टीकापुर नगरपालिका अन्र्तगतका निर्माण व्यवशायीहरु आन्दोलित भएका छन्। उनीहरु काम गरे वाफतको रकम समयमा भुक्तानी नभएको भन्दै आन्दोलित भएका हुन्।
उनीहरुले नगरपालिकासँग ठेक्का सम्झौता गरेर निर्माण भइरहेका र निर्माण सम्पन्न भएका कामको बिल भुक्तानी नभएको गुनासो गरेका छन्। निर्माण व्यवसायीहरुले आज नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु र उपप्रमुख खडकबहादुर शाहलाई भेटेर रकम भुक्तानी गर्न दवाव दिएका छन्।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानी लगायत दैनिक कामकाजमा समेत समस्या भैरहेको छ। केही दिन अघि सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कठायतको एक महिना नपुग्दै सरुवा भएको थियो। उनको ठाउँमा यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका मंगलबहादुर शाहको सरुवा भएको छ।
कठायतले हालसम्म रमाना नबुझेको र शाह कार्यालयमा नआएका कारण रकम भुक्तानीमा समस्या भएको निर्माण व्यवसायीहरु बताउँछन्। निर्माण व्यवसायी ललित रावलले नगर पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निर्माण कार्य नै अवरुद्ध गर्नुपरेको बताए।
‘चैत्र मसान्तमा ब्याज तिर्नुपर्ने, नयाँ वर्षमा कामदारलाई तलब भुक्तानी दिनुपर्ने बेला नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्’ उनले भने ‘रकम नै भुक्तानी नभएपछि उधारोमा गाडी दौडाएर निर्माण गर्न सकिँदैन, हामी रोक्न बाध्य छौं।’
अर्का निर्माण व्यवसायी कुलराज भट्टराईले निर्माण ढिलो गर्दा जरिवाना तिराउने नगरपालिकाले बिल उठाएको दुई तीन महिना हुँदा समेत भुक्तानी दिन नसकेको बताए ।
‘समयावधि भित्र निर्माण सम्पन्न नहुँदा हामीले जरिवाना तिरेका छौं’ उनले भने ‘काम सम्पन्न भएको दुई महिना भइसक्दा समेत रकम भुक्तानीमा नगरपालिकाले आलटाल गर्दा मर्कामा परेका छौं।’
ब्लक नं. २१ पार्करोड सूर्यबहादुर रावलको घरदेखि सीताराम गिरीको घरसम्म मुलबाटो जोड्ने सडक निर्माण गरिरहेको सेतो बाघ बिल्डर्सका सञ्चालक दीपक साउँदले दुई महिना भइसक्दा समेत रकम भुक्तानी नपाएको गुनासो गरेका छन्।
‘दुई महिना अगाडि नै ३० लाख बराबरको काम सम्पन्न गरेर बिल उठाएका हौं, इञ्जिनियरहरुले भुक्तानीका लागि टिप्पणी समेत उठाई सकेका हुन्’ उनले भने ‘तर पनि रकम भुक्तानी भएको छैन, कहिले रकम छैन त कहिले हाकिम छैन भन्दै नगरपालिकाले आलटाल गरिरहेको छ।’
साउँदले उक्त ठेक्का २०८० बैशाख १५ गतेभित्र सम्पन्न गर्ने गरी ५७ लाखमा सम्झौता भएको बताए। उनले रकम भुक्तानी नहुँदा समयावधिभित्र कालोपत्रे गर्ने कार्य नसकिने र बैंकले ग्यारेन्टी क्लेम गरेको बताए।
यता, नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा रकम भुक्तानी लगायतका काम प्रभावित भएको स्विकारे। निर्माण व्यवशायीहरुले तत्काल भुक्तानी नभए आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनी दिएका छन्।
प्रकाशित: २९ चैत्र २०७९ १२:१२ बुधबार





