४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ठप्प छ क्षेत्रीय विमानस्थल विस्तार योजना

फाइल तस्बिर :नागरिक

धनगढीको गेटा विमानस्थल विस्तार योजना अघि बढ्न सकेको छैन। विसं २०७८ मा नेपाल नागरिक उड्डययन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो।

दुई वर्षअघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो।  

धनगढीको गेटालाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न दुई सय ५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावन मार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने योजना बनाइएको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए। उनका अनुसार हालसम्म विमानस्थल विस्तारको कुनै काम अगाडि बढेको छैन।

विमानस्थल प्रमुख सिंहले सरकारले चालु आर्थिक वर्षमा गेटा विमानस्थल विस्तार गर्न बजेट विनियोजन नगरेको जानकारी दिए। उनका अनुसार तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगर अध्यक्ष रहेको उड्डयायन प्राधिकरण बोर्डले विसं २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो।  

दुई वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयवासीको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भए पनि बजेटको सुनिश्चितता नहँदा जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ।

‘विमानस्थल विस्तारको काम अगाडि बढाउन जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ। मुआब्जा दिन नसक्दा सबै काम स्थगन गरिएको छ’, विमानस्थल प्रमुख सिंहले बताए। उनका अनुसार विसं २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ कन्सलटेन्सीले जग्गा नापजाँचको काम गरेको थियो।

करिब ४५ मिटर चौडाइको दुई हजार पाँच सय ५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्यांगर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन, उद्धार तथा चक्रपथसहितका पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ। –रासस

प्रकाशित: १५ पुस २०८० ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App