३ माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

सम्झौताको १८ वर्षपछि नेपालगन्जकाे एकीकृत जाँच चौकी उद्घाटन

नेपालगन्ज नाकामा सञ्चालनमा आएको एकिकृत जाँच चौकी (आईसिपी)। तस्बिर: नागरिक

नेपालगन्ज नाकामा एकिकृत जाँच चौकी (आईसिपी) औपचारिक रुपमा सञ्चालनमा आएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट भर्चुअल माध्यमबाट उद्घाटन गरिएसँगै आईसिपी सञ्चालनमा आएको हो।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा दुई वर्षअघि आईसिपी निर्माणको काम सुरु भएको थियो। भारतले नेपाल र भारत दुबै तर्फ एकैसाथ निर्माण कार्य अगाडी बढाएकोमा हालै काम सम्पन्न भएको बताइएको छ। आईसिपी निर्माणका लागि भारतको ‘राजदिप कन्स्ट्रक्सन कम्पनी’ ले १ अर्ब ४७ करोड (भारु) मा ठेक्का पाएको थियो। सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएकोमा उक्त कम्पनीले दुई वर्षभित्रमा काम सम्पन्न गर्ने समय पाएको थियो।

नेपालगन्ज नाकामा बिहीबार नेपाल र भारतका उच्च अधिकारी, जनप्रतिनिधि, उद्योगी, ब्यवसायी लगायतको उपस्थितीमा माल बाहक सवारी साधनको आयात–निर्यात सुरु गरिएको हो।

नेपालका तर्फबाट प्रतिनिधि सभाका सांसद डा. धवल सम्शेर राणा, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, सुरक्षा निकायका प्रमुख लगायतले दुबै देशको झण्डा देखाएर जुडिबुटी ढुवानी गरेको ट्रकलाई भारततर्फ पठाएका थिए।

यस्तै भारतका तर्फबाट पनि बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम) मोनिका रानी, प्रहरी प्रमुख (एसपी) प्रशान्त वर्मा लगायतले दुबै देशको झण्डा देखाएर पेट्रोलियम र एलपी ग्याँस बोकेको ट्यांकर तथा प्लाईउड बोकेका ट्रकलाई नेपालतर्फ पठाए।

ठेकेदार कम्पनीका कार्यकारी निर्देशक अभिजित डाढीवालले आईसिपी निर्माणका क्रममा उच्च गुणस्तरिय सामान प्रयोग गरिएको बताए। आईसिपी निर्माण गर्नका लागि नेपाल सरकारले ८७ विघा जग्गा अधिग्रहण गरेर राखेको थियो। उक्त जमिनमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्यारेक, कर्मचारी आवास गृह लगायत भौतिक संरचना निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक डाढीवालले जानकारी दिए।

सम्झौताको १८ वर्षपछि सञ्चालन

नेपाल र भारत सरकारबीच सम्झौता भएको १८ वर्षपछि नेपालगन्ज नाकामा एकिकृत भन्सार जाँच चौकी (आईसिपी) सञ्चालनमा आएको छ। भारत सरकारले सन् २००५ मा नेपालको बिराटनगर, बीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आईसिपी निर्माण गरिदिने सहमती जनाएको थियो। 

बिराटनगर र बीरगन्जमा यसअघि नै निर्माण गरी भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। पश्चिम तराईको प्रमुख मानिने नेपालगन्ज नाकामा ढिलै भएपनि आईसिपी सञ्चालनमा आएर राहत मिलेको यहाँका उद्योगी, ब्यवसायी बताउँछन्।

आईसिपी सञ्चालनमा आईसकेपछि सबै सेवा सुबिधा एकै ठाउँमा प्राप्त गर्न पाउने हुँदा धेरै राहत हुने उद्योगी, ब्यवसायीको विश्वास छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आईसिपी सञ्चालनमा आउँदा सामान निकासी र पैठारी गर्न अब धेरै सहज हुने बताए।

 

‘आईसिपी औपचारिक रुपमा उद्घाटन भईसकेको छ, अब निकासी र पैठारी गर्नका लागि सबै कार्यालयहरु एकै ठाउँमा हुन्छन्, उद्योगी, ब्यवसायीलाई धेरै राहत हुन्छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका मन्सुरीले भने।

आईसिपीको नेपालतर्फ केही पुर्वाधार बनाउनुपर्ने बाँकी रहेकाले त्यो पनि चाडै पुरा हुने उनको विश्वास छ। आईसिपी समयमा निर्माण हुनुपर्छ भनेर संघले पहिलेदेखी आवाज उठाउँदै आएको मन्सुरीले स्मरण गरे।

आईसिपी नहुँदा यसअघि भन्सार जाँचपास गराउने ट्रक, ट्यांकर तथा कन्टेनर मुख्य सडकमै रोक्नु परेको थियो। माल सामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक रुपमा सयौंको संख्यामा ट्रक, ट्यांकर तथा कन्टेनर आवत–जागत गर्छन्।

आईसिपी निर्माण गर्न नेपाल सरकारले २०६७ सालमा जयसपुरमा जग्गा अधिग्रहण गरेर तारबार गरेको थियो। आईसिपी निर्माणका लागि नेपाल सरकारको तर्फबाट सहजीकरण गर्ने जिम्मा सहरी विकास तथा भवन निर्माण विभागलाई दिइएको थियो। विभागका अनुसार २ हजार २ सय मिटर लम्बाई र ६० मिटर चौडाईमा आईसिपीको एप्रोज रोड निर्माण गरिएको छ।

प्रकाशित: १८ जेष्ठ २०८० १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App