२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुनर्निर्माण गरिँदै १३६ बर्से झोलुंगे पुल

बेनी नगरपालिका ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ पुनर्निर्माण गरिने पुलकाे शिलान्यास गर्दै। तस्बिर : नागरिक

एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ। स्थानीय प्रविधिबाट निर्मित नेपालकै पहिलो झोलुंगे पुल जीर्ण भएपछि वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बुधबार शिलान्यास गरेका छन्।

कुल ३४ लाख ९८ हजार रुपैयाँ लागतमा पुनर्निर्माण गर्न लागिएकोमा संघीय सरकारको क्षेत्रगत झोलुंगे पुल सुधार कार्यक्रमबाट ८०, बेनी नगरपालिका १३  प्रतिशत र समुदायबाट २ प्रतिशत लागतमा सम्पन्न हुने छ।

तत्कालीन समयमा म्याग्दी जिल्लाका विभिन्न खानीबाट निकालिएका काँचा फलाम गोलमा तताएर, कुटेर साङ्ले लठ्ठा संरक्षण गरिने वडाध्यक्ष श्रेष्ठले बताए।  

१३६ बर्से झोलुंगे पुल। तस्बिर : नागरिक

विसं १९४४ मा निर्माण गरिएको पाती चढाउने डिल र मंगलाघाट जोड्ने झोलुंगे पुल जीर्ण हुँदा दुर्घटनाको जोखिमसमेत बढेको अवस्थामा मर्मत गरिएको थियो, लामो समय टिकाउ हुन सकेन।

नेपालमा झोलुंगे पुल राख्ने अभियान राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६० मा नै गरेका थिए भने देवशमशेरको शासनकालदेखि झोलुंगे पुल निर्माण गर्न थालिएको थियो। सन् १९६० मा डा. हेगनको अगुवाइमा नेपालमा झोलुंगे पुल निर्माण थालिएपछि धमाधम झोलुंगे पुलहरू निर्माण हुँदै आएका छन्।  

मटेलाको पुल बन्नुपहिले वि.सं. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधन प्रयोग गरी म्याग्दीको बेनीमा पहिलो झोलुंगे पुल निर्माण भएको तथ्यांकले देखाउँछ। बागलुङको गलकोटका लालप्रसाद शेरचनले सो पुल बनाएका थिए। यसमा लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीय बासिन्दाको सीप प्रयोग गरिएको थियो।

पुलमा प्रयोग भएका साङ्ले लट्ठा। तस्बिर : नागरिक

तत्कालीन समयमा माथि र तल गरी दुईवटा साङ्ले लट्ठामा फलामको पाता राखेर वारपार गर्ने गरी झोलुंगे बनाइएको थियो। कुनै जमानामा म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा म्याग्दी नदीमाथि निर्मित झोलुंगे पुल, म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत–जावतका लागि प्रयोग हुने गरेको थियो। पुलमा प्रयोग भएका साङ्ले लट्ठा सोही समयमा स्थानीय स्रोत र सीप प्रयोग गरी बनाइएका हुन्।

गाउँ–गाउँबाट श्रमदान गर्न ठुलो संख्यामा आएकाबाट खुला आकाशमा भोकभोकै काम गरेका थिए। विसं २०१४ मा म्याग्दीको बाबिया चौरमा बसोवास गर्ने पुल निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा झोलुंगे हटाएर झोलुंगे पुलका रूपमा विकास गरिएको थियो।

प्रकाशित: १८ माघ २०८० ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App