११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाइलट राजीनामा प्रकरणमा उचित निर्णय: प्राधिकरण

काठमाडौं-मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘वायुयान चालक तथा इन्जिनियरको उपयोग, नियन्त्रण र सेवा सुरक्षासम्बन्धी आदेश २०७०’ संशोधन हुनुअघि राजीनामा दिएका पाइलटका हकमा उचित निर्णय गर्ने बताएको छ।

प्राधिकरणले पाइलट र इन्जिनियरमात्र नभई वायुसेवा कम्पनीहरूलाई समेत कस्ने गरी संशोधनसहित गत असोज ७ बाट कार्यान्वयनमा ल्याएको उक्त आदेशअनुसार कुनै पनि पाइलट र इन्जिनियरले काम गरिरहेको कम्पनीबाट जागीर छाड्न परे आफ्नो संस्थालाई एक वर्षअघि नै लिखित जानकारी दिनुपर्ने छ । त्यसबाहेक कुनै पनि वायुसेवा वा हेलिकोप्टर सेवा प्रदायक कम्पनीले पाइलट वा इन्जिनियरलाई तलब–भत्ता समयमै नदिए वा बाँकी राखे त्यस्ता कम्पनीको उडान रोक्न सक्ने तथा सेवाबाट हटाउनुपरे एक वर्षअघि नै जानकारी दिनुपर्ने छ ।

संशोधन हुनुअघि भने पाइलट वा इन्जिनियरले तीन महिना पहिले लिखित जानकारी दिएर राजीनामा दिन पाइन्थ्यो । पुरानो नियम भएकै बेला तीन महिनाअघि लिखित जानकारी दिएर राजीनामा दिएका आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सका तीन वरिष्ठ क्याप्टेनका हकमा प्राधिकरणले उपयुक्त निर्णय गर्ने जनाएको हो ।

यतीका प्रशिक्षक पाइलट प्रफुल्ल वैद्य, वरिष्ठ क्याप्टेन राजेश श्रेष्ठ र क्याप्टेन राजुसिंह महर्जनले प्राधिकरणबाट नयाँ नियम कार्यान्वयनमा आउनुअघि नै राजीनामा दिएको बताएका छन् । वैद्यले मंसिर २६ बाट लागू हुने गरी गत भदौ २६ तथा श्रेष्ठ र महर्जनले मंसिर २७ बाट लागू हुने गरी भदौ २७ गते राजीनामा दिएका थिए । लगत्तै असोज ७ बाट कार्यान्वयनमा आएको नयाँ नियममा राजीनामा दिनु एक वर्षअघि लिखित जानकारी दिनुपर्ने उल्लेख छ ।

‘यतीको विवादबारे क्याप्टेन वैद्य, श्रेष्ठ र महर्जन तथा यती एयरलाइन्स व्यवस्थापनका अधिकारीलाई बोलाएर छलफल गर्छौं,’ प्राधिकरणका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, ‘नयाँ नियम आउनुअघि राजीनामा दिएको हो भने हामी उपयुक्त निर्णय गर्ने छौं ।’

यतीका तीन क्याप्टेनले कम्पनीसँग कुनै रिसराग वा विवाद नभई सौहाद्र्रपूर्ण तरिकाले तीन महिनाअघि लिखित जानकारी दिएर राजीनामा दिएको बताए । ‘हामीले कम्पनीलाई धोका दिएको छैन र बढी तलबसुविधा पाइने लोभमा जागीर छाडेको पनि होइन,’ यतीका प्रशिक्षक पाइलट वैद्यले नागरिकसँग भने, ‘हामीले राजीनामा दिनुअघि प्राधिकरणको जे नियम थियो, त्यसैलाई टेकेर राजीनामा दिएका हौं ।’

यतीकै वरिष्ठ क्याप्टेन श्रेष्ठले कम्पनीमा आबद्ध हुँदा गरिएका सम्झौताका सर्तअनुसार राजीनामा दिएको बताए । ‘त्यसकारण नियमअनुसार गरिएका कामलाई पनि धोका दिइएको भन्न पाइँदैन,’ उनले भने, ‘त्यसमाथि अहिले आएर कम्पनीबाट हामीविरुद्ध प्राधिकरणमा उजुरी परेको थाहा पाउँदा हामी आश्चर्यचकित छौं ।’

यता यती व्यवस्थापनले भने तीन वरिष्ठ पाइलटले राजीनामा दिएपछि ‘कम्पनी नै धराशयी’ हुने अवस्था सिर्जना भएपछि उनीहरूविरुद्ध प्राधिकरणमा उजुरी हालेको जानकारी दएको छ ।

‘वर्षौंदेखि उनीहरूमाथि गरेको लगानीमात्र नभई कम्पनीको समग्र सेवा प्रवाहमा समस्या उत्पन्न भएपछि प्राधिकरणमा उजुरी गरेका हौं,’ यतीका प्रवक्ता भीमराज राईले भने, ‘कुनै एउटा पाइलटको सनकको भरमा कम्पनी नै धराशयी हुने अवस्था आउनु हँुदैन भन्ने हाम्रो भनाइ हो ।’

कम्पनीले पाइलटमाथि ठूलो रकम लगानी गरेको भने पनि पाइलटले भने ठाडै प्रतिवाद गरेका छन् । ‘हामी आफ्नै लगानीमा पाइलट पढेर, तालिम लिएर तयार भएपछि जहाज उडाउन आएका हौं,’ वैद्यले भने, ‘उनीहरूकै जहाज उडाउनका लागि वर्षैपिच्छे लाइसेन्स नवीकरणमा गरेको खर्चलाई करोडौं लगानी गरेको भन्नु तर्कसम्मत छैन ।’

तीन क्याप्टेनले राजीनामा दिएको दुई महिनापछि यती व्यवस्थापनले उनीहरूको राजीनामा अस्विकृत गरिएको र प्राधिकरणको नयाँ नियमअनुसार भए कम्पनीलाई मान्य हुने भन्दै पत्र दिएको थियो । त्यसबेलासम्म तीनैजना कम्पनीमा काम गरिरहेका थिए ।

त्यसैगरी माउन्टेन हेलिकोप्टर्सका क्याप्टेन सुरज थापाले लगातार ५ महिनासम्म तलब नपाएको र तालिममा पनि नपठाएपछि बाध्य भएर राजीनामा दिएको बताए । ‘समयमा तलब दिन बारम्बार भन्दा पनि कम्पनीले बेवास्ता ग¥यो,’ उनले भने, ‘अनि त्यस्तो कम्पनीमा कसरी काम गर्ने ?’

यता प्राधिकरणले समयमा तलबसुविधा उपलब्ध नगराउने वा बाँकी राख्ने वायुसेवा वा हेलिकोप्टर कम्पनीबारे जानकारी दिए त्यस्ता कम्पनीको उडान रोक्न सक्ने जनाएको छ ।

सम्बद्ध कम्पनीका अनुसार यतीका प्रशिक्षक पाइलट वैद्य, वरिष्ठ क्याप्टेन श्रेष्ठ र क्याप्टेन महर्जन अर्को वायुसेवा कम्पनी श्री एयरलाइन्स, बुद्ध एयरका क्याप्टेन प्रवल सिंह निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स, गोमा एयरका प्रशिक्षक पाइलट विनोद पुरी सीता एयर, सौर्य एयरलाइन्सका क्याप्टेन प्रज्ज्वल अधिकारी श्री एयरलाइन्स एवं माउन्टेन हेलिकोप्टर्सका क्याप्टेन थापा हालै सञ्चालनमा आएको नयाँ हेलिकोप्टर कम्पनी अल्टिच्युड हेलिकोप्टर्समा गएको भन्दै ती कम्पनीले नियमअनुसार कारबाहीको माग गर्दै प्राधिकरणमा उजुरी हालेका थिए ।

प्राधिकरणले संशोधनपछि कार्यान्वयनमा ल्याएको वायुयान चालक तथा इन्जिनियरको उपयोग, नियन्त्रण र सेवा सुरक्षासम्बन्धी आदेश २०७० अनुसार वायुसेवा कम्पनी र चालक वा इन्जिनियरबीच सर्त–सुविधासम्बन्धी अन्य व्यवस्था कर्मचारी नियमावली वा करारमा उल्लेख गरिएको भए सोहीबमोजिम हुने छ ।

यस्तो अवस्थाबाहेक मनलागी ढंगले वायुसेवा कम्पनी छाड्ने वायुयान चालक वा इन्जिनियरको इजाजतपत्र उपयोगमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले आवश्यकताअनुसार रोक लगाउन सक्नेछ । यसमा नयाँ भनेको कम्पनीले पनि पाइलट र इन्जिनियरलाई समयमै तलब–भत्ता दिनुपर्ने र हटाउनुपरे एक वर्षअघि नै अग्रिम जानकारी दिनुपर्ने छ ।

त्यसबाहेक वायुसेवा कम्पनीले वायुयान सञ्चालनका सिलसिलामा वायुयान चालक तथा इन्जिनियरलाई सीप तथा दक्षता अभिवृद्धि गराउन तालिमको आवश्यकता महसुस गरी कम्पनीले आफ्नै खर्चमा पठाउँदा लागेको रकमवापत कम्पनीमा निश्चित अवधिसम्म काम गर्नुपर्ने सर्त राखी व्यवस्थापनले तालिममा जानेलाई बन्ड (प्रतिज्ञापत्र) गराउने सक्ने उक्त आदेशमा छ।

‘वायुसेवा कम्पनीसँग बन्ड गरेको वायुयान चालक तथा इन्जिनियर बन्डको अवधि कायम रहेसम्म आफू कार्यरत कम्पनी छाडी अन्य वायुसेवा कम्पनीको सेवामा प्रवेश गर्दा आफू कार्यरत कम्पनीको स्वीकृति अनिवार्य प्राप्त गरेको हुनुपर्ने छ,’ आदेशमा छ, ‘यसरी साविक कम्पनीको स्वीकृति प्राप्त नगरी सेवा छाड्ने वायुयान चालक वा इन्जिनियरले यसबाट कम्पनीलाई कुनै हानी नोक्सानी हुन गए सोको क्षतिपूर्ति बेहोर्नुपर्ने छ।’

 

 

 

प्रकाशित: ६ पुस २०७३ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App