१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

अस्थायी आवास बनाउन ३ अर्ब

फाइल तस्वीर

सरकारले भूकम्पबाट घरबारविहीन भएकाका परिवारलाई अस्थायी आवास निर्माणका लागि करिब ३ अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर १५४ जनाको ज्यान जाने गरी गएको भूकम्पबाट घर क्षति भएका परिवारको अस्थायी बसोबासको व्यवस्था मिलाउन प्रतिपरिवार ५० हजार रूपैयाँका दरले दिने गृहकार्य भएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ६० हजार परिवारलाई आवासका लागि रकम दिन लागेको हो। घर भत्किएर पालमुनि बसिरहेका परिवारको अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रूपैयाँ दिने गरी कार्यविधि तयार भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल पोखरेलले बताए। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको परामर्शमा प्राधिकरणले प्रस्ताव तयार गरेको छ। श्रेष्ठ पनि अस्थायी आवासका लागि ५० हजार दिन सहमत छन्। घर भत्किएपछि पीडित परिवार त्रिपालमुनि रात बिताइरहेका छन्।

कतिपयले त्रिपाल पनि नपाएको गुनासो गरेका छन्। सरकारले समयमा अस्थायी आवास निर्माण नगरेको भन्दै आलोचना भइरहेका बेला आवास बनाउन रकम दिने तयारी गरेको हो। आइतबार गृहमन्त्री श्रेष्ठको संयोजकत्वमा बस्ने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गर्ने तयारी रहेको छ।

‘घरबारविहीन भएकालाई अस्थायी आवास बनाउन प्रतिपरिवार दुई किस्तामा २५/२५ हजार गरी ५० हजार रूपैयाँ दिन प्रस्ताव तयार गरेका छौं,’ सिइओ पोखरेलले भने, ‘गृहमन्त्रीज्यूको अध्यक्षतामा बस्ने बैठकले निर्णय गरेपछि कार्यान्वयमा लैजान्छौं।’ जाडोयाम सुरु भएकाले करिब ६० हजार परिवारलाई अस्थायी आवास बनाउने गरी गृहकार्य गरेको प्राधिकरणले जनाएको छ। पोखरेलका अनुसार न्यूनतम ३ अर्ब रूपैयाँ लाग्ने अनुमान छ।

गृह मन्त्रालयका अनुसार कात्तिक १७ मा गएको भूकम्पमा परी २६ हजार ५२८ निजी घर पूर्ण क्षति भएका छन् भने ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ। भूकम्पले सबैभन्दा धेरै क्षति जाजरकोट र रुकुम पश्चिममा भएको छ।

मन्त्रालयका अनुसार जाजरकोटमा ९ हजार ७९४ घरमा पूर्ण क्षति, २४ हजार ७०७ घरमा आंशिक क्षति, रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण क्षति, ९ हजार ९६१ घरमा आंशिक, रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षति, सल्यानमा १२९ पूर्ण, ४१८ आंशिक, रोल्पामा २५ घर पूर्ण क्षति र ८७ घरमा आंशिक क्षति, प्युठानमा ३१, दाङमा ७, जुम्लामा ५ घरमा आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ।

त्यसैगरी करिब ४०० विद्यालयमा क्षति पुगेको छ। भूकम्पले क्षति भएका निजी घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन निर्माण गर्न ठुलो धनराशि खर्च हुने भएको छ।

भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दाङ, प्युठान लगायत जिल्लामा भत्किएका निजी घर, विद्यालय, सरकारी भवन पुनर्निर्माण गर्न ६७ अर्ब ६२ करोड रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिघर निर्माण गर्न ५ लाख, आंशिक क्षति भएका घरको पुनर्निर्माण गर्न १ लाख, विद्यालय निर्माणमा १ करोड, स्वास्थ्य संस्था निर्माणमा ३ करोड र अन्य सरकारी भवन निर्माणमा १ करोड खर्च हुने अनुमान गरिएको छ।

पशुपालनमा साढे २ करोड क्षति

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा किसानले पालेको पशुको मृत्यु तथा घाइते हुँदा किसानलाई करिब साढे २ करोड रूपैयाँको क्षति पुगेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार रुकुममा ६२२ पशुको मृत्यु र ५९२ पशु घाइते भएका छन् भने रुकुममा ३५१ पशुको मृत्यु भएको छ।

दुई जिल्लामा पशु मृत्यु तथा घाइते हुँदा किसानलाई २ करोड ५१ लाख रूपैयाँ क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता तपेन्द्रप्रसाद बोहराले जानकारी दिए। उनका अनुसार गाई, गोरु, राँगा, भैंसी, भेडा, बाख्रामा धेरै क्षति भएको छ। किसानका ७० गोठमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८० ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App