३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मेलम्चीको स्थायित्वमा भन्दा पनि अस्थायी शुभारम्मै होडबाजी !

फाइल तस्बिर

मेलम्ची खानेपानी आयोजनाको उद्घाटन र शुभारम्भ गर्ने कार्यमा राजनीतिक नेतृत्वको  हानाथाप गर्ने प्रवृत्ति झाँगिदैँ आइरहेको छ। मेलम्ची खानेपानी आयोजना यस्तो आयोजना हो ,जुन धेरै पटक उद्घाटन र शुभारम्भ गर्ने परियोजनाको रुपमा रेकर्ड नै कायम हुदैँ आइरहेको छ।

तीन वर्ष यता वर्षायाममा आउने बाढीले मेलम्ची नदीको मुहान अम्बाथानस्थित हेडवक्र्समा क्षति हुने गरी हिउँदमा मर्मतसम्भार गरेर मेलम्चीको पानी ल्याउँदा पनि शुभारम्भ गर्ने मोह राजनीतिक नेतृृत्वमा निकै झाँगिदैँ आइरहेको छ। मेलम्ची नदीको पानी सोमबार मकर सक्रान्तिको दिन उपत्यकामा फेरि एक औपचारिक कार्यक्रम आयोजना गरेर फेरि पुरानै प्रवृत्तिलाई निरन्तरता दिने प्रयास गरिएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले मेलम्चीको पानी सोमबारदेखि उपत्यकामा वितरण गरिने बताए।

‘मेलम्चीको पानीको उपत्यकामा शुभारम्भ गर्ने कार्यक्रम सोमबार तय भएको छ,’ उनले भने ‘पानी शुभारम्भ गर्ने कार्यक्रम प्रधानमन्त्री वा मन्त्री कसबाट गर्ने भन्ने कुरा अहिलेसम्म टुंगो लागेको छैन्। सम्भवत् छिट्टै टुंगो लगाउनेछौं।’ कार्यकारी निर्देशक अन्सारीले सोमबार वितरण गर्ने मेलम्चीको पानी पनि अस्थायी नै हुने बताए। ‘वर्षायाम अघिसम्मको लागि मात्रै मेलम्चीको पानी वितरण गर्न लागिएको हो,’ उनले भने ‘दीर्घकालिन रुपमा मेलम्चीको वितरण गर्नका लागि त सुरुङ नै ५/६ सय मिटर पर सार्नुपर्ने देखिन्छ।’

सोमबार पनि मेलम्चीको खानेपानी वितरण कार्यक्रममा फेरि शुभारम्भ गर्ने बताइएको छ । सम्भवत् प्रधानमन्त्री पुष्पकमल दाहाल वा खानेपानी मन्त्री महेन्द्रराय यादवले गर्ने कार्यक्रम तय गरिएको बताइएको छ। अहिले सत्तामा रहेका राजनीतिक नेतृत्वले मेलम्चीको पानीलाई स्थायीत्व गरी ल्याउने भन्दा पनि कसरी हुन्छ आफूले नै मेलम्ची ल्याएको भन्दै प्रसारप्रसार गरेको देखिन्छ।

यस्तो छ मेलम्चीको पानी उद्घाटनको टाइमलाइन

–सिन्धुपाल्चोक जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी र  तत्कालिन खानेपानी मन्त्री विना मगरले काठमाडौंबाट मेलम्ची खानेपानी आयोजनाको पानी २०७७ असार २१ गते पथान्तरणको शुभारम्भ गरेकी थिइन्। त्यसवेला पथान्तरण गरिएको पानी काठमाडौं आउन नपाउँदै गेट भत्किएको थियो।

– तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले  २०७८ फागुनको पहिलो साता मेलम्चीको हेडवक्र्स अम्बाथानमा पुगेर फेरि दोस्रो पटक पानी पथान्तरण गरेका थिए।

– तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजनाको सुरुङको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा विद्युतीय बटन थिचेर पानी हाल्ने कामको उद्घाटन गरेका थिए।

– तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौंको भृकृटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्।

–तत्कालिन खानेपानीमन्त्री उमाकान्त चौधरीले २०७९ चैत  १९ मा मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए।

–तत्कालिन खानेपानी मन्त्री उमाकान्त चौधरीले  २०७९ वैशाख ११ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलको मीनभवनस्थित पानी ट्याङकीमा पुगेर खानेपानीको भल्भ खोली मेलम्ची खानेपानी आयोजनाको पुनः वितरण कार्यक्रमको उद्घाटन गरेका छन्।

– तत्कालिन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ मंसिर २३ गते  पनि मेलम्चीको पानीको शुभारम्भ गरेका थिए।

–सम्भवत् सोमबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल वा  खानेपानी मन्त्री महेन्द्रराय यादवले एक कार्यक्रमबीच मेलम्चीको खानेपानी शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: २९ पुस २०८० ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App