सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सडक महोत्सव सुरुवात गरियो। आधा किलोमिटर क्षेत्रभित्र गरिएको पहिलो महोत्सवले अहिले तीनकिलोमिटर भन्दा बढी क्षेत्र ओगट्छ।
बाहिरबाट झट्ट हेर्दा तीन किलोमिटर भित्र महोत्सवको रौनक देखिएपनि त्यसले आर्थिक रूपमा पार्ने प्रभाव पोखरा सहित आसपासका क्षेत्र र गाउँसम्म पनि पुगिसकेको छ।
यो महोत्सव अहिले पोखरा मात्र नभई आसपासका क्षेत्रको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सफल भएको छ। पोखराले मात्र नभई सबै खाले समूहले मेलाबाट लाभ पाउँछन्।
सन् १९९७ मा घुमघामका लागि भारतको गोवा जाँदा त्यहाँ ‘फुड एन्ड म्युजिक’ चलिरहेको थियो। पर्यटक लक्षित उक्त फेस्टिभल निकै नै आकर्षक थियो। यस्तै महोत्सव पोखरामा गर्न सके पर्यटक तान्न सकिन्छ भन्ने आशा त्यो बेला जगायो।
नेपाल फिरेलगत्तै पोखरा घुम्न आएका तत्कालीन राजा वीरेन्द्र्रसँग संयोगले भेट भयो। वीरेन्द्रले जाडोयाममा पोखरामा पर्यटक नदेख्दा चिन्ता व्यक्त गरे। अनि पर्यटक आकर्षण गर्न सकिने केही कार्यक्रम गर्न सुझाए।
पोखरामा पर्यटक नदेख्दा चिन्तित राजाले पाहुना भिœयाउन आकर्षक कार्यक्रम चाहिने सुझाएपछि महोत्सवको खाका कोरियो। राजा वीरेन्द्र कसरी ब्यापार गर्नुपर्छ भन्नेमा चिन्तित थिए।
वीरेन्द्रले नभनेको भए सायद यो महोत्सव आयोजना नहुन पनि सक्थ्यो। राजा वीरेन्द्रको चाँसो र गोवाको देखाइले पोखरामा यो बेला पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने सोँचाई पलाएको हो।
पर्यटनमा यो बेला अफसिजन हो। अफसिजनमा यहाँ अहिले पनि पाहुना कम हुन्छन, त्यो बेला त झनै कम थिए। चिसोका कारण उच्च हिमाली भेगको पदयात्रामा गएका पाहुना तल झरिसकेका हुन्छन्। त्यसैले पर्यटकीय गतिविधि यतिबेला कम हुनु स्वभाविक हो।
पोखरामा पर्यटकीय गतिविधि नहुँदा नेपालमा रहेका विदेशी पाहुना क्रिसमस र न्इ इयर मनाउन स्वदेश फर्किने गर्दथे। यतिसम्मकी कुटनीतिक निकायका पाहुना समेत स्वदेश फर्किन्थे। त्यो बेलासम्म पोखरामा क्रिसमस र न्यु इयर निकै नै सुनसान हुन्थ्यो। स्वदेशी पाहुना त देख्नै मुस्किल थियो।
आकर्षक कार्यक्रम गर्न सके क्रिसमस र न्यु इयर मनाउन स्वदेश फर्कने विदेशीलाई पोखरामै रोक्न सकिने देखेर त्यो बेला महोत्सव गर्ने कदम चालेका हौ।
पर्यटकीय गतिविधि बढाउन सके पर्यटक आउँछन् भन्ने सोच पलायो र अग्रसर भएका हौं। आएका पर्यटक पनि फर्कने भएकाले उनीहरूलाई पोखरामै रोक्नु हाम्रो आवश्यकता थियो। अहिले केही हदसम्म पूरा भएको छ।
सुरुवाती चरणमा मेला आयोजना गर्दा नेपालमा उत्पादित ह्याण्डिक्राफ्टका सामान पोखरा ल्याएर बिक्री गर्न दिएका थियौं। पोखराको मेला घुम्न आएका कुटनीतिक निकायका पाहुना र अरू स्थानीयले ती सामान खरिद गर्दथे।
माटोका भाडा, चकटी, ढाकाका सामान त्यो बेला निकै नै बिक्री हुन्थे। मेलाकै कारण घरेलु ती उत्पादनले स्वदेश र बिदेससम्म पनि बजारीकरणको मौका पाएका थिए। आफ्नो उत्पादनलाई बजारीकरण गर्ने मौका त्यो बेला दिएका थियौं।
रमाइलोभन्दा पनि त्यो बेला ‘स्ट्रिट एक्स्पो’ को रूपमा घरायसी उत्पादनलाई बिक्री गर्ने थलो पनि यही मेला थियो। किनकी त्यो बेला स्वदेशी उत्पादनलाई बजारीकरण गर्नेगरि मेलालाई सदूपयोग गरेका थियौ।
विभिन्न ठाउँको संस्कृति, उत्पादन, खानपिन र रहनसहन सडकमा देखाउन सकियो भन्ने यसले लाभ दिलाउँछ भनेर महोत्सव सुरु भएको हो। अहिले पनि त्यही चलन नियमित छ। यो मेलाको महत्व भनेकै खाना, संस्कृति र म्यूजिकलाई एकैठाउँमा पस्किनु हो।
अहिले यो महोत्सव पोखराको मात्र नभई समग्र नेपालीको बनेको छ। पोखरा लेकसाइडमा आयोजना मात्र गरेका हौ। अहलिे यहाँ आएका पाहुना लेकसाइड मात्र नबसी आसपासका क्षेत्रमा पनि जान्छन्। यसको लाभ सबैले लिएका छन्।
सुरुको वर्ष निकै नै सीमित व्यवसायीले सडकमा रेस्टुरेन्ट सारेका थिए। तर, अहिले सयौं रेस्टुरेन्ट सडकमा उत्रिन्छन्। अहिले निकै ठूलो आर्थिक कारोबार गर्ने थलो सडक महोत्सव बन्दै गएको छ।
महोत्सवबाट पर्यटन क्षेत्रका व्यवसायीले मात्र कमाइ नगरि गाउँका किसानसम्म पनि यसको सम्बन्ध जोडिएको छ। किसानले उत्पादन गरेको तरकारीले महोत्सवमा बजार पाउँछ, कुखुरापालक किसानले पालेको कुखुराले यही बेला भाउ पाउँछ। महोत्सवको आर्थिक सम्बन्ध कुनै न कुनै रूपले गाउँगाउँसम्म जोडिएको छ।
अहिले महोत्सव प्रायोजकबाटै वर्षेनी लाखौं रूपैयाँ कमाइ हुन थालेको छ। पछिल्लो समय पोखरामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि यहाँका व्यवसायीले नेपालकै विभिन्न क्षेत्रमा पुगेर प्रवद्र्धनात्मक अभियान पनि सञ्चालन गरिरहेका छन्।
सडक महोत्सव सुरु हुनुअघि यहाँका व्यवसायी विदेश घुम्न जाने गरेकोमा आन्तरिक पाहुनाको आगमन बढ्न थालेपछि व्यवसायी पोखरामै बसेर आफ्नो व्यवसाय धान्न समेत थालेका छन्।
(अग्रज पर्यटन व्यवसायी भट्टराईसँग सन्तोष पोखरेलले गरेको कुराकानी)
प्रकाशित: १२ पुस २०८० ०२:३८ बिहीबार




-600x400.jpg)
