१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुली काट्यो

नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुलीको लाइन काटेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत्को बक्यौता नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुलीको लाइन आज  बेलुकीपख काटेको हो।

प्राधिकरणको परासी वितरण केन्द्रले बेलुका ७ बजेको समयमा दुवै उद्योगको लाइन काटेको हो। प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टको बक्यौता ८३ करोड रुपैयाँ र लक्ष्मी स्टिलको बक्यौता ६२ करोड रुपैयाँ रहेको छ। प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको बिजुली गत शुक्रवारदेखि धमाधम काट्दै आइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर विद्युत्को बक्यौता नतिर्ने उद्योगको लाइन काट्नको लागि ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय तथा प्राधिकरणलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशन आएसँगै प्राधिकरणले शुक्रवार मात्रै चार ठुला उद्योगको बिजुलीको लाइन काटिदिएको थियो।  प्राधिकरणका अनुसार शुक्रवार जगदम्बा स्टिल,रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको बिजुलीको लाइन काटिएको हो। प्राधिकरणका अनुसार जगदम्बाले ४ अर्ब १४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

त्यसैगरी रिलायन्सले एक अर्ब ९४ करोड रुपैयाँ बक्यौता रहेको छ। घोराही सिमेन्ट उद्योगको पनि एक अर्ब ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ। अर्घाखाँची सिमेन्टको पनि बक्यौता एक अर्ब ३० करोड रुपैयाँ रहेको छ। प्राधिकरणले बक्यौता नतिर्ने अन्य उद्योगको लाइन पनि काट्दै जाने जनाएको छ। ६१ वटा उद्योगले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरे बापतको करिब २० अर्ब बक्यौता तिर्न बाँकी छ। त्यसको ब्याज र जरिवानामा पनि करिब ५ अर्ब रुपैयाँ थपिएको प्राधिकरणको दाबी छ।

प्रकाशित: ८ पुस २०८० १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App