२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बुधबार सिचुआन एयरलाइन्सको जहाज पोखरा अवतरण गर्ने

६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय उडानबाट आएको जहाज अवतरण गर्ने भएको छ। चीनको सिचुआन एयरलाइन्सले छेङदु–पोखरा चार्टर्ड उडान गर्ने तयारी गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आगामि बुधबार बिहान ९ बजेर २५ मिनेटमा सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। १५८ सिट क्षमताको एयरबस–३१९ जहाज पोखरा आउने भूलले बताए।

‘पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आएको जहाज अवतरण गर्दैछ,’ भूलले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो अन्तर्राष्ट्रिय जहाज सिचुआन एयरलाइन्स हुने भएको छ।’ यो चार्टर्ड उडान हुने उनले बताए।  

भूलका अनुसार पोखरा अवतरण गरेको जहाज सोहिदिन ११ बजे काठमाडौं जानेछ र काठमाडौंबाट सेडयूल फ्लाइट अनुसार यात्रु लिएर छेङदु पुुग्नेछ। ‘सिचुआन एयरलाइन्सले उडान स्वीकृतिका लागि पत्राचार गरेपछि प्राधिकरणले स्वीकृति दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको जहाज अवरण गर्ने तयारी छ,’ भूलले भने। जहाज ल्याउनका लागि सिचुआनका उच्च पदस्थ पदाधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाबारे जानकारी लिएका थिए। 

चिनियाँ अधिकारीहरुका अनुसार खासमा यो जहाज पोखरामा असार ८ र ९ गते हुने नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागि हुन आउने पाहुनालाई लिएर आउन थालेको हो। यो जहाजमा चीनको लिङजी नगरबाट नगर उपप्रमुख सहित ६० जनाको टोली पनि आउँदैछ। नेपालका लागि चिनियाँ दुतावासका डेपुटि चिफ अफ मिसन (डिसिएम) वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो उडान ऐतिहासिक हुने बताए।

‘अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पोखराले पहिलो पटक अन्तर्राष्ट्रिय उडानको जहाजलाई स्वागत गर्न पाउँदैछ। यो पोखराका लागि पनि ठुलो र महत्वपूर्ण अवसर हो,’ उनले भने, ‘त्यही जहाजमा चढेर चिनियाँ पाहुना पोखरा आउँदैछन्।’ पोखरामा चिनियाँ पाहुना भिœयाउनका लागि महत्वपूर्ण मानिएको यो फेस्टिभलले आगामि दिनमा थप पाहुना भिœयाउन सघाउ पुर्‍याउने उनले बताए।

पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनन्जय रेग्मीले पोखरामा जनवरी १ देखि संचालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलको नियमित संचालनका लागि पनि यो चार्टर्ड उडानले ढोका खोल्ने बताए। ‘अन्तर्राष्ट्रिय विमानस्थल संचालनका आएको ६ महिना पुग्नै लाग्दा पनि अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। यो उडानले कम्तिमा पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय उडान गरेर नियमित उडानका लागि ढोका खोल्नेछ,’ रेग्मीले भने, ‘उडानको निरन्तरता दिन सकियो भने पोखरामा थप चिनियाँ पाहुना भिœयाउन सहज हुनेछ।’

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भने नियमित भईरहेका छन्। अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनिले चाँसो देखाएको प्राधिकरणले बताउँदै आएपनि अहिलेसम्म कसैले पनि उडानका लागि अनुमति लिएका छैनन। निजी क्षेत्रका आन्तरिक हवाई कम्पनिले भने पोखरालाई आधार बनाएर अहिले विभिन्न सहरसम्म नियमित उडान गरिरहेका छन्।

प्रकाशित: २ असार २०८० ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App