१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

महिला उद्यमीसँगको सम्झौता पाँचखाल नगरपालिकाद्वारा उलंघन

एक अर्ब लागतको महिला पार्क निर्माण विवादमा

महिला उद्यमी हरित औद्योगिक पार्क निर्माण गर्न २०७६ भदौ २० गते पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ बीच भएको सम्झौता सार्वजनिक गर्दै । फाइल तस्बिर सौजन्य: पाँचखाल नगरपालिका

महिलाको उद्यमशीलता विकास, उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै महिलालाई रोजगारी सिर्जना गर्न काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको महिला उद्यमी हरित औद्योगिक पार्क विवादमा परेको छ। सरकारले घोषणा गरेको औद्योगिक विकास ग्राम कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखालमा करिब एक अर्ब रूपैयाँको लगानीमा मुलुकमै पहिलो महिला औद्योगिक पार्कको शिलान्याससँगै विवाद भएको छ।

पार्क निर्माण गर्न २०७६ फागुन २० गते पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ (एफविन) बीच सम्झौता भएको थियो। सरकारको आर्थिक सहयोगमा महिला विकास मञ्च र महिला उद्यमी महासंघको सहकार्यमा अघि बढाउने सम्झौता भएको भए पनि राजनीतिक प्रभावमा पारेर एफविनको सहभागिता बिना नै पार्कको शिलान्यास गरेपछि विवाद भएको छ। पाँचखाल नगरपालिकाले एफविनसँग गरेको सम्झौता उलंघन गरेको छ।

यो पार्कको शिलान्यास बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन्। कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतको पनि उपस्थिति रहेको थियो।

महिला उद्यमीहरूको छाता संस्था एफविनको अनुरोधमा सरकारले महिला औद्योगिक पार्क निर्माण गर्ने निर्णय भएको भए पनि अहिले एफविनलाई साझेदारीमा नराखेपछि प्रश्न उठेको छ।

महिला उद्यमी तयार गर्न काम गर्दै आएको एफविनलाई राजनीतिक पहुँचको आधारमा बाहिर राखेर दक्षिण एसियाली महिला विकास मञ्चसँग साझेदारी गरेपछि एफविनले असन्तुष्टि जनाएको छ। नगरपालिकाले एफविनसँग गरेको सम्झौताको उलंघन गरेको छ। २०७६ भदौ २० गते पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र एफविनबीच सम्झौता भएको थियो।

सम्झौतालाई उलंघन गरेर महिला उद्यमीको छाता संस्था महिला उद्यमी महासंघलाई बेवास्ता गर्दै मञ्चसँगको सहकार्यमा परियोजना अघि बढाइएको हो।

स्रोतका अनुसार राजनीतिक पहुँच प्रयोग गरेर दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले एफविनलाई बाहिर राखेर पार्क निर्माण कार्य अघि बढाउन ‘लविङ’ गरेकी थिइन्।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेल मञ्चकी अध्यक्ष रिजालको बहिनी ज्वाइँ हुन्। खरेलले आफ्नो जेठी–सासुको योजनालाई साथ दिएर योजना अघि बढाएपछि विवाद भएको छ। महिलाहरूको उद्यमशीलता विकासमा सामूहिक प्रयत्न गर्नुपर्ने भए पनि रिजालले राजनीतिक पहुँच प्रयोग गरिन्।

दक्षिण एसियाली महिला विकास मञ्च क्षेत्रीय स्तरको लुज फोरम हो। एफविनले मुलुकका ६१ जिल्लामा शाखा सञ्चालन गरिरहेको छ। हजारौं महिला उद्यमी एफविनसँग आवद्ध छन्। मुलुकभर महिला उद्यमी तयार गर्न सहयोग पनि गर्दै आएको छ।

सरकारले पनि एफविनसँग नीतिगत क्षेत्रमा साझेदारी गर्दै आएको थियो। दक्षिण एसियाली महिला विकास मञ्चको जिल्लामा पहुँच नभएकाले महिलाले उत्पादन गरेका वस्तु पार्कमा आउने सम्भावना देखिँदैन।

राजनीतिक पहुँचको आधारमा महिला उद्यमीको छाता संस्थालाई बाहिर राख्दा राम्रो सन्देश नगएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए। ‘देशभरका महिला उद्यमीका साझा संस्थासँग सहकार्य र साझेदारी हुनुपर्थ्याे ,’ ती अधिकारीले भने, ‘महिला उद्यमीहरूले स्वामित्व नलिएपछि पार्क चल्न कठिन हुन्छ।’

पहुँचका आधारमा क्षेत्रीय स्तरमा मात्र सहकार्य गरेको एउटा लुज फोरमसँग मात्र सहकार्य गरेपछि महिला उद्यमीहरू असन्तुष्ट भएका छन्।

एफविनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स जस्तै सरकारसँग २० औं वर्षदेखि साझदारी गर्दै आएको छ।

यो महासंघ, घरेलु महासंघमा आवद्ध महिलाहरूको पनि छाता संस्था पनि हो। एफविनमा देशभरका करिब ५० हजार महिला उद्यमीहरू आवद्ध रहेका छन्।

महिला उद्यमीका लागि पार्क बनाउनु सकारात्मक भए पनि महिला उद्यमीहरूको छाता संस्थालाई नै बाहिर राख्नु दुखद भएको एफविनकी अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

‘हाम्रै आग्रहमा सरकारले पार्क निर्माण गर्ने योजना अघि बढ्यो,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘एफविनसँग अहिले साझेदारी नहुँदा आश्चार्यमा परेका छौं।’

महिला उद्यमीको आर्थिक सशक्तिकरणमा काम गर्दै आएको ज्ञवालीले बताइन्। ‘हामी सरकारसँग सहकार्य गरेर पार्क निर्माणलाई सफल बनाउन चाहन्छौं,’ उनले भनिन्, ‘साझेदारी गर्ने वातावरण बनाउनुपर्‍यो।’

पाँचखालमा एक सय ५७ रोपनी क्षेत्रफलमा महिला हरित औद्योगिक पार्क स्थापना गर्न लागेको हो। यसका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ भने सरकारले बजेट विनियोजन गरेको छ। सरोकारवालासँग समन्वय नगरी पार्क निर्माण कार्य अघि बढेकाले महिला उद्यमीहरूबीच असन्तुष्टि बढेको छ।

सरकारको नीतिगत साझेदार भएकाले पार्कमा महासंघको साझेदारी हुनुपर्ने एफविनकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठले बताइन्। ‘महिला उद्योग ग्राम बन्नु खुसीको विषय हो, श्रेष्ठले भनिन्, ‘त्यसमा एफविनको पनि साझेदारी हुनुपर्छ।’

सरकारले आफ्नै नीतिगत साझेदारलाई बेवास्ता गर्न नहुने उनको तर्क छ।  

एफविनकी उपाध्यक्ष बासन्ती प्रधानले सबै महिला उद्यमीको अपनत्व हुने गरी पार्क निर्माण अघि बढाउनु पर्ने बताइन्। ‘महिलाको उद्यमशीलता विकास गर्न काम गर्दै आएका छौं,’ प्रधानले भनिन्, ‘सरकारसँग सहकार्य र साझेदारीको अपेक्षा गरेका छौं।’

महिलाहरूको उद्यमशीलता विकास गर्न कै लागि औद्योगिक ग्राम निर्माण गर्न लागिएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बताए। दक्षिण एसियाली महिला विकास मञ्चसँग सम्झौता गरेर काम अघि बढेकाले अरूलाई नचिन्ने खरेलको तर्क छ।

‘जुन संस्थासँग नगरपालिकाले सम्झौता गरेको हो त्यही संस्थासँग नगरपालिकाले सहकार्य गर्छ,’ मेयर खरेलले भने।

प्रकाशित: २८ मंसिर २०८० ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App