१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने

नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपि आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन।  

‘द्विदेशीय सहमतिअनुसार नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आउन लागेको हो,’तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानन्द केसीले नागरिकसँग भने। नाका दुईतर्फी सञ्चालनमा आएसँगै चीनबाट आयात मात्र हुँदै आएकोमा अबदेखि निर्यात व्यापार पनि सुरु हुने जानकारी उनले दिए।  

२०७२ वैशाख १२ को भूकम्पपछि बन्दप्रायः रहँदै आएको नाका पूर्णरूपमा सञ्चालनमा आउन लागेको भने होइन। ‘नाका भएर आयात हुँदै आएको थियो। अब निर्यात व्यापार पनि सुरु हुन लागेको मात्रै हो,’केसीले भने, ‘मानवीय आवागमन अझै खुला हुने छैन।’ नाका पूर्ववत् सञ्चालनमा ल्याउने तयारी दुबै देशको स्थानीय स्तरमा नभएको उनले खुलाए।  

गत महिना ल्हासामा नेपाल–चीनका वाणिज्य अधिकारीबीच भएको सहमतिअनुसार तातोपानीबाट दुईतर्फी व्यापार सञ्चालनमा आउन लागेको हो। सहमतिअनुसार उत्तरको अर्को महत्वपूर्ण नाका रसुवागढी दुईतर्फी सञ्चालनमा आइसकेको छ। यो नाकाबाट मानवीय आवागमनसमेत खुलाइएको छ। भूकम्पपछि लामो समय बन्द रहेका दुबै नाकाबाट पछिल्लो समय सीमित मात्रामा आयात व्यापार मात्र खुला गरिएको थियो। मानवीय आवागमन बन्द गरिएको थियो।  

भूकम्पपछि चार वर्षबन्द रहेको तातोपानी नाका २०७६ जेठ १५ देखि आंशिक सञ्चालनमा ल्याइएको थियो। आयात व्यापार थालिए पनि मानवीय आवागमनमा रोक लगाइएको थियो। नाकाबाट मानवीय आवागमन तत्काल नखुल्ने जानकारी चिनियाँ अधिकारीबाट पाएको प्रमुख भन्सार अधिकृत केसीले बताए। ‘मानवीय आवागमन खुलाउने विषयमा पछि बैठक बसेर निर्णय गरौँला भनेका छन्,’ उनले भने।  

नाका दुईतर्फी सञ्चालनमा आए पनि नेपाली मजदुर तिब्बत प्रवेश गर्न नपाउने केसीले जानकारी दिए। उनका अनुसार चिनियाँ कन्टेनरले नै चीनबाट व्यापारिक सामाग्री नेपालको सीमासम्म ल्याउने छन्। नेपालको सीमा मितेरी पुलसम्म आउने सामग्री यतैको कन्टेनरले बन्दरगाह भन्सारसम्म पुर्याउने छन्। नाका पुनः सञ्चालनमा आए यता यसरी नै आयात व्यापार हुँदै आएको छ।  

अब निर्यात व्यापार पनि यही मोडेलमा हुने प्रमुख भन्सार अधिकृत केसी बताउँछन्। पहिलो दिन सोमबार एक कन्टेनर नेपाली ह्याण्डीक्राफ्टका सामग्री चीन पठाएर नाका दुईतर्फी सञ्चालनमा ल्याउने तयारी छ। त्यसपछि निरन्तर निर्यात व्यापार गर्न नेपाली व्यवसायीलाई आग्रह गरिएको केसीले जानकारी दिए।  

दुईतर्फी व्यापार सञ्चालनमा आउने भए पनि चीनबाट नाका भएर अझै पर्याप्त सामग्री आउने सम्भावना कम छ। यसबारे चिनियाँ अधिकारीले अहिलेसम्म कुनै जानकारी नदिएको प्रमुख भन्सार अधिकृत केसी बताउँछन्। भूकम्पपछि चार वर्ष बन्द भएर खुलेको नाकाबाट आयात व्यापार बढ्न सकेको छैन। त्यसयता चीनले दैनिक ५–७ कन्टेनर सामग्री मात्र नेपाल पठाउँदै आएको छ, त्यो पनि स्याउ, लसुन लगायत कृषि सामग्री मात्र। व्यापारिक सामाग्रीको आयात भने अझै हुन सकेको छैन।  

‘मानवीय आवागमन रोकेर नाका पूर्णरूपमा सञ्चालनमा आयो भन्न मिल्दैन, आशिंक मात्रै हो,’ केसीले भने। राजधानी काठमाडौंबाट सबैभन्दा नजिक रहेको तातोपानी भूकम्पअघि उत्तरको सबैभन्दा ठूलो नाका थियो। वार्षिक २० अर्बको आयात र २ अर्बको निर्यात व्यापारबाट राज्यले वार्षिक ५ अर्ब रूपैयाँ राजस्व आम्दानी गथ्र्यो। 

प्रकाशित: १९ वैशाख २०८० ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App