१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्थिक मन्दीले पर्यटनक्षेत्रमा चिन्ता

फाइल तस्बिर

कोरोना भाइरस संक्रमणले थलिएको विश्वको पर्यटन क्षेत्र कता जाने भन्ने सर्वत्र चिन्ता छ। पोखरामा सुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्टमा पनि अबको पर्यटन कता जाने भन्नेमा सरोकारवालाबीच बहस भएको छ।  

सम्मेलनमा सहभागि विज्ञहरूका अनुसार पर्यटन क्षेत्रले आर्थिक मन्दीको गम्भीर मार खेप्नुपरेको छ। विज्ञहरूका अनुसार महँगीका कारण पर्यटकहरू घुमघाममा जान नसकेको, खर्चमा कटौती गरेको र छोटो दूरीको यात्रामा मात्र निस्कन थालेका छन्। सम्मेलनमा सहभागी पोखराका पर्यटन व्यवसायी तथा पाटा इन्टरनेसनल सदस्य टीकाराम सापकोटाका अनुसार विश्वको आर्थिक मन्दीले पर्यटनमा असर पारेको छ।

‘आर्थिक मन्दीको प्रभाव अहिले पर्यटनमा परेकाले सबैतिर चिन्ता रहेको विज्ञहरूले बताएका छन्,’विज्ञहरूको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘कोभिडपछिको पर्यटन खुम्चिँदै गएको छ। त्यसो हुनुमा आर्थिकमन्दी प्रमुख रहेको भन्ने विज्ञहरूको निष्कर्ष छ।’

उनका अनुसार पछिल्लो समय विश्वव्यापी रूपमा बैंकको ब्याजदर बढेकाले त्यसको असर पर्यटनमा परेको पनि विज्ञहरूले जानकारी दिएका छन्। ‘सबैतिर मूल्य वृद्धि भएको छ। महँगी हुँदा यात्रा कम भएको छ भन्ने विज्ञहरूको निष्कर्ष छ,’ सापकोटाले भने, ‘इन्धनको मूल्य बढ्दा हवाई भाडा बढेको गुनासो पनि विज्ञहरूले सम्मेलनमा सुनाए।’ त्यत्ति मात्र नभई पर्यटकहरू लामो दूरीको नभई छोटो दूरीमा मात्र घुमघाममा जान थालेको पनि विज्ञहरूले सम्मेलनमा बताएका छन्। ‘लामो दूरीको यात्रा कम हुन थालेको छ। पर्यटकहरू छोटो दूरी वा छिमेकी मुलुकमा मात्र घुम्न जान थालेका छन् भन्ने विज्ञहरूको भनाइ छ,’ उनले भने, ‘त्यसो हुनुमा पर्यटन क्षेत्रमा महँगीको असर हो भन्ने बुुझाइ छ।’

उनका अनुसार २०२४ को मार्च महिनासम्म पर्यटनक्षेत्र कोरोना भन्दा अघिको अवस्थामा फर्किने अनुमान पनि विज्ञहरूले सम्मेलनमा सुनाएका थिए। अहिलेसम्म ९० प्रतिशत जति मात्र रिकभर भएको भन्ने अनुमान रहेको उनले बताए। ‘कोभिडअघिको पर्यटनको अवस्थामा अहिले ९० प्रतिशत रिकभर भएको विज्ञहरूको भनाइ छ। सतप्रतिशत सुधार आउन २०२४ को मार्च कुर्नुपर्ने अवस्थाको आँकलन गरिएको छ,’ उनले भने।  

उनका अनुसार सम्मेलनमा पर्यटनका जानकारहरूले युवापुस्तामा घुमघामको चलन बढेको पनि बताएका थिए। त्यस्तै आन्तरिक पर्यटन फस्टाउँदो रहेको पनि उनीहरूको भनाइ छ। त्यत्ति मात्र नभई कोभिडले गर्दा मान्छेको घुमघामको संस्कारमा पनि परिवर्तन आएको छ। कोभिड अघि पर्यटकहरू ठूलो ठूलो समूहमा हिँड्थे तर अहिले भने व्यक्तिगत रूपमा वा सानो समूहमा हिँड्न थालेको पनि विज्ञहरूले बताएका छन्। त्यस्तै बजारीकरणमा पनि शैली परिवर्तन भएको विज्ञहरूको बुुझाइ छ। ‘डिजिटल बजारीकरण बढेको भन्ने विज्ञहरूको भनाइ छ,’ उनले भने, ‘बजारीकरणको पहिलेको शैलीमा परिवर्तन आउनुमा कोभिड कारण रहेको छ।’

चिनियाँ पर्यटकको सबैतिर महत्व रहेको पनि सम्मेलनमा चर्चा भएको छ। श्रोत ठूलो रहेकाले चिनियाँ पाहुनातिर सबैजसो मुलुकको ध्यान पुगेकोबारे पनि विज्ञहरूले सम्मेलनमा छलफल गरेका थिए। त्यसबाहेक भारत र चीनमा कसरी बजारीकरण गर्ने भन्नेबारेमा पनि सम्मेलनमा छलफल भएको सापकोटाको भनाइ छ।  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीका अनुसार सम्मेलनमा दीगो पर्यटनबारे पनि गम्भीर रूपमा छलफल भएको छ। स्थानीय श्रोत साधनलाई प्रयोग गरेमा पर्यटन दीगो बनाउन सकिने विज्ञहरूको तर्क रहेको पन्थीले जानकारी दिए। त्यसबाहेक आर्थिक मन्दिका कारण पर्यटकहरूले घुमघामको अवधि घटाउने, खर्च कटौती गर्न थालेकोबारेमा पनि विज्ञहरूले चिन्ता व्यक्त गरेको पन्थीले बताए। ‘आर्थिक मन्दी सबैतिरको चिन्ताको विषय छ। यसले पर्यटनमा पनि प्रभाव पारेको भन्ने विज्ञहरूको बुुझाइ छ,’ पन्थीले भने, ‘हामी पनि त्यही मन्दीको सिकार बनिसकेका छौं।’

पर्यटनलाई दियो बनाउन सेवा प्रदायकको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको पनि विज्ञहरूले सम्मेलनमा सुझाएका छन्।  

प्रकाशित: १८ जेष्ठ २०८० ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App