१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आज नवौँ पटक शुभारम्भ हुँदैछ मेलम्ची, यो पनि अस्थायी वितरण!

आज नवौँ पटक मेलम्ची खानेपानी शुभारम्भ हुँदैछ। मेलम्ची खानेपानी शुभारम्भ र उद्घाटन गर्ने आजका पात्र भने फरक छन्। संभवत ती हुनेछन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।  

आजको नवौँ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री दाहाललाई साथ दिँदै छन्, खानेपानी मन्त्री महेन्द्रराय यादवले।

मेलम्ची आयोजना सुरु भएदेखिनै शुभारम्भ र उद्घाटनको सिलसिला जारी छ। कहिले मेलम्चीको पानी पथान्तरण, कहिले सुरुङ निर्माण सम्पन्न, कहिले सुरुङको पानी प्रशोधन केन्द्रमा हाल्ने नाममा, कहिले मेलम्चीको पानी भन्दै ढुङेधारा खोल्ने नाममा, कहिले काठमाडौँका पानी ट्याङ्कीमा पुगेर पानीको भल्भ खोल्ने नाममा यस्ता शुभारम्भ र उद्घाटन भइरहेका छन्। अझ पथान्तरणको शुभारम्भ त दुई–दुई गरिएको छ।  

तर शुभारम्भ र उद्घाटन गर्ने पात्रहरू भने समयअनुसार फरक–फरक छन्। राष्ट्रपतिदेखि राज्यमन्त्रीसम्मले मेलम्ची निर्माणका विभिन्न चरणमा शुभारम्भ र उद्घाटन गरेका छन्।  

मेलम्ची खानेपानीको आयोजनाको शुभारम्भ तथा उद्घाटन गर्नेहरूमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्री मणिचन्द्र थापा, खानेपानी मन्त्री उमाकान्त चौधरी, खानेपानी राज्यमन्त्री रामबीर मानन्धरलगायतले मेलम्चीका विभिन्न चरणहरूमा शुभारम्भ र उद्घाटन गरेका थिए।

मेलम्चीको पानी सोमबार मकर सङ्क्रान्ति दिन प्रधानमन्त्री दाहालले फेरि एक औपचारिक कार्यक्रम आयोजना गरेर पुरानै प्रवृत्तिलाई निरन्तरता दिन थालेका छन्।  

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले मेलम्चीको पानी सोमबारदेखि उपत्यकामा वितरण गरिने बताए।

‘मेलम्चीको पानीको उपत्यकामा शुभारम्भ गर्ने कार्यक्रम सोमबार तय भएको छ,’ उनले भने ‘पानी शुभारम्भ गर्ने कार्यक्रम प्रधानमन्त्री वा मन्त्री कसबाट गर्ने भन्ने कुरा अहिलेसम्म टुङ्गो लागेको छैन। सम्भवतः छिट्टै टुङ्गो लगाउनेछौँ।’  

कार्यकारी निर्देशक अन्सारीले सोमबार वितरण गर्ने मेलम्चीको पानी पनि अस्थायी नै हुने बताए। ‘वर्षा याम अघि सम्मको लागि मात्रै मेलम्चीको पानी वितरण गर्न लागिएको हो,’ उनले भने ‘दीर्घकालीन रूपमा मेलम्चीको वितरण गर्नका लागि त सुरुङ नै ५÷६ सय मिटर पर सार्नुपर्ने देखिन्छ।’

सोमबार पनि मेलम्चीको खानेपानी वितरण कार्यक्रममा फेरि शुभारम्भ गर्ने बताइएको छ । सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहाल वा खानेपानी मन्त्री महेन्द्रराय यादवले गर्ने कार्यक्रम तय गरिएको बताइएको छ। अहिले सत्तामा रहेका राजनीतिक नेतृत्वले मेलम्चीको पानीलाई स्थायित्व गरी ल्याउने भन्दा पनि कसरी हुन्छ आफूले नै मेलम्ची ल्याएको भन्दै प्रचारप्रसार गरेको देखिन्छ।

यस्तो छ मेलम्चीको शुभारम्भ र उद्घाटनको टाइमलाइन

–सिन्धुपाल्चोक जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी र  तत्कालीन खानेपानी मन्त्री विना मगरले काठमाडौँबाट मेलम्ची खानेपानी आयोजनाको पानी २०७७ असार २१ गते पथान्तरणको शुभारम्भ गरेकी थिइन्। त्यसवेला पथान्तरण गरिएको पानी काठमाडौँ आउन नपाउँदै गेट भत्किएको थियो।

– तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले  २०७८ फागुनको पहिलो साता मेलम्चीको हेडवक्र्स अम्बाथानमा पुगेर फेरि दोस्रो पटक पानी पथान्तरण गरेका थिए।

– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजनाको सुरुङको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा विद्युतीय बटन थिचेर पानी हाल्ने कामको उद्घाटन गरेका थिए।

– तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौंको भृकृटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्।

–तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले २०७९ चैत  १९ मा मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए।

–तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले  २०७९ वैशाख ११ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको मीनभवनस्थित पानी ट्याङ्कीमा पुगेर खानेपानीको भल्भ खोली मेलम्ची खानेपानी आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गरेका छन्।

– तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ मंसिर २३ गते  पनि मेलम्चीको पानीको शुभारम्भ गरेका थिए।

–सम्भवतः सोमबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल वा  खानेपानी मन्त्री महेन्द्रराय यादवले एक कार्यक्रमबीच मेलम्चीको खानेपानी शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: १ माघ २०८० ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App