११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दुई जहाज उडाउन तीन पाइलट !

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न १७ सिट क्षमताका दुईथान चिनियाँ जहाज छन् तर तिनलाई उडाउन निगमसँग जम्मा तीन पाइलट छन्। थप अचम्म के हो भने तीन पाइलट लिएर दुइटा जहाजबाट सातामा २८ उडान गर्ने तालिका निगमले बनाएको छ। त्यसमाथि तीनमध्ये जहाज कमान्ड गर्ने क्याप्टेन एक जना मात्र छन् भने बाँकी दुई को–पाइलट हुन्।

यस हिसाबले एक दिनमा दुई जहाजबाट चार उडान हुनेछन्। एउटा जहाजले दुई उडान गर्नेछ। अब एउटा क्याप्टेन र दुई को–पाइलटले एकैचोटि चार उडान गर्ने असम्भव तालिका बनाइएको छ। एउटा जहाज उडाउन एकजना क्याप्टेन र एकजना को–पाइलट चाहिन्छ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एकथान साना जहाज उडाउन क्याप्टेन र को–पाइलट गरी पाँच जना चाहिन्छ। यसको अर्थ दुई क्याप्टेन र तीन को–पाइलट वा तीन क्याप्टेन र दुई को–पाइलट हुनुपर्छ भन्ने हो।

'तीन पाइलटबाट दुइटा जहाज उडाउने असम्भव काम गर्ने निर्णय निगमले गरेको छ', निगमकै एक वरिष्ठ पाइलटले बुधबार नागरिकसँग तीतो पोखे, 'एउटा क्याप्टेनले दुइटा जहाज सँगसँगै कसरी उडाउन सक्छ? यसको अर्थ के हो भने दुई जहाज कहिल्यै सँगै उड्न सक्दैनन् र यो थाहा हुँदाहुँदै पनि दुइटै जहाजको उडान तालिका बनाइयो।'

उका अनुसार एक मात्र क्याप्टेनले एउटा जहाज उडाएपछि अर्को जहाज उडाउन क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छ। हाल १७ सिटे चिनियाँ जहाज 'वाई१२–ई' उडाउने एक मात्र क्याप्टेन उद्धव घिमिरे हुन्। दुई को–पाइलट प्रचण्ड खड्का र राकेश काफ्ले मात्र उडानमा छन्। निगमले घिमिरेबाहेक यही जहाजका दुई वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराई र सञ्जयबादे श्रेष्ठलाई झन्डै दुई महिनादेखि उडान गर्न नदिई 'ग्राउन्डेड' गरेको छ। अर्का क्याप्टेन अनिशमान शाक्य पनि ४५ दिनदेखि उडानमा संलग्न छैनन्।

निगमले वाई१२–ई जहाजका लागि चार क्याप्टेन र ६ को–पाइलट रहेको जनाएको छ। तर, दुई क्याप्टेन ग्राउन्डेड र एक उडानमा फर्किएका छैनन् भने बाँकी चार को–पाइलट श्रृजना रावत, लिबर्टी भण्डारी, विजय अवाले र रविन केसीले दुई वर्षदेखि जहाज उडाउन पाएका छैनन्।

'निगमसँग वाई१२–ई जहाजको प्रशिक्षक पाइलट (आइपी) नहुँदा ती चारजना को–पाइलटलाई उडानमा फर्काउन सकिएको छैन,' सम्बद्ध स्रोतले भन्यो, 'त्यही भएर उनीहरूलाई मासिक ४५ घन्टा 'ग्यारेन्टी आवर' भत्ता दिएर घरमै थन्क्याइएको छ।'

दुई वाई१२–ईमध्ये पुरानो एउटा चार दिनदेखि पोखरामा ग्राउन्डेड छ भने हालै ल्याइएको नयाँलाई पाइलट अभावकै कारण उडाउन सकिएको छैन। 'नयाँ पाइलट भर्ना गर्न लागेका छौं, त्यताबाट व्यवस्था हुने छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले भने, 'चिनियाँ जहाज निर्मातालाई पनि पाइलट उपलब्ध गराउन आग्रह गरेका छौं।'

स्रोतका अनुसार निगमको उडान सञ्चालन विभागले पछिल्लोपटक दुई साताअघि वरिष्ठ क्याप्टेन भट्टराई र श्रेष्ठलाई 'अर्को सूचना नआएसम्म उडानबाट हटाइएको र ४५ घन्टा ग्यारेन्टी आवर नदिने निर्णय गरिएको' भन्दै पत्र थमाएको थियो।

भट्टराईलाई दुई महिनाअघि 'आफूभन्दा माथिका पदाधिकारीलाई अभद्र व्यवहार गरी पदअनुसार आचरण पालना नगरेको' भन्दै स्पष्टीकरण सोधिएको थियो। त्यसबारे जवाफ दिएका उनलाई एक महिनापछि पुनः विभागले 'वाई१२–ई जहाज उडान नगर्न अरू पाइलटलाई उचाली प्रपञ्च रचेको' भन्दै सात दिनभित्र चित्तबुझ्दो लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिइएको थियो।

यसबारे निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले संस्थाको नीति–नियम उल्लंघन गरेका कारण क्याप्टेन भट्टराईलाई कारबाही गरिएको बताए। 'क्याप्टेन भट्टराईलाई अनुशासनको कारबाही गरिएको हो,' उनले भने, 'जहाज उडाउने विषयमा हेल्चेक्र्याइँ गरेको तथा विभागीय प्रमुखमाथि अनुशासनहीन व्यवहार गरेपछि निलम्बन गरेका हौं।'

चिनियाँ जहाज उडाउन पाइलटको खडेरी परेका बेला व्यवस्थापनले क्याप्टेन भट्टराई र अर्का क्याप्टेन सञ्जयबादे श्रेष्ठलाई अनुचित आरोप लगाएर निलम्बन गरेको सम्बद्ध स्रोतले दाबी गरेको छ।

उड्डयन प्राधिकरणले हालै ल्याइएको नयाँ वाई१२–ई जहाजलाई '९एन–एकेटी' कलसाइन दिएको छ भने पुरानोको कलसाइन '९एन–एकेएस' हो। नयाँबाट सातामा १५ र पुरानोबाट सातामा १३ उडान गर्ने तालिका बनाइएको छ। दुइटा जहाजले काठमाडौंबाट भैरहवाका लागि चार, नेपालगन्ज सात, सिमरा तीन र पोखराका लागि सातामा १४ उडान गर्नेछन्।

प्रकाशित: १९ फाल्गुन २०७३ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App