१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर बेच्ने सम्झौतापछि स्वीकृति लिने प्रतिबद्धता

एनसेल–आजिएटाको अर्को चाल

सेयर खरिदबिक्रीबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला एनसेल आजिएटाले स्वीकृतिका लागि निवेदन दिने जनाएको छ। उसले नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखेको पत्रमा दुई पक्षबीच सेयर कारोबारका लागि सम्झौता भएको स्वीकार गर्दै प्रक्रिया पूरा गर्न स्वीकृत लिने उल्लेख छ।

एनसेल आजिएटाले सेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिदबिक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच खरिदबिक्री सम्झौता सम्पन्न भएको स्वीकार गरेको छ।

एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको सेयर आजिएटाले ९५.३५ प्रतिशत कम मूल्यमा बिक्री सम्झौता गरेपछि कारोबार रहस्यमय भन्दै सरोकारवाला सरकारी निकायले चासो देखाएका छन्। प्राधिकरणसँग अनुमति नलिई दुई कम्पनीबीच खरिदबिक्री सम्झौता भएको थियो।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिईकन सेयर किनबेच भएको सार्वजनिक भएपछि प्राधिकरणले एनसेललाई यथार्थ जानकारी गराउन भन्दै पत्र लेखेको थियो। एनसेलले पठाएको जबाफमा कारोबारका लागि स्वीकृति लिने उल्लेख छ। एकातर्फ खरिदबिक्रीका लागि सम्झौता गर्नु र अर्कोतर्फ स्वीकृति लिन निवेदन दिने पत्र प्राधिकरणलाई पठाउनुले कारोबार शंकास्पद भएका देखिन्छ।

एनसेल आजिएटाले सेयर बेच्ने सम्झौता गरेपछि मात्र स्वीकृति लिने आशयको पत्र पठाएर सरकारलाई झुक्याउने प्रयास गरेको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेका छन्। सफा नियत भएको भए उसले पूर्वस्वीकृति लिएर सेयर खरिदबिक्री सम्झौता गर्न सक्थ्यो।

प्राधिकरणको अनुमतिबिना कारोबार गरेकोमा चौतर्फी विरोध भएपछि एनसेल आजिएटाले खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गर्ने जवाफ पठाएको हुनसक्ने आशंका गरिएको छ। एनसेल आजिएटाका प्रमुख कानुन तथा नियामक मामिला अधिकृत विशालमणि उपाध्यायले दूरसञ्चार प्राधिकरणलाई मंगलबार लेखेको पत्रमा नेपालको कानुन मान्ने प्रतिबद्धता जनाइएको छ। ‘एनसेल आजिएटा कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध छ,’ पत्रमा लेखिएको छ, ‘दूरसञ्चार नियमावली र विनियमावलीका प्रावधानको पूर्ण परिपालना गर्न प्रतिबद्ध छौं।’  

वार्षिक ३५ अर्ब रूपैयाँभन्दा माथिको कारोबार गरिरहेको कम्पनीको सेयर जम्मा ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री हुनु शंकास्पद भन्दै सरकारका साथै विभिन्न निकाय र संसदीय समितिले छानबिन गर्न अग्रसरता देखाएपछि आजिएटाले विवादबाट बच्न प्राधिकरणबाट स्वीकृति लिने भनेको हुनसक्ने प्राधिकरणका एक अधिकारीले बताए। ‘गलत नियत थिएन भने कानुनमा भएको व्यवस्थाअनुसार पूर्वस्वीकृति लिएर सम्झौता गर्नुपथ्र्यो,’ ती अधिकारीले भने, ‘सञ्चारमाध्यममा आएका सूचनाका आधारमा हामीले जानकारी मागेपछि स्वीकृति लिने बेहोराको पत्र उसले पठाएको हो।’

एनसेल आजिएटाले प्राधिकरणलाई पठाएको पत्रमा दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालन प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद भएको द्विपक्षीय सम्झौताका कागजात सम्बन्धित पक्षबाट संकलनको क्रममा रहेको जनाएको छ। एनसेलको आजिएटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच सेयर खरिदबिक्री सम्झौता भएको बुझिन्छ। प्राधिकरणबाट स्वीकृति लिने आशयको पत्र एनसेल आजिएटाले पठाएकाले सम्झौताको कानुनी आधार सरकारी कार्यालयबाट तयार भइसकेको छैन।  

आजिएटाले नेपालको नियामक निकायलाई जानकारी नदिई स्पेक्ट्रलाइट युके लिमिटेडलाई न्यून मूल्यमा सेयर बिक्री गरेपछि कारोबार अपारदर्शी र शंकास्पद भएको भन्दै सरकारले पनि छानबिन गर्ने जनाएको छ। सन् २०१६ मा एनसेलको सेयर किनबेचमा पनि पुँजीगत लाभकर छली भएपछि यो विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चको आदेशपछि पुँजीगत लाभकर, जरिवाना र ब्याजसहित करिब ६२ अर्ब रूपैयाँ उसले सरकारलाई तिरेको थियो।  

सेयर किनबेच रोक्न रिट

एनसेलको सेयर खरिदबिक्री रोक्न माग गर्दै अदालतमा रिट दायर भएको छ। अधिवक्ता देवबहादुर रोकायले उत्प्रेषण, परमादेश माग गर्दै बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्। रोकायले कारोबारमा संलग्न कम्पनीसहित नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतलाई विपक्षी बनाएका छन्।

प्रकाशित: २१ मंसिर २०८० ००:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App