२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पाँच महिनामा रारा पुगे ६ हजार पर्यटक

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनाको अवधिमै ६  हजार दुई सय पर्यटक पुगेका छन्। रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ देखि मंसिर मसान्तसम्म आन्तरिक पर्यटक ६ हजार ७५, सार्क मुलुकका २६ जना र अन्य विदेशी ९९ सय जना गरी पाँच महिनामा ६ हजार दुई सय पर्यटकले रारा अवलोकन गरेका छन्।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी जयहरि धितालले पाँच महिनाभित्र ६ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेको बताए। यो वर्ष रारामा पर्यटकको संख्या वृद्धि भइरहेको उनको भनाइ छ। दसैं–तिहार बिदाको मौका छोपेर आन्तरिक पर्यटक रारामा बढी आएको निकुञ्जले जनाएको छ। पाँच महिनाभित्र पर्यटकबाट करिब १८ लाख रूपैयाँ राजस्व असुली भएको कार्यालयले जनाएको छ।

गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना तथा अन्य विदेशी एक सय ८३ जना पर्यटक आएका थिए। कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमन बढ्ने देखिएको हो।

निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ। हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन्।

पर्यटन व्यवसायी भने सडक र हवाई मार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आवगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो छ। अर्कातिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधनसमेत छैनन्।

भरपर्दो सडक, सुविधासम्पन्न होटल, नहँुदा पर्यटकले बोटोमा सास्ती खेप्नुपरेको गुनोसो छ। यो चिसोको समयमा पनि रारा आउने पर्यटकको संख्या बढेको देखिन्छ। अहिले कर्णाली राजमार्ग स्तरोन्नति कार्यले पनि बाटोमा पर्यटकलाई सास्ती हुने गरेको छ। साउनदेखि हालसम्म रारा घुम्न आउने पर्यटकबाट पाँच महिनामा १८ लाख राजस्व संकलन भएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

पछिल्लो समय रारामा घुम्न घेरै आउने गरेका छन्। हिउँदको समयमा धेरै चिसो हुने भएकाले केही कम भए पनि हिउँ परेको समयमा मनोरञ्जनका लागि रारा पुग्नेको कमी भने छैन।

प्रकाशित: १३ पुस २०८० ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App