१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तिहारको रमझम, ‘लेकसाइड’मा छमछम...

चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ। अहिलेको चहलपहल तिहारसम्मै रहिरहने विश्वास पर्यटन व्यावसायीको छ।  

यहीबेला हिमाल पनि खुलेको छ। नत चिसो, न गर्मि यो बेला पोखरा घुमघामका लागि उपयुक्त समय रहेको व्यावसायीको भनाई छ। चाँडबाँड परेपनि पर्यटकीय क्षेत्र लेकसाइड सबैखाले पाहुनाको स्वागत र सत्कारमा चौबिसै घण्टा तयार रहेको उनीहरुको भनाइ छ।  

‘लामो समयदेखि लेकसाइड केही सुस्ताएको थियो, बल्ल अहिले अलिअलि चमक देखिएको छ। पाहुना आएपछि लेकसाइड चम्किहाल्छ,’ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई भन्छन, ‘यो बेला पर्यटनको मुख्य सिजन पनि हो। यही बेला आन्तरिक पाहुना आएकोले व्यावसाय टिक्ने अवस्था छ।’

पदयात्राको सिजन भएकोले यो बेला विदेशी पाहुना पदयात्रामा छन्। पदयात्रामा जाने र पदयात्रा पुरा गरेर फर्किने विदेशी पाहुना पनि उत्तिकै छन्। त्यसबाहेक भारतीय पाहुना पनि यो बेला पोखरामा पर्याप्त छन्। आन्तरिक पाहुनाको त यो बेला घुमघामको सिजन नै परेकोले पनि व्यावसायलाई सबैतिरबाट पाहुनाको साथ मिलेको भट्टराई बताउँछन्। सबैखाले पाहुनाको स्वागतार्थ पोखरा तयारी अवस्थामा रहेको उनले बताए।  

‘बरु दसैंताका कतिपय सानातिना व्यावसायीले छोटो समयका लागि व्यावसाय बन्द गर्छन। तर, तिहारमा त पटक्कै बन्द हुँदैनन। सबैतिर झकिझकाउ बनाइएको हुन्छ, तिहारले त लेकसाइड झनै चम्किन्छ,’ उनले भने, ‘बरु सिफ्ट अनुसार होटल, रेस्टुरेन्टले कर्मचारी खटाउँछन्। तर, कुनैपनि व्यावसाय बन्द हुँदैनन। पाहुनालाई सेवासुविधाको अभाव पटक्कै हुँदैन।’ 

तिहारको रोमाञ्चकता अरुबेलाको भन्दा फरक हुने उनले बताए। मौसमले पनि त्यही अनुसारको साथ दिने भएकोले पनि यतिबेला पोखरामा पाहुना घुम्न उपयुक्त रहेको उनले बताए। ‘हुन त हामीले पोखरा सबैखाले मौसमका लागि भन्छौं, तर, पोखरा घुमघामका लागि यो बेला सबैभन्दा उपयुक्त समय हो,’ उनले भने, ‘मौसम पनि उपयुक्त हुने, हिमाल हेर्न पनि पाइने, सबैतिर खुल्ने र चाँडबाँडको मौसम भएकोले पनि झनै रमाइलो हुन्छ।’

चाँडबाँडका बेला अरु सहर सुस्ताउँदै गर्दा पर्यटकीय सहर पोखरा भने चम्किन थाल्ने उनले बताए। ‘पर्यटकीय क्षेत्र भएकोले पोखरा सहरकै अरुभागमा बरु केही सुनसान होला, तर, लेकसाइड त झनै चम्किन्छ,’ उनले भने, ‘अरुतिरका ठूला सहर त चाँडबाँडमा निकै नै सुस्ताउँछन, तर, पर्यटन भने यो बेला झनै रोमाञ्चक बन्छ। पोखरा चाँडबाँडका बेला झनै रमाउँछ।’

व्यावसायीका अनुसार अहिलेको व्यावसायले व्यवासायीलाई पनि साथ दिएको छ। पहुना आएकोले अहिले सानातिना सबैखाले व्यावसायीले व्यावसाय टिकाउने अवस्था रहेको उनले बताए। ‘दसैं अघिसम्म त पोखरामा खासै पाहुना भएनन। तर, चाँडबाँडले गर्दा पोखरामा अहिलेको पाहुनाको आकारलाई राम्रै मान्नुपर्छ,’ उनले भने, ‘तिहारको रोमाञ्चकताले झनै रमाईलो हुन्छ। चारैतिर झिलिमिलि बत्ती, देउसी भैलो र पर्यटकको घुमघामले लेकसाइड गुञ्जायमान बन्छ।’

उनका अनुसार अहिलेको भीडभाड तिहारपछि सम्म पनि रहिरहन्छ। किनभने तिहारमा देउसीभैलो खेलेर संकलन गरेको पैसाले घुम्न आउने युवा पनि पर्याप्त हुन्छन। त्यसबाहेक शैक्षिक भ्रमण, सहकारीबाट पनि घुम्न आउने पर्याप्त हुने हुँदा त्यसको लाभ पोखरालाई हुने उनले बताए। ‘चाँडबाँडले दिलाएको फुर्सदमा आन्तरिक पाहुनामा घुम्ने बानि परिसकेको छ। पोखराले त्यसको लाभ पनि पाएको छ,’ उनले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि यो बेला घुमघामको उपयुक्त समय रहेको बताउँछन्। पोखराको मौसमले पनि यो बेला साथ दिँदा पर्यटनमा चलहपहल थपिएको उनले बताए। ‘चाँडबाँडले बास्तवमा पोखरालाई चमक दिलाएको छ। तिहारसम्मै पाहुनाको चहलपहल हुनेमा हामी विश्वस्त छौं,’ श्रेष्ठ भन्छन, ‘पर्यटन क्षेत्रका लागि यो बेला सिजन हो। सिजन अनुसार मौसम पनि राम्रो हुँदा यो बेला घुमघाम रोमाञ्चक बन्नेछ।’  

उनका अनुसार यो बेला आन्तरिक पाहुना छन्। विदेशीका लागि पनि उपयुक्त सिजन हो। सबैतिरको पहुँच पोखरासम्म पुग्नसक्ने भने पोखरामा अझै पाहुना बढ्ने उनको भनाई छ। ‘दसैं–तिहार जस्ता चाँडबाँड पर्यटन क्षेत्रका लागि मान्छे तान्ने माध्यम बनेका छन,’ उनले भने, ‘लामो समय सुस्ताएको पर्यटन क्षेत्र चलायमान बनाउन चाँडबाँडको भुमिका रहेको छ।’

प्रकाशित: २३ कार्तिक २०८० ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App