७ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्थापनाको एक दशक पछि पर्यटकका लागि खुल्यो बाँके निकुञ्ज

निकुञ्जमा जंगल सफारी गर्दै पर्यटक। तस्बिर साैजञ्य : बाँके राष्ट्रिय निकुञ्ज

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकहरू घुम्नका लागि आउन थालेका छन्। निकुञ्ज कार्यालयले जंगल सफारीका लागि आवश्यक पर्ने संरचना तयार गरेसँगै पर्यटकहरू आउन थालेका हुन्। पर्यटकलाई लक्षित गरेर निकुञ्ज क्षेत्रभित्र वनपथ, मचान, ताल तथा पोखरी लगायत संरचना निर्माण गरिएको छ। 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले पर्यटकका लागि निकुञ्ज प्रवेश खुला गरिएको जानकारी दिए। ‘सर्वसाधारणका लागि अनौपचारिक रूपमा निकुञ्ज प्रवेश खुला गरिएको पहिलो पटक हो। हामीले पर्यटकहरू घुम्नका लागि आवश्यक सबै संरचना तयार गरेका छौँ’, उनले नागरिकन्यूजसँग भने। 

पाटे बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असारमा सरकारले निकुञ्ज स्थापना गरेको थियो। बाँके, दाङ र सल्यानसम्म फैलिएको उक्त निकुञ्ज स्थापनाका क्रममा ४ वटामा सीमित रहेको पाटे बाघको सङ्ख्या २५ पुगेको छ। त्यो सङ्ख्या पनि अहिले बढेको अनुमान गरिएको छ। 

आवश्यक संरचना तयार भएसँगै निकुञ्जमा अहिले पर्यटकहरू घुम्नका लागि आउन थालेको निकुञ्जका प्रमुख शाहले जानकारी दिए। निकुञ्जमा सफारी गर्न आउने पर्यटकका लागि ‘जंगल ड्राइभ’ गर्न स्थानीय स्तरमै गाडी उपलब्ध गराइएको उनले जानकारी दिए। ‘पर्यटकलाई निकुञ्जभित्र सिधा जंगल ड्राइभको सुविधा दिएका छौँ,’ शाहले भने। 

सुरुवाती चरणमा आन्तरिक पर्यटकहरू जंगल सफारी गर्नका लागि आउन थालेको उनले सुनाए। धुलो, धुवाबाट टाढा रही एकान्त जंगलमा रमाउन चाहने र विभिन्न प्रजातिका वन्यजन्तु अवलोकन गर्न चाहनेका लागि निकुञ्जको जंगल सफारी प्रभावकारी हुने उनी बताउँछन्।

जंगल सफारीका क्रममा निकुञ्जभित्र पाटे बाघ, चितुवा, हात्ती, चित्तल, जरायो, रतुवा, भालु जस्ता स्तनधारी र दर्जनाै‌ चराचुरुंगी हेर्न पाउने उनले सुनाए। निकुञ्जमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर मध्यवर्ती क्षेत्रमा  होमस्टे तथा होटेल खुलेका छन्। यसका साथै नेपालगन्जमा रहेका तारे होटेलले पनि नयाँ अफर ल्याएका छन्।

कार्यालयका सूचना अधिकारी कुन्ननारायण चौधरीकाअनुसार अहिले निकुञ्ज मुख्यालय ओभरीबाट जंगल सफारी खुला गरिएको छ। ‘ओभरीबाट जंगलमा प्रवेश गराएर मुगुवा मचान हुँदै खैरी मचान, खैरी घाँसे मैदान, पानी मुहान हुँदै अगैयामा निस्कने रुट बनाइदिएका छौँ,’ चौधरीले भने ‘अब केही दिन मै कोहलपुरबाट पनि अर्को रुट सञ्चालन गर्ने तयारी भइरहेको छ।’

पर्यटकले हाल जिपबाट जंगल सफारी गर्न करिब डेढदेखि दुई घण्टा जति समय लाग्ने गरेको उनले सुनाए। सूचना अधिकारी चौधरीका अनुसार निकुञ्जले जंगल सफारीका लागि गाडीसँग प्रवेश शुल्क २ हजार ५ सय र प्रतिव्यक्ति (स्वदेशी र विदेशी) पर्यटकसँग अलग अलग शुल्क लिने व्यवस्था मिलाएको छ। निकुञ्जकै खड्गवारमा रहेको हात्तीसारबाट पर्यटकका लागि हात्ती सफारी पनि खुला गरिएको कार्यालयले जनाएको छ। ‘हात्ती चढ्न आउने र जिपबाट जंगल सफारी गर्न आउने पर्यटकको चाप क्रमिक रूपले बढेको छ, आशा गरौँ बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकहरू यसरी नै घुम्न आउनु हुनेछ।’

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले केही पूर्वादारहरू बनेपछि पर्यटकका लागि घुमफिर गर्न खुला गरिएको बताए। ‘हामीसँग गन्तव्य तयार भइसकेको थियो, तर साधन आवश्यक थियो, पछिल्लो समयमा साधनको पनि व्यवस्था भएको छ, निश्चित शुल्क लिएर घुमाउने कामको सुरुवात भएको छ, पर्यटकहरू पनि आइरहनु भएको छ,’ खड्काले भने। 

पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सुरु हुँदा यहाँको पर्यटन व्यवसाय फस्टाउने बताउँछन्। ‘निकुञ्जभित्र आवश्यक संरचना तयार भइसकेको अवस्थामा यहाँ पर्यटकलाई घुमाउन सजिलो भएको छ,’ श्रेष्ठले भने ‘नेपालगन्ज आएका पर्यटकलाई घुमाउने र एक÷दुई दिनसम्म बाँकेमै रोक्ने ठाउँ निकुञ्ज बन्यो।’ 

कुनै समयमा पर्यटकको ट्रान्जिट प्वाइन्टका रूपमा मात्रै चिनिने नेपालगन्जमा बाँके निकुञ्ज पनि घुम्नका लागि पर्यटकीय गन्तव्य बनेपछि  पर्यटकलाई घुमाउन सजिलो भएको उनले बताए। पाटे बाघ लगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्नका लागि बाँके राष्ट्रिय निकुञ्ज उपयुक्त पर्यटकीय गन्तव्य भएको श्रेष्ठ बताउँछन्। 

प्रकाशित: २३ पुस २०८० ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App