२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक्काइस प्रतिशतले निकासी घट्यो

सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ। आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ। गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कूल पैठारीमा १६ दशमवल एक प्रतिशतले ह्रास आएको जानकारी दिए। गत आवमा रु १६ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो। गत आवमा नेपालको कूल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ। सो आवमा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी हो।  

‘गत आवको प्रारम्भिक तथ्याङ्कअनुसार कूल व्यापारमा आठ दशमलव नौ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ’, उनले भने, ‘समीक्षा अवधिमा नेपालको कूल निकासी २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ।’

आव २०७८/७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आवमा सो अनुपात १ः१० पुगेको सचिव मरासिनीले जानकारी दिए। उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए। उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवद्र्धनका सम्बन्धमा महत्वपूर्ण निर्णय भएको उनले जानकारी दिए।  

प्रकाशित: १६ श्रावण २०८० ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App