३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

उधारो उठाउने कानुन निर्माण गर्न माग

उधारो उठाउने कानुन निर्माणका लागि सामूहिक पहल थाल्न आयोजित छलफलमा सहभागीहरू। तस्बिर: चुमन बस्नेत/नागरिक

उधारो नउठ्दा उद्योग व्यवसाय समस्यामा परेपछि कोसी प्रदेशका उद्योगी व्यवसायीले उधारो उठाउने कानुन निर्माण गर्न माग गरेका छन्।मोरङको सुन्दरहरैंचामा आयोजित कोसी प्रदेशका उद्योग वाणिज्य महासंघ जिल्ला तथा नगर समितिका पदाधिकारीहरूको भेलाले उधारो उठाउने कानुन निर्माण गर्न सरकारसँग माग गरेको हो।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले . उधारो उठाउने कानुनी व्यवस्था नेपालमा नभएको र उद्योगी व्यवसायीले दिएको उधारो नउठ्दा समग्र आर्थिक क्षेत्र नै समस्यामा परेका कारण उधारो उठाउने कानुन बनाउन सरकारसँग सामूहिक पहल गर्नुपर्ने धारणा राखे। 

सुरानाले राजश्व सम्बन्धी विवादको समाधानका लागि राजश्व न्यायाधिकरण, बैङ्कहरूको ऋण असुलीका लागि ऋण असुली न्यायाधिकरण जस्ता निकायहरू रहेता पनि उधारो उठाउने सम्बन्धमा कुनै न्यायिक निकाय नभएको बताए।उनले भने‘ राजस्व र ऋण उठाउने निकाय भएजस्तै उधारो उठाउने कानुन  र निकाय पनि आवश्यक छ।’ 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बजारमा उधारो दिनुपर्ने उद्योगी व्यवसायीको बाध्यता रहेको र उधारो उठाउने कानुनी व्यवस्था नहुँदा समस्यामा परेको बताए । उधारो नउठ्ने समस्याले विना व्याज बजारमा  ठूलो रकम  लगानी भएको  र  व्यवसायमा मन्दीका कारण अहिले उद्योगी व्यवसायीले नाफाको ९० प्रतिशत रकम बैंकको व्याजमै भुक्तानी गर्नु परेको गुनासो गरे। ‘उत्पादित बस्तु नबेचे समग्र उद्योग व्यवसाय नै धराशायी हुने डरले उधारैमा भए पनि बेच्नु पर्ने बाध्यता छ’ रिजालले भने ‘ जसरी पनि समान बेच्न खोज्दा उधारो नउठेर समस्या भएको छ।’ 

रिजालले उधारो उठाउने कानुन निर्माण गर्ने, भ्याट विललाई तमसुक सरह मान्यता दिनुपर्ने, प्यान विल अनिवार्य गर्ने व्यवस्था भए समस्या न्यूनीकरण हुने बताए।सामूहिक भेला पछि जारी ६ बुँदे  सम्झौतामा उधारो कारोबारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामूहिक पहल गर्ने, जिल्ला/नगर उद्योग वाणिज्य संघले सम्बन्धित फर्म, कम्पनी वा उद्योगलाई उधारो रकम यथाशीघ्र फरक फारक गर्न हर सम्भव पहल र प्रयत्न गर्ने, आफू  सम्बन्धीत क्षेत्रका उद्योग वा व्यापारिक पक्षलाई उधारो कारोबार व्यवस्थित गर्न पत्राचार गरी नैतिक एवं सामाजिक दबाब सृजना गर्ने उल्लेख छ।

त्यसैगरी आगामी दिनमा मुलुकका अन्य जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूलाई यस पहलमा समावेश गर्दै लैजाने, उद्योग÷व्यवसाय लगायत व्यावसायिक क्षेत्रको प्रवद्र्धन र बृहत्तर हितका मुद्दामा साझा धारणा बनाई कार्य गर्ने र संस्थागत विकास एवं सृदृढिकरणका लागि आपसी अन्तर संवादलाई आगामी दिनमा थप घनिभूत बनाउँदै लैजान विषय समेटिएको छ।

सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका नवीन रिजाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाई लगायतले हस्ताक्षर गरेका छन्।  

प्रकाशित: ९ माघ २०८० १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App