८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्थमन्त्री महतद्वारा बाराका छोटी नाका निरीक्षण

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बारामा रहेका तीनवटा छोटी भन्सार कार्यालय (नाका) को निरीक्षण गरेका छन्।

कलैया उपमहानगरपालिकामा रहेको मटिअर्वा, सुवर्ण गाउँपालिकामा रहेको सन्तगञ्ज र सिम्रौनगढ नगरपालिकामा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाहरूको निरीक्षण गरेका हुन्।

कोरोना कालदेखि करिबकरिब बन्द रहेको ती नाका खुलाउन स्थानीयले दबाब दिँदै आएका छन्।

जिल्लामा रहेका तीनवटै नाकाहरू लामो समयदेखि बन्द भएका कारणले भारततर्फका सीमावर्ती बजार पुग्न वा भारतबाट नेपाल प्रवेश गर्ने चारपांग्रे सवारी साधनहरूलाई दुबैतर्फका सुरक्षाकर्मीहरूले अवात जावतमा रोक लगाएका छन्।

बन्द नाका निरीक्षणको क्रममा मन्त्री महतले छोटी नाकाहरूबाट जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजस्व बढाउने लक्ष्य सरकारको भएको बताएका छन्। स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै खोल्ने आश्वासन समेत मन्त्री महतले दिए।

नाकाहरूलाई आवश्यक पूर्वाधार तयार पार्ने र नेपाल–भारत सीमालाई व्यवस्थित गर्ने कार्यमा स्थानीय पालिकाको भूमिका पनि महत्वपूर्ण हुने उनले बताए।

भारतीय बजारबाट दैनिक जीवनमा आवश्यक पर्ने मालवस्तुहरू किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको उनले बताए । भारत पक्षसँग पनि कुरा गरेर यसलाई खोल्नतर्फ सरकार लाग्ने उनले आश्वासन दिए।

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको उनले बताए। ‘बारा जिल्लाको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ’, मन्त्री महतले भने, ‘एयरपोर्ट बन्यो भने बाराको महत्व अझ विस्तार हुने छ।’

बाराको अधिकांश सडक बनिसकेको अवस्थामा मरिन सुनकोशी डाइभर्सन निर्माण भएपछि बारामा सिँचाइका राम्रो व्यवस्था हुने र यसले बाराको कृषि उत्पादन, उद्योग, व्यापार र व्यवसाय बढ्छ उनले बताए।

छोटी भन्सारहरू निरीक्षण गर्ने क्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दिल्लाराम पन्थी, कांग्रेसका नेता र स्थानीय तहहरूका प्रमुखहरूको उपस्थिति रहेका थियो।

प्रकाशित: ११ माघ २०८० ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App