७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पाँच करोड खुद्रा नयाँ नोटको माग, रित्तै फर्किदै सेवाग्राही

विगतका वर्षको तुलनामा यसवर्ष निकै कम नयाँ खुद्रा नोट भित्रिएको छ। दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तिय संस्थामा खुद्रा नोटको अभाव देखिएको छ। 

नयाँ र खुद्रा नोट प्रयाप्त नपाइएको सर्वसाधारणले गुनासो गरेका छन्। चाडपर्वमा किनमेल गर्न बजार झर्ने सर्वसाधारणले करिब ५ करोडको हाराहारीमा नयाँ र खुद्रा नोटको माग गरेको वित्तिय संस्थाका प्रतिनिधिको भनाइ छ। नेपाल बैंक बेनी शाखाले सर्वसाधारणलाई लाइनमा राखेर नयाँ नोट वितरण गरेको छ।  

नेपाल बैंकमा राष्ट्र बैंकको नोट कोष समेत रहेको छ। नेपाल बैंकले समेत सर्वसाधारणको माग अनुसार नयाँ नोट वितरण गर्न नसकिएको जनाएको छ। सर्वसाधारण, कर्जावाला ग्राहक, सरकारी निकायका प्रतिनिधिका साथै अन्य वित्तिय संस्थालाई नेपाल बैंकले नयाँ नोट वितरण गर्ने गरेको छ। विगतका बर्षको तुलनामा ६० प्रतिशतभन्दा कम नयाँ र खुद्रा पैसा कम आएकाले माग अनुसार वितरण गर्न नसकिएको बैंकको भनाइ छ। यसबर्ष राष्ट्र बैंकबाट ५, १०, २०, ५०, १०० रुपैयाँको नयाँ नोट उपलब्ध गराएको छ।  

२० र ५० को नयाँ नोट निकै न्युन आएकाले सर्वसाधारणले सहजै प्राप्त गर्न सकेनन्। आफ्ना ग्राहकको माग अनुसार नयाँ नोट उपलब्ध गराउन नसकिएको गरिमा विकास बैंक बेनी शाखाका प्रवन्धक कमलप्रसाद ढुंगानाले बताए। उनका अनुसार २०, ५० र १ सयको नयाँ नोटको माग धेरै रहेको राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक नवराज ढुंगानाले बताए। नयाँ सहित एक पटक प्रयोग भइसकेका सुकिला नोट वितरण गरेमा खुद्रा पैसाको अभाव ठेग्न सकिने भएकाले जिल्ला बाहिरबाट समेत एकपटक प्रयोग भएको खुद्रा नोट ल्याइएको छ।  

म्याग्दीको सदरमुकाम बेनीसहित जिल्लामा सबै स्थानीय तहमा रहेका वित्तिय संस्थामा नयाँ नोटका लागि सर्वसाधारण दिनभरी लाइनम बसेका छन्। शाखा विस्तार गरेका केही निजी बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंक पोखरा र आफ्नै केन्द्रिय कार्यालयबाट समेत नयाँ नोट ल्याउने गरेका छन्। 

नयाँ नोट चाडपर्वपछि वित्तिय संस्थामा जम्मा हुँदा रातो टिकाले रंगिएको हुन्छ। जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेको छ। नयाँ नोट वितरणको क्रममा वित्तिय संस्थाका प्रतिनिधिले नोटलाई कच्याककुच्चुक तथा पोको नपार्ने, जमिनमा नफाल्ने,पूजा गर्दा मैलो हातले नछुने, अबिर, अक्षता, माटो, तथा पानीबाट बचाउने समेत सचेतना कार्यक्रम समेत गर्ने गरेको छ।  

प्रकाशित: ३ कार्तिक २०८० ०४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App