२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मौद्रिक नीतिपछि साताभरिमा समग्रमा १४१ अङ्कले बढ्यो सेयर बजार

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको त्रैमासिकमा ल्याएको लचिलो खालको मौद्रिक नीतिकै कारणले साताभरिमा समग्र  सेयरबजार मापन गर्ने नेप्सेपरिसूक १४१.८१ अङ्कले बढेको छ।

साताको पहिलो कारोबार दिन १११.२० अङ्कले बढेको नेप्से परिसूचक साताको अन्य तीन कारोबार दिन पनि बढ्यो। तर, साताको दोस्रो कारोबार दिन सोमबार भने १५.४० अङ्कले घटेको थियो। साताको तेस्रो कारोबार दिन मंगलबार पनि ३६.८६ अङ्कले बढेको थियो भने। बुधबार र बिहीबार भने नेप्से परिसूचक झिनो अङ्कले मात्रै बढ्यो।

साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से परिसूचक ६.५५ अङ्कले बढेर १९९४.६०  विन्दुमा पुगेको छ। बिहीबार दिनभरजसो उतारचढाव भइरहेको नेप्से परिसूचक कारोबार बन्द हुने बेला भने बढ्यो। बिहीबार १४१ कम्पनीको सेयर बढ्यो भने ९१ कम्पनीको सेयर घट्यो।

१० कम्पनीको सेयर स्थिर रह्यो। बिहीबार ९६ लाख ३७ हजार ४ सय ५५ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १५ करोड १६ लाख ३५ हजार ७ सय ५० रुपैयाँको सेयर किनबेच भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेका तीन वटै सूचक बढ्यो। सेन्सेटिभ सूचक १.०६ अङ्कले बढ्यो भने फ्लोट सूचक ०.३६ अङ्कले बढ्यो। त्यसैगरी सेन्सेटिभफ्लोट सूचक ०.३७ अङ्कले बढेको छ।

नेप्सेका १३ उपसूचकमध्ये बिहीबार ८ उपसूचक बढ्यो भने ५ उपसूचक घट्यो। बिहीबार १० प्रतिशत भन्दा धेरै सेयर बढ्ने कम्पनीमा चार वटा कम्पनी रह्यो। बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर  र नेपाल रिपब्लिक मिडिया कम्पनीको सेयर १० प्रतिशतको दरले बढेको छ। त्यसैगरी बिहीबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा गुराँस लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ४.९८ प्रतिशतले घट्यो। त्यसैगरी मानुषी लघुवित्त कम्पनीको सेयर पनि ४.७८ प्रतिशत र सिवाईसी लघुवित्त कम्पनीको सेयर पनि ४.०४ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से १११.२० अङ्कले बढेर उछाल आएको थियो। सो दिन नेप्से १११.२० अङ्कले बढेर १९६३.९८ विन्दुमा पुगेको थियो। आइतबार १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ रुपैयाँको सेयर कारोबार भयो।

आइतबार २२७ कम्पनीको सेयर बढ्यो भने दुई कम्पनीको सेयर घट्यो। एक कम्पनीको सेयर स्थिर रह्यो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा उतारचढाव हुँदै १५.४० अङ्कले करेक्सन भएर १९४८.५७ विन्दुमा झरेको छ। सो दिन एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

कारोबार रकमको आधारमा भने सोमबार उच्च रकमको सेयर कारोबार भयो। आइतबार भने ४८ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। सोमबार १५७ कम्पनीको सेयर घट्यो भने ८१ कम्पनीको सेयर बढेको थियो। तीन कम्पनीको सेयर स्थिर रह्यो। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से ३६.८६ अङ्कले बढेको छ  सो दिन नेप्से ३६.८६ अङ्कले बढेर १९८५.४४ विन्दुमा पुगेको हो।  मंगलबार २१४ कम्पनीको सेयर बढ्यो भने २४ कम्पनीको घटेको छ। चार कम्पनीको स्थिर रहयो। मंगलबार एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँको सेयर किनबेच भयो। साताको चौथो कारोबार दिन नेप्से परिसूचक २.६० अङ्कले बढेर १९८८.०४ विन्दुमा पुगेको थियो। सो दिन १३५ कम्पनीको सेयर बढ्यो भने ९९ कम्पनीको सेयर घट्यो। ७ कम्पनीको सेयर स्थिर रह्यो। एक करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार ५ सय ७० रुपैयाँको सेयर कारोबार भयो।

प्रकाशित: २८ मंसिर २०८० १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App