७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व संकलन ११ अर्ब बढी

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो। आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुको संख्या पनि बर्सेनि बढिरहेको छ।  

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा ११ अर्ब ३८ करोड राजस्व संकलन भएको छ। चालु आवमा १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म ६ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।  

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको तथा विमानस्थल सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गरे। विमानस्थलले यात्रुसेवा शुल्कबापत, कोठा र सटर बहाल तथा जहाज अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ।  

विमानस्थलले आव २०७७-७८ मा दुई अर्ब ४६ करोड राजस्व उठाएको थियो। कोभिड– १९ का कारण उक्त वर्ष राजस्व घटेको विमानस्थलले उल्लेख गरेको छ। कोभिडपछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रु  संख्या पनि बढ्दो क्रममा छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन्। सन् २०२२ मा यो संख्या ७९ लाख ५४ हजार चार सय ९५ थियो, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो।

एक वर्षमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार एक सय ३७ ले हवाई यात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशतले बढी हो। आन्तरिकतर्फ हवाई यात्रा गर्नेको संख्या ४१ लाख ५० हजार तीन सय २६ पुगेको छ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई यात्रा गरेका थिए। यो संख्या कोभिड– १९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन्।

नेपालले हाल ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ। पछिल्लोपटक गत माघ २३ गते नेपाल र स्विटजरल्यान्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो। –रासस

प्रकाशित: १० फाल्गुन २०८० १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App