्राम, खेल पूर्वाधार, शैक्षिक पूर्वाधार, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थलजस्ता भौतिक तथा सेवामूलक क्षेत्रको विकास र विस्तारले बुटवललाई अग्रणी नगरका रूपमा उभ्याउने प्रयास गरेका छन्।

बुटवलले बोकेका तिनै ऐतिहासिक, मौलिक पहिचानलाई उजागर गर्दै समानता, स्वाभिमान र अवसरसहितको समृद्ध सहरका रूपमा विकास गर्न यहाँको स्थानीय सरकार लागिपरेको छ। बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ।

४. सरसफाइ तथा हरियाली अभियानअन्तर्गत वृक्षरोपण कार्यक्रममा मेयर पाण्डेय तथा उपमेयर सावित्रीदेवी अर्यालसहितको टोली

सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम, बजेट र योजनाहरू अघि बढाइएको नगरप्रमुख खेलराज पाण्डेयले बताए। ‘विकास सँगसँगै नगरको सौन्दर्यीकरण, सहरी व्यवस्थापन र सेवासुविधामा सुधार ल्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो,’ नगरप्रमुख पाण्डेयले भने।

उपमहानगरले आफ्ना नागरिकका आवश्यकतालाई दृष्टिगत गर्दै सेवा प्रवाहलाई जनमुखी बनाउन घरदैलो सेवा सुरु गरेको छ।

बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपांगता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरणलगायतका कार्यक्रम नागरिकको घरदैलोमै पुर्‍याइएको पाण्डेय बताउँछन्।

गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्दै नगरबासीलाई आत्मनिर्भर बनाउने योजना अघि सारिएको छ। स्वरोजगार सिर्जना गर्दै नगरवासीलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र सिपयुक्त तालिम सञ्चालन भइरहेको उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्।

बुटवलले गृहिणी महिला तथा युवालाई स्वरोजगार बनाउँदै विदेश पलायन रोक्ने उद्देश्यले गृहिणी महिला स्वरोजगार कार्यक्रम, उपप्रमुख उद्यमशीलता, मेयरसँग युवा उद्यमीजस्ता कार्यक्रम ल्याइएको उनले जानकारी दिइन्।

यो वर्ष एक हजार महिलालाई विभिन्न प्रकारका तालिम प्रदान गरी उनीहरूलाई उद्यमसँग जोड्ने तयारी भइरहेको उपप्रमुख अर्यालले बताइन्। युवाहरूको विदेश पलायनलाई रोक्दै स्वरोजगार बनाउन मेयरसँग युवा उद्यम कार्यक्रम सञ्चालनको तयारीमा छ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन र रेमिट्यान्सको सही सदुपयोग होस् भन्ने उद्देश्यले सामी परियोजनाअन्तर्गत सम्बन्धित परिवारका सदस्यहरूलाई समेत अभिमुखीकरण गर्दै आएको छ।

शिक्षा र स्वास्थ्य

गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्‍याउन विद्यालय पूर्वाधार विकास कार्यक्रम, स्थानीय पाठ्यक्रम पुनर्निर्माण तथा संशोधन, क्याम्पस पूर्वाधार विकास कार्यक्रम लगायत विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए।

३ गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवाको प्रमाणपत्र प्रदान गर्दै मेयर खेलराज पाण्डेय 

उनका अनुसार उपमहानगरको आन्तरिक स्रोतबाट मात्रै यो वर्ष शिक्षामा साढे आठ करोडभन्दा बढी बजेट छुट्याइएको छ। बुटवलले प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ। बुटवल १६ मा कृषिविज्ञान (बिएससिएजी) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

स्वास्थ्यमा टोलटोलमा प्राथमिक उपचार कार्यक्रम, पोषण, सुरक्षित मातृत्व, जेष्ठ नागरिक तथा किशोरकिशोरी लक्षित कार्यक्रम, स्वास्थ्य संस्थाहरूको स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।

६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्योपचारलाई प्रभावकारी बनाउन बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत चिकित्सकसहितको टोली घरमै पुगेर स्वास्थ्य जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए।

५. ‘बाआमासँग नगरप्रमुख’ कार्यक्रमअन्र्तगत चिकित्सकसहितको टोलीले जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य जाँच गरिँदै। साथमा नगरप्रमुख खेलराज पाण्डेय

गर्भवती महिलाहरूको जाँच तथा निःशुल्क औषधी वितरण, सुत्केरी महिलालाई १४ दिनभित्रमा तीन पटक स्वास्थ्यकर्मीहरू घरमै पुगी स्वास्थ्य जाँच गर्ने, दुग्धबर्धक जडीबुटी प्रदान गर्नेजस्ता कार्यक्रम नगरमा सञ्चालित छन्।

नगरप्रमुख स्वास्थ्य शिशु कार्यक्रमअन्तर्गत नगरभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा बच्चा जन्माउने आमाहरूलाई प्रोत्साहनस्वरूप दुई हजार र एचआइभी संक्रमित बालबालिकालाई मासिक तीन हजार पोषण खर्च प्रदान गर्दै आएको छ।

नगरमा अहिले १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल निर्माणाधीन छन्। बुटवल उपमहानगरपालिकाकै स्थानीय व्यवस्थापनमा रहेको आम्दा अस्पताललाई विशिष्टीकृत अस्पतालका रूपमा तीन सय बेडमा स्तरोन्नति हुँदैछ।

बुटवलमा पारा मेडिकल र नर्सिङ विषयको अध्ययन यसै वर्षदेखि सुरु भएको छ। यसले दक्ष जनशक्ति उत्पादनमा पनि भूमिका निर्वाह गर्ने नगरप्रमुख पाण्डेयले बताए।

‘एकातिर अस्पतालको निर्माण र स्तरोन्नति गरिरहेका छौं, अर्कोतिर जनशक्ति उत्पादनको काम पनि गरिरहेका छौं,’ नगरप्रमुख पाण्डेयले भने। आगामी वर्ष बुटवलमा पिपिपी मोडेलमा एक सय शैय्याको अस्पताल स्थापना गर्ने योजना रहेको पनि उनले बताए।

उद्योग र कृषि

बुटवलमा २०३२ सालमा स्थापना भएको बुटवल औद्योगिक क्षेत्र छ। तर सो पर्याप्त नभएपछि डेढ दशकअघि मोतीपुर औद्योगिक क्षेत्र स्थापनाको पहल भएको हो।

 लामो समय विवादमा परेको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएर पनि सञ्चालनमा आउन सकेको छैन। त्यही औद्योगिक क्षेत्रको जग्गा विवादलाई मध्यमार्गी समाधान खोज्न बुटवल उपमहानगरपालिकाले समन्वयकारी भूमिका खेल्दै आएको छ।

नगरप्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच गर्ने काम सकेर संघीय निकायमा पुगिसकेको बताए।

ठुला व्यवसायलाई व्यवस्थित गर्दै साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गरी बजारलाई थप चलायमान बनाउने योजना नगरले लिएको छ। बुटवल–१५ मा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गरिँदैछ।

झन्डै दुइ अर्ब लगानीमा सञ्चालित यो आयोजना सम्पन्न हुँदा लुम्बिनी प्रदेशका तराई र पहाडी जिल्लाका किसानका उत्पादनले बजार पाउने र कृषिजन्य उत्पादन निर्यात गर्न सकिने अपेक्षा लिइएको छ। ‘यहाँ उत्पादन भएका वस्तु भैरहवाको विमानस्थलबाट विदेश निर्यात गर्नेगरी काम गर्नुपर्छ भन्ने हाम्रो योजना हो,’ उनी भन्छन्।

भौतिक पूर्वाधारमा अब्बल

केही वर्षअघिसम्म यस नगरमा औद्योगिक तथा व्यापारिक मेला गर्नुपरे अस्थायी संरचनामा लाखौं खर्च गर्नुपर्थ्याे। तर अहिले बुटवलसँग अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी हल छ।

वर्षौंदेखि अलपत्र पारिएको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक छिटै सकिने अपेक्षा गरिएको छ। बुटवल–नारायणघाट ६ लेन सडक स्तरोन्नति हुँदैछ। बुटवल–चन्द्रौटा सडक चार लेनमा स्तरोन्नति हुँदैछ।

पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको मिलनबिन्दु पर्ने बुटवलबाट कुनै पनि क्षेत्रका लागि यातायात सुविधा लिन सकिन्छ। नगरका अधिकांश भित्री सडक पक्की र फराकिला बनेका छन्। केही निर्माणकै चरणमा छन्। औद्योगिक पूर्वाधार, ढुवानी ग्राम, व्यवस्थित अटो भिलेज, खेलमैदानहरू बनेका छन्।

विद्यमान पार्किङ समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, नगरविकास कोष र मल्टी डेफोर्ट हार्मोनिक जेभीसँगको सहकार्यमा नगरले बहुतले पार्किङ भवन निर्माणका लागि परामर्शदातासँग सम्झौता गरिसकेको छ। बुटवलबाट हरेक क्षेत्रका लागि लामो तथा छोटो दुरीका गाडी छुट्छन्। जसका लागि हालको बसपार्क साँघुरो भएकाले प्रदेशस्तरको हरियाली बसपार्क बनाउने योजना ल्याइएको नगरप्रमुख पाण्डेयले बताए।

‘वडा नं. ७ र ८ मा पर्ने धागो कारखानादेखि उत्तरतर्फको २५ बिगाहा जग्गामा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका लागि शिवनगर सामुदायिक वनसँग सहमति प्राप्त भई आवश्यक प्रक्रिया अगाडि बढाएका छौं,’ नगरप्रमुख पाण्डेयले भने।

पर्यटनस्थल बनाउने लक्ष्य

बुटवलका ऐतिहासिक, धार्मिक, पर्यटकीय सम्पदाहरूको प्रचारप्रसार गर्दै अन्य पर्यटकीय स्थलसँग तीनलाई जोडेर पर्यटकीय विश्रामस्थलका रूपमा बुटवललाई विकास गर्ने लक्ष्य नगरप्रमुख पाण्डेयले लिएका छन्।

बुद्ध जन्मस्थल लुम्बिनीदेखि बुटवलको जितगढी किल्ला, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, आदिम मानव रामापिथेकसको अवशेष फेला परेको स्थल, सिद्धबाबा मन्दिर हुँदै बुटवललाई मुक्तिनाथसम्म जोड्ने पर्यटकीय रुट निर्माण गरी पर्यटन प्रवर्धनका योजना बनाउन पहल भइरहेको उनले बताए।

बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्न नगरको सौन्र्दयीकरण, सरसफाइ, हरियाली र उज्यालो सहर निर्माण अभियान चलाइएको छ। उज्यालो बुटवल कार्यक्रमअन्तर्गत नगरका २३ स्थानमा हाइमास्ट लाइट जडान गर्ने काम अघि बढेको छ।

बुटवलमा हाल सञ्चालनमा आइसकेको बुटवल–वसन्तपुर जोड्ने लुम्बिनी केबुलकार र सञ्चालनको तयारीमा रहेको बुटवल–नुवाकोट जोड्ने सिद्धार्थ केबुलकारले यो क्षेत्रलाई अझ चलायमान बनाउने अपेक्षा लिइएको छ।  

निजी क्षेत्रले पनि आर्थिक केन्द्रका रूपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा सहित ठुला, स्तरीय तथा तारे होटेलहरूमा लगानी गरिरहेका छन् ।

रैथाने समस्याको दीर्घकालीन समाधान खोजिँदै

अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या, खानेपानी, फोहोर व्यवस्थापन, छाडा चौपाया यहाँका रैथाने समस्या हुन्। यो नगरमा करिब १६ हजार सुकुम्वासी घरपरिवार रहेको अनुमान छ।

लामो समयदेखि चुनावी नारा बन्दै आएको सुकुम्वासी समस्या समाधानका लागि उपमहानगरपालिकाको संयोजनमा भूमि आयोगले वडा नं. ११ र २ मा जग्गाको नापजाँच सकेको छ, १४ मा जारी छ।

नगरप्रमुख पाण्डेयले आफू निर्वाचित भएदेखि नै सुकुम्वासी समस्या समाधानका लागि स्थानीय सरकारका तर्फबाट निभाउनुपर्ने भूमिका निभाइरहेको बताए।

 उनले लालपुर्जा दिन मिल्ने क्षेत्रमा नापजाँच छिटै सकेर लालपुर्जा दिने अवस्थामा पुर्‍याउनका लागि आवश्यक जनशक्ति र उपकरण नगरबाट व्यवस्थापन भएको बताए।

६. बजार अनुगमन गर्दै उपमेयर अर्याल ।

यसअघि फोहोर प्रशोधन केन्द्र निर्माणका लागि आएको २७ करोडको परियोजना चार वर्षअघि तत्कालीन नगरप्रमुख शिवराज सुवेदीका पालामा फिर्ता गएपछि समस्या झन् बल्झिएको थियो।

नगरप्रमुख पाण्डेयले यसपालि अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल १२ मा जग्गा प्राप्तिको चरणमा रहेको बताए। बुटवलको विकासमा सरसफाइ र खानेपानी आयोजनाका लागि विश्व बैंकलगायतका ठुला लगानीकर्ताहरू लगानी गर्न इच्छुक देखिएकाले छिटै यी आयोजना अगाडि बढ्ने बताए।

बुटवलको खानेपानीका लागि २२ वर्षअघि सुरु गरिएको झुम्सा खानेपानी आयोजना अहिले पनि सुषुप्त अवस्थामा छ। मिनी मेलम्चीसरह बनेको यो आयोजनाको काम छिटो सक्न उपमहानगरले संघीय सरकारलाई पटकपटक ध्यानाकर्षण गराएको छ।

‘तिनाउ गाउँपालिकाका बासिन्दालाई चित्त नबुझाई हामीले पानी ल्याउन सक्दैनौं,’ प्रमुख पाण्डेय भन्छन्, ‘हामीले त्यहाँका बासिन्दाको चित्त बुझ्ने गरी सहमति गरेर छिटै नै पानी बुटवलमा ल्याउनेछौं ।’  

छाडा चौपायाको समस्या निराकरणका लागि बुटवलको शिवनगर सामुदायिक वनमा गौचरणसहितको नन्दनी गौशाला हालै सञ्चालनमा ल्याइएको छ।

उपमहानगरले सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी, जवाफदेही र पारदर्शी बनाउन उपभोक्ता समिति तथा टोलविकास समितिका प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आएको छ।

स्थानीय सरकारलाई सुशासनयुक्त बनाउनु आफूहरूको प्रमुख दायित्व भएकाले अनुगमनमा विशेष ध्यान दिएको उपप्रमुख अर्यालले बताइन्।

‘हामीले उपभोक्ता समिति तथा टोलविकास संस्थाहरूलाई आफ्नो टोल छिमेकमा भइरहेका विकास निर्माणका काममा कमीकमजोरी भेटिए तुरुन्त खबरदारी गर्नुस् भनेका छौं,’ उपप्रमुख अर्यालले भनिन्।

बुटवलका पूर्वमेयर पुनाराम पोख्रेल विकास र सेवा सुविधाका दृष्टिकोणले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, भौतिक पूर्वाधारको विकासमा बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेका योजनाहरूले नगरवासीलाई आशावादी बनाएको बताउँछन्।

प्रकाशित: १६ फाल्गुन २०८० ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App