१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

मानवीय विकास प्राथमिकतामा

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वाधारसँगै मानवीय विकास प्राथमिकतामा रहेको बताएका छन्। सरकारले सडक निर्माण लगायतका भौतिक पूर्वाधारमा मात्र ध्यान दिएकोमा आफूले मानवीय विकासमा पनि ध्यान दिएको कार्कीले बताए।

‘दक्ष र स्वस्थ जनशक्ति तयार भएन भने समृद्धि आउन सक्दैन,’ कार्कीले शनिवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा भने, ‘सामाजिक सुरक्षासहित मानवीय विकासलाई प्राथमिकतमा राखेका छौं।’

१० वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार त्यसको उदाहरण भएको उनले बताए। महिला स्वयंसेविकालाई प्रोत्साहन, विद्यार्थीका लागि मेडिकल, इन्जिनियरिङ लगायतका क्षेत्रमा छात्रवृत्ति पनि उपलब्ध गराएको बताए।

संघीय सरकारले संविधानको कार्यान्वयन गर्ने गरी कानुन नबनाउँदा विकासका काम अघि बढाउन कठिन भएको उनको तर्क छ। मुख्यमन्त्री कार्कीले संघीय सांसदहरू (प्रतिनिधि सभा सदस्य) को भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन्। कार्कीले संघीय सांसदहरू भाइरल हुने रोगले ग्रसित रहेको आरोप लगाए।

संविधान कार्यान्वयनका लागि संघीय संसद्ले कानुन बनाएर सहयोग नगरेको टिप्पणी गरे। ‘संघीय सांसदहरू कानुन बनाउनभन्दा भाइरल हुने रोगले ग्रसित भए,’ कार्कीले भने, ‘रोगको उपचार गर्नुपर्ने आवश्यकता छ।’

संघीय सरकारले कानुन बनाए प्रदेश सरकार रिजल्ट दिन तयार रहेको उनले बताए। ‘कानुन बनाउने संघीय संसद्को भूमिका पूरा नगरेपछि संघर्ष सुरु भएको छ,’ कार्कीले भने।

संविधानलाई कार्यान्वयन गर्ने गरी संघीय संसद्ले कानुन बनाउन आलटाल गरेको मुख्यमन्त्री कार्कीले बताए।

प्रहरी समायोजन, कृषिका साझा अधिकार लगायतका विषयमा कानुनको अभावमा अस्पष्टता रहेको उनको दाबी छ। जनशक्ति कम भएकाले प्रदेश सरकारले सेवा प्रभावकारी बनाउन नसकेको उनले बताए। ‘आधा कर्मचारीले कसरी काम गर्ने,’ कार्कीले भने।

प्रकाशित: १५ पुस २०८० ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App