२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

शुक्लागण्डकी महोत्सवमा पातका माला

तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ। महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो।

यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समीका पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो। साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन।

महोत्सव उद्घाटनका अवसरमा समीबाट बनेका माला आमन्त्रित व्यक्तिलाई लगाइएको थियो। अन्य दिनमा पनि अतिथि र कलाकारलाई स्थानीय माला प्रयोग गरिएको अतिथि सत्कार उपसमिति संयोजक जोशिला थापाले जानकारी दिइन्।

शुक्लागण्डकी नगरपालिका– ६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन्। उनीहरूले उत्पादन गरेका बाँसका सामग्री महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए।

उनले भने, ‘तालिम समापनका अवसरमा समी र फूल मिलाएर माला बनाएका थिए। सोही मालालाई महोत्सव आयोजकसँग कुरा गरी प्रयोगका लागि अनुरोध गरिएको हो। आयोजकले प्रतिमाला ३० रुपैयाँ दिएका छन्।’

महोत्सव मूल संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमलप्रसाद रिमालले स्थानीयले उत्पादन गरी उपलब्ध गराउँछौँ भनेपछि आयोजकले उनीहरूलाई प्रोत्साहनका लागि पनि स्थानीय मालालाई नै प्राथमिकता दिएको बताए। उनले भने, ‘यस क्षेत्रमा अहिले फूल छैन, अतिथि सत्कारका लागि हामीले पनि बाहिरबाट खरिद गरी ल्याउनुपर्ने हुन्थ्यो।’

तालिम लिएकी मधु थापाले तालिम सकिनेबित्तिकै आफूहरूको उत्पादनलाई प्राथमिकता दिएकामा धन्यवाद दिए। महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री वितरणका लागि स्टल निःशुल्क व्यवस्था गरिएको छ।

स्थानीयस्तरमा उत्पादित कृषि, घरेलुलगायतका सामग्री बिक्री वितरण र प्रदर्शनीका लागि स्टल निःशुल्क गरिएको सङ्घका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिए। उनले भने, ‘स्थानीय उत्पादनले बजार पाओस् भन्नका लागि स्टल निःशुल्क व्यवस्थापन गरेका छौँ। यसले त्यस्ता सामग्रीको प्रवद्र्धनमा सहयोग पुग्नेछ।’

महोत्सवमा अटोमोबाइल, होटललगायत अन्य व्यावसायिक स्टलसमेत गरी कुल एक सय ८० स्टल रहेका छन्। महोत्सवमार्फत शुक्लागण्डकी नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ। 

महोत्सवमार्फत नै दगामस्थित घरवास (होमस्टे) को प्रचार–प्रसार र प्रवद्र्धन गरिने उनको भनाइ छ। फागुन ८ सम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब तीन करोड आर्थिक कारोबार हुने लक्ष्य छ। त्यस्तै दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको आयोजकको भनाइ छ।

महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरका कलाकारलाई समावेश गरिने छ। यसैगरी महोत्सवको अवसरमा विद्यालयस्तरीय नृत्य, भलिबल, रत्यौली, गण्डकी गायन, र कौरा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन हुने छन्। –रासस

प्रकाशित: ६ फाल्गुन २०८० ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App