१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै मेरिङदेन

व्यावसायिक पशुपालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुको उन्नत जातीय नश्ल सुधारका लागि निःशुल्क रूपमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले पशुका लागि कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन कार्यविधि नै बनाएर पालिकाका ६ वटै वडाका सेवाग्राहीलाई व्यावसायिक पशुपालनतर्फ प्रोत्साहित गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङ्गामले जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा स्थायी वा अस्थायी बसोवास गर्ने सबै सेवाग्राहीले यो सुविधा पाउने छन्। गाई, भैंसी र बाख्राको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम अघि बढाउने गाउँपालिकाले जनाएको छ। कार्यअनुसार सम्बन्धित कार्यालयमै पशुलाई लगेर कृत्रिम गर्भाधान गराए पशु प्राविधिकले निःशुल्क सेवा दिनेछन्।

यस्तै पशु प्राविधिक कार्यालय समयभित्र हाजिर भई कार्य  क्षेत्रका सम्बन्धित कृषकका घरमा गई पशुलाई कृत्रिम गर्भाधान सेवा उपलब्ध गराएवापत पालिकाले आठ सय रूपैयाँ उपलब्ध गराउने भएको छ।

कार्यालय समय बाहिर कृषकका घरमा गई पशुलाई कृत्रिम गर्भाधान गराए पशु प्राविधिकलाई पालिकाले १ हजार २ सय र अन्तरपालिका गई पशुलाई कृत्रिम गर्भाधान गराए पालिकाले सम्बन्धित पशु प्राविधिकबाट २ सय रूपैयाँ लिएर पालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्ने छ।

जुनसुकै समयमा बाख्रालाई कृत्रिम गर्भाधान गराए पालिकाले सम्बन्धित पशु प्राविधिकलाई पाँच सय रूपैयाँ उपलब्ध गराउने भएको छ। पशुको उन्नत जातीय नश्ल सुधारका लागि पालिकाले निःशुल्क रूपमा सेवाग्राहीलाई सेवा दिने छ भने अन्तरपालिकाबाहेक पशु प्राविधिकलाई सेवा शुल्क वा प्रोत्साहनवापत आवश्यक शुल्क उपलब्ध गराउने भएको छ।

प्रकाशित: १० माघ २०८० ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App