१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

स्ट्रिप लाइट जडानले धनगढी बन्यो झिलिमिली

धनगढीको ६ लेन सडकमा स्ट्रिप लाइट जडान गरिएको छ। रंगीन बत्तीहरूको उज्यालोसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी झिलिमिली बनेको छ। रात्रिकालीन समयमा रंगीन बत्तीको झिलिमिलीले ६ लेन सडक क्षेत्रमा अत्याधुनिक सहरको झझल्को देखिएको छ।

धनगढी उपमहानगरपालिकाले भारतको नाका जोड्ने कैलालीको मोहनास्थित भन्सारदेखि मोहनपुरसम्मको ६ लेन सडक क्षेत्रमा स्ट्रिप लाइट जडान गरेको हो।  

६ लेन सडकमा जडान गरिएको स्ट्रिप लाइट र विमानस्थल रोडमा जडान गरिएको स्ट्रिट लाइटको आइतबार साँझ प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका थिए।

उपमहानगरपालिकाले ६ लेन सडकको दुई सय ६५ पोलमा स्ट्रिप लाइट, ६ लेन सडकको एक सय ४० वटा ट्रिगार्डमा पनि स्ट्रिप लाइट जडान गरेको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। ६ लेन सडकमा ३१ लाखको लागतमा स्ट्रिप लाइट जडान गरिएको उनले बताइन्।

यसैगरी विमानस्थल सडकमा १० लाखको लागतमा ५६ सडक बत्ती जडान गरिएको छ भने करिब तीन लाख लागतमा भन्सार गेटमा फ्लोड लाइट जडान भएको उनले बताइन्। स्ट्रिप लाइट जडानले धनगढी झिलिमिली र सुन्दर देखिएको भन्दै स्थानीय खुसी भएका छन्।

‘रंगीन बत्तीको झिलिमिलीले धनगढी ६ लेन सडक क्षेत्र विदेशको अत्याधुनिक सहरजस्तो देखियो’, स्थानीय व्यवसायी महेश दाहालले भने, ‘यसले सहरको सौन्दर्य बढेको छ।’ धनगढी सहरको सौन्दर्य र विकासले भारतबाट आउने पर्यटक आकर्षित गर्न सकिने उनी बताउँछन्।

स्ट्रिप लाइटको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले ६ लेन सडकमा जडान गरिएको स्ट्रिप लाइटले रात्रिकालीन सौन्दर्य बढाउने बताए।

सुदू्रपश्चिम प्रदेशको एक मात्र उपमहानगपालिका धनगढीलाई नमुना र सुन्दर बनाउन तीनै तहको सरकारले मिलेर काम गर्नुपर्ने उनले बताए। धनगढीको विकासमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

प्रकाशित: १४ फाल्गुन २०८० ११:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App