२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल रिपब्लिक मिडिया लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न

नेपाल रिपब्लिक मिडिया लिमिटेडको ‘तेस्रो साधारण सभा– २०८०’ शुक्रवार राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ।

साधारण सभामा नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीले प्रस्तुत गरेको कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ।

साधारण सभाले कम्पनीको वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०८०/८१ को लागि लेखा परिक्षकको नियुक्ती पनि गरेको छ। यसैगरी सर्वसाधारण शेयर धनीका तर्फबाट शेयर धनी प्रदीप मिश्रलाई सञ्चालक समितिको सदस्य पदमा निर्वाचित गरेको छ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीले मिडिया क्षेत्रमा सर्वसाधारणको लगानी भित्राउने ४० वर्ष अघि देखिको आफ्ना पिता हेमराज ज्ञवालीको चाहना पुरा भएको भन्दै खुसी व्यक्त गरे।‘मिडिया श्रेत्रमा आम सर्वसाधारणको लगानी भित्राई सक्षम समाज बनाउन कम्मर कस्ने काम आज सफल भएको छ’, उनले भने, ‘मिडिया एउटा व्यक्ति वा परिवारको होइन, यो सबै हुनुपर्छ भन्ने पिताको चाहना थियो, त्यो आज पुरा भयो।’

नेपाल रिपब्लिक मिडिया प्रालि स्थापना काल देखिनै सर्वसाधारणको लगानीकाे  योजनामा रहेको उल्लेख गर्दै त्यो योजना सफल भएको अध्यक्ष ज्ञवालीले बताए।

‘शेयर खरिद गरि दिनुभएकोमा यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भने। ज्ञवालीले सभ्य समाज निर्माणका लागि युवा शेयर धनीहरूको सुझाव र हामी पाकाको अनुभव सहयोगी हुने विश्वास व्यक्त गरे। उनले कम्पनीले भविष्यमा लाभांश दिने उल्लेख गर्दै ‘भ्रष्टाचारविरुद्ध नागरिक’ भन्ने अभियानलाई सक्रियतासाथ अघि बढाउने प्रतिवद्धता पनि जनाए।

सञ्चालक शोभा ज्ञवालीले नेपालमा पञ्चायत कालसम्म पत्रकारिता कुनै न कुनै हिसाबले मिसनसँग जोडिए पनि बहुदलीय व्यवस्था पुर्नस्थापना पछि भने मिसन पत्रकारिता अनिवार्य नभएको बताउँदै व्यवसायीक पत्रकारिता तर्फ नेपाल रिपब्लिक मिडिया लागेको धारणा व्यक्त गरिन।

यति बेला नेपाल रिपब्लिक मिडिया प्रा.ली. नेपाल रिपब्लिक मिडिया लिमिटेडमा परिणत भई आम जनताको स्वामित्वमा आएकाले हामीमा अझै दायित्व बोध भएको  छ’, उनले भनिन्, ‘यसको विकास र विस्तारमा सबैको सहयोग अपेक्षा राखेका छौँ।’

उनले रिपब्लिक मिडियालाई सहयोग गर्नु हुने पाठक, वितरक, विज्ञापन दाता साधारण शेयर धनी, सञ्चालक समिति, व्यवस्थापक, सम्पादक कर्मचारी तथा शुभचिन्तकहरूलाई धन्यवाद दिएकी थिइन्।

तेस्रो वार्षिक साधारण सभामा बोल्दै नेपाल रिपब्लिक मिडिया लिमिटेडकी  प्रमुख कार्यकारी अधिकृत सम्बृद्धि ज्ञवालीले  पत्रकारिताको उच्चतम स्तर कायम गर्न  र सञ्चार उद्योगमा नवीनता ल्याउन ‘डिजिटल पे’ सिस्टममा लैजाने कम्पनीको योजना भएकाे जानकारी दिइन्। उनले छापा माध्यमबाट १८ लाख पाठक सम्म पुगेको जानकारी दिँदै भविष्यमा डिजिटल माध्यमको उच्चतम प्रयोग गरी सबै नेपालीसम्म पुग्ने योजना भएको स्पष्ट पारिन।

कार्यकारी अधिकृत ज्ञवालीले पत्रकारिताको उच्चतम गुणस्तर कायम गर्ने, प्रत्येक चरणमा उत्कृष्ट विकासका लागि प्रविधिको आत्मसाथ गर्दै जाने र चुस्त, दुरुस्त र दक्ष रुपमा कार्यसम्पादन गर्दै जाने कम्पनीको दीर्घकालीन योजना रहेको बताइन्।

साधारण सभामा उपस्थित शेयर धनी सत्रुघन श्रेष्ठले मिडिया क्षेत्रको सेयर पहिलो पटक जनताको स्वामित्वमा लगेको उल्लेख गर्दै नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई धन्यवाद दिएका थिए। उनले भने, ‘यो ऐतिहासिक कदमका लागि नेपाल रिपब्लिक मिडियालाई धन्यवाद दिन चाहन्छु।’

श्रेष्ठले नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक स्वर्गीय हेमराज ज्ञवालीले २०४६ साल पछि मिडिया श्रेत्रबाट नेपाली समाजलाई पुर्‍याएको योगदानको चर्चा  पनि गरे। उनले भने, ‘अबका दिनमा पनि यसको साखलाई उच्च बनाउन यहाँहरू लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

श्रेष्ठले नेपाल रिपब्लिक मिडियाले ‘न्यु योर्क टाइम्स’ जस्तो विश्व स्तरको पत्रिकासँग सहकार्य गरेर विश्वमा आफ्नो उपस्थिति जनाएको उल्लेख गर्दै भने, ‘ आगामी दिनमा यसले अझै प्रगति गरोस् भन्ने शुभकामना छ।’

अर्का साधारण शेयर धनी डमरू बल्लभ गैरेले कम्पनीले सर्बसाधारणलाई शेयर हस्तान्तरण गरि ऐतिहासिक कामको सुरुवात गरेको उल्लेख गरे। उनले कम्पनीलाई विशेष धन्यवाद दिँदै आगामी वर्षको लक्ष्य र योजना सहित कम्पनीलाई दियो बनाउन व्यवस्थापक र सञ्चालक समितिलाई सुझाव दिएका थिए।

अर्का शेयर धनी फरक क्षमता भएका दिपक प्रधानले कम्पनीको आगामी योजना, उत्पादन र डिजिटल माध्यमको प्रयोगबारे शेयर धनीहरूलाई जानकारी गराउन सुझाव दिएका थिए। उनले अन्य मिडिया हाउससँग मर्ज हुने नहुने बारेमा समेत जिज्ञासा राखेका थिए। साथै प्रधानले कम्पनीले भविष्यमा नाफा कमाएर साधारण शेयर धनीलाई लाभांश  वितरण गर्ने विश्वास व्यक्त गर्दै अग्रिम शुभकामना पनि दिए।

अर्की शेयर धनी निरुपमा गुप्ताले  कम्पनीले सर्वसाधारणलाई आइपीओबाट शेयर जारी गरेर ऐतिहासिक काम गरेकोमा कम्पनीका संस्थापकहरूलाई विशेष धन्यवाद दिएकी थिइन्। कम्पनीले नियमित रुपमा साधारण सभा गरी आफ्नो काम पुरा गरेकाले आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरिन। साथै उनले प्रशासनिक र व्यवस्थापकीय खर्चलाई कटौती गरी मितव्ययिता अपनाउन सुझाव दिईन।

शेयर धनी सदस्य कृष्णप्रसाद अधिकारीले गत वर्ष भन्दा यस वर्ष कम्पनीले आर्थिक सुधार गरी प्रगति गरेकामा खुसी व्यक्त गरेका थिए। वासलात तयार गर्दा नेपाली भाषालाई महत्व दिन उनेले सुझाव दिए। उनले आगामी साधारण सभामा  यस पटकको भन्दा अझ वढि परिमार्जित हुँदै राम्रो होस भन्ने कामना व्यक्त गरे।

शेयर धनी सदस्य चन्द्रनारायण श्रेष्ठले कर्पोरेट कल्चरको विकास गर्दै लैजान अनुरोध गरे। उनले अन्य मिडियाको पनि वासलात थाहा पाउन पाए तुलनात्मक रुपमा विकास गर्न हाम्रो कम्पनीलाई सहयोग मिल्ने विचार व्यक्त गरेका थिए।  

साधारण शेयर धनी अच्युत कोइराला, सुदिप श्रेष्ठ र उपेन्द्र लामिछानेले कम्पनीको प्रगतिको कामना सहितको शुभकामना व्यक्त गरे। 

यस कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्कासन गरेको थियो।

१ लाख ७४ हजार १२० कित्ता शेयर कर्मचारीहरूका लागि , २ लाख १७ हजार ६५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्कासन  गरि बिक्री वितरण भएर दोश्रो बजारमा समेत कारोबार भइसकेको छ। नेपाल रिपब्लिक मिडिया लिमिटेड सर्वसाधारणमा शेयर जारी गर्ने पहिलो मिडिया कम्पनी हो। 

प्रकाशित: ३ कार्तिक २०८० १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App