५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

परराष्ट्रमन्त्री स्तरीय संयुक्त बैठकमा नयाँ एयर रुटको प्रस्ताव राख्दै नेपाल

भोलिदेखि काठमाडौँमा सुरु हुने नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त बैठकमा नागरिक उड्डयन मन्त्रालयले तेस्रो देशको एयरलाइन्सहरूका लागि भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै नेपाल प्रवेश गर्न नयाँ एयर रुटको लागि प्रस्ताव राख्ने भएको छ।

उच्च स्रोतका अनुसार मन्त्रालयले यो बाहेक भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि टेक्निकल कोर्डिनेशन टिमको बैठकको मिति निर्धारणको प्रस्ताव पनि राख्ने भएको छ ।

यसैगरी मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न सहरहरूमा सीधा उडानको लागि अनुमतिको प्रस्ताव पनि तयार गरेको छ। 

बुद्ध एयरलाई भारतको अन्य सहरहरू पटना, लखनऊ, गया, देहरादूनसँग पनि सीधा हवाई उडान अनुमतिका लागि भारतसँग अनुरोध गरिनेछ।

यसैगरी हिमालयन एयरलाइन्सलाई पनि भारतमा उडान अनुमति दिनको लागि आग्रह गरिने जनाइएको छ। नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्ली सहित अन्य सहरहरूमा उडानको अनुमति लिने प्रस्ताव पनि तयार गरिएको छ।

भारतीय विदेश मन्त्री एस जयशंकर भने भोलि बिहान नेपाल आउँदैछन्। उनीसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउँदै छन्।

भारतीय वायुसेनाको विशेष विमानबाट विदेश मन्त्री जयशंकर सहितको टोली भोलि बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन्।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम  छ। परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट सँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्।

राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रि भोजमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट हुनेछ।

प्रकाशित: १८ पुस २०८० ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App