२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापन पत्र बुझाउँदै नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देल। तस्बिर: नागरिक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बाँकेका पर्यटनकर्मीले ज्ञापन पत्र बुझाएका छन्। पर्यटनकर्मीको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको अगुवाईमा बिहीबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ति उपत्यका (देउखुरी) मा ज्ञापन पत्र बुझाइएको हो। नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले चौधरीलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापन पत्रमा द्वन्द्वकालदेखि हालसम्म ट्राभल एजेन्सीहरु, होटल तथा रिसोर्टहरु नविकरण नहुनसकेकाले न्युनतम शुल्क लिई एउटै मापदण्ड कायम गरी नवीकरण गरिनुपर्ने, नेपालगन्ज–दिल्ली हवाई उडान सञ्चालन सम्बन्धमा हाल भइरहेको कारबाहीलाई केन्द्रिय सरकारसँग समन्वय गरि आवश्यक पहल गरिनुपर्ने माग गरिएको छ।

यस्तै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नेपालगन्जमा स्थापना भए पश्चात पनि बजेट अभावको कारण देखाई त्यहाँ कार्यरत कर्मचारीहरुलाई फिर्ता बोलाइएको र पुनः सञ्चालनको कुनै पहल नभएकोले त्यसतर्फ आवश्यक कारबाही गरिनुपर्ने, बैंक  ग्यारेन्टी झन्झटिलो दर्ता तथा नवीकरण प्रक्रिया सहजता ल्याउनुपर्ने, ट्राभल एजेन्टको अनुमति पत्र नलिई हवाई टिकट जारी गर्ने, कार्यालय खोली कारोबार गर्ने गराउने कार्य तत्काल रोक्नुपर्ने उल्लेख छ।

यसैगरी अनलाइन तथा वित्तीय संस्थाहरुको अबैध पर्यटकिय कारोबार बन्द गरिनुपर्ने, पर्यटन मन्त्रालयले बजेट विनियोजन गर्दा विभिन्न पर्यटन व्यवसायीका छाता संगठनहरुसँग परामर्श गरि बजेट तर्जुमा गर्ने परंपराको थालनी गर्नुपर्ने, प्रदेश अन्तर्गतका सीमा नाका, अध्यागमन, भन्सार पर्यटकमैत्री एवं नेपालगन्ज लगायत पर्यटकीय गन्तव्य भएका जिल्लामा पर्यटन प्रहरी गठन गरि परिचालन गर्नुपर्ने माग गरिएको छ।

नाट्टाले पर्यटनलाई अन्य उद्योग सरह मान्यता दिई विद्युत महसुल तथा अन्य शुल्क मिनाहा गर्नुपर्ने, जमुनाहा नाकामा हाल बन्द अवस्थामा रहेको पर्यटक सूचना केन्द्रमा आवश्यक दरबन्दी कायम गरि पुनः सञ्चालन गर्नुपर्ने, भारतीय सिमामा भारतिय इमिग्रेशन चेकपोष्टबाट सडक मार्गद्धारा विदेशी पर्यटकहरुलाई आवत÷जावत हाल सुनौली नाकाबाट मात्र दिईएको अवस्थामा नेपालगन्ज सीमा नाकाबाट पनि खुल्ला गर्न पहल गर्नुपर्ने माग गरेको महासचिव झविलाल शर्माले जानकारी दिए।

उनका अनुसार नाट्टाले पर्यटन व्यवसायीहरुको अग्रणी संस्था नाट्टा र नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिदै आएका बुद्ध इन्टर नेश्नल ट्राभल मार्ट, नेपालगन्जमा हुदै आएको वेष्टर्न ट्राभल मार्ट र प्रशिद्ध शक्तीपिठ बागेश्वरीमा प्रारम्भ गरिएको महाआरतीको स्थायित्वका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गरि अभिभावकत्व ग्रहण गर्नुपर्ने माग गरेको छ। नाट्टाकै अगुवाईमा बागेश्वरी मन्दिरमा साप्ताहिक महाआरती सुरु गरिएको थियो, भने नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुडलेन’ सञ्चालन गरिदैछ।

ज्ञापन पत्र बुझिसकेपछि मुख्यमन्त्री चौधरीले नेपालगन्जको विकासका लागि आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए। सो क्रममा नाट्टा बाँकेका महासचिव झविलाल शर्मा लगायतको उपस्थिती रहेको थियो।  

प्रकाशित: २८ वैशाख २०८० १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App