१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

जनवरीको पर्यटक आगमन: भारतीयपछि चिनियाँको संख्या बढी

सन् २०२४ को जनवरी महिनामा नेपालमा हवाईमार्गबाट मात्र ७९ हजार १ सय जना विदेशी पर्यटक भित्रिएका छन्। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा पाहुना आगमनमा सुधार हुँदै जान थालेको यो संख्याले देखाएको पर्यटन बोर्डले बताएको छ। जनवरीमा भित्रिएका मध्ये सबैभन्दा बढी विदेशी पाहुना भारतीय छन। त्यसपछिको संख्या चिनियाँको रहेको पर्यटन बोर्डले बताएको छ।  

बोर्डका अनुसार यो संख्या २०२३ को जनवरीमा ५५ हजार ७४ थियो। २०२३ को जनवरीको तुलनामा २०२४ को पहिलो महिनामा २४ हजार २६ जना बढी विदेशी पाहुना नेपाल भित्रिएका छन। पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले कोरोना भाइरस संक्रमणले थलिएको पर्यटक आगमन बढ्दै जाने क्रममा यो जनवरीमा निकै नै सुधार भएको बताए।  

नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ हो। त्यो वर्षको जनवरीमा नेपालमा ८१ हजार २ सय ७३ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०२० को जनवरीमा भने नेपाल भित्रिने विदेशीको संख्या ७९ हजार ७ सय २ थियो । २०२० को जनवरीसम्म कोरोना संक्रमणको उत्तिसारो प्रभाव नपरेपनि अन्तर्राष्ट्रियस्तरमा त्रास भने बढिसकेको थियो। त्यसपछि कोरोना संक्रमणले गर्दा केहीवर्ष आगमनमा निकै नै गिरावट आएको थियो। तर, गतवर्षदेखि आगमन सुधार हुँदै जाने क्रममा यो पटकको सुधार निकै नै सकारात्मक रहेको लामिछानेले बताए।  

लामिछानेका अनुसार २०१९ को जनवरीको तुलनामा यो जनवरीमा नेपाल भित्रिने विदेशी पाहुनाको संख्यामा ९७ प्रतिशत सुधार भएको छ। ‘पर्यटक आगमन सुधारको बाटोमा छ। अघिल्ला वर्षसम्मको अवस्था केही अप्ठेरो थियो। तर, पोहोरदेखि सुधार भएको हो,’ उनले भने। 

ोर्डका अनुसार सन् २०२२ को जनवरीमा नेपालमा १६ हजार ९ सय ७५ जना मात्र विदेशी पाहुना भित्रिएका थिए। सरकारले यो वर्ष २०२३ को तुलनामा दोब्बर संख्यामा पर्यटक आगमन भित्र्याउने घोषणा गरिसकेको छ। कोरोनाले संकटमा पारेको पर्यटन क्षेत्रमा २०१९ पछि बल्ल आगमन संख्या १० लाख नाघेको थियो।  

यो जनवरीमा सबैभन्दा बढी २४ हजार भारतीय पाहुना नेपाल भित्रिएका छन। त्यसपछि चिनियाँ पाहुनाको संख्या बढी छ । जनवरीमा नेपाल भित्रिने चिनियाँको संख्या ७ हजार २ सय ६७ रहेको छ । तेश्रो नम्बरमा रहको अमेरिकी पाहुनाको आगमन संख्या ७ हजार ४७ रहेको छ। चौथो नम्बरमा थाइल्याण्डका ४ हजार ६ सय १९ जना पर्यटक भित्रिएका छन। पर्यटन क्षेत्रले चिनियाँ पर्यटनबाट ठूलो अपेक्षा राखेको छ। २०२३ को जनवरीमा भने नेपाल भित्रिने चिनियाँको संख्या जम्मा १४ सय ३६ रहेको थियो। त्यो आगमन सन् २०२२ को जनवरीमा जम्मा ३ सय २१ थियो।  

प्रकाशित: १८ माघ २०८० ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App