१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव, "सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई उभिन सक्ने बनाउनुस्"

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।

बुधवार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन। उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताए। शर्माले सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताए। उनले राज्यले, निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिन सक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका हुन।

महामन्त्री शर्माले देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरूले बनाउने नभई समन्वयकारी भूमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको बताए। उनले देशले अहिले आर्थिक प्रतिकुलताको सामना गरिरहेको भन्दै अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर बाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताए। उनले देश निराशाले नबन्ने भन्दै केही फूलहरूको खोजी गर्न आवश्यक रहेको बताए। उद्योगहरू विस्थापित हुनबाट रोक्न बैंकबाट लिएको ऋणलाई कसरी कम गर्ने भन्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताए।

महामन्त्री शर्माले भने, ‘हाम्रो देश जुन प्रकारको आर्थिक प्रतिकुलतासँग जुध्दै छ, यो बेलामा त्यसको सामना गर्ने भनेको नै नेपाली उत्पादनलाई बढाएर उत्पादनलाई बाह्य बजारमा लैजानुपर्छ। देश निराशाले बन्दैन, आशाले बन्छ। काँढाहरू देखिराखेर मात्रै बन्दैन, केही फूलहरूको खोजिले बन्छ। त्यसकारण नेपालमा २०४६ सालको परिवर्तनपछि निजी क्षेत्र र यो जुत्ताको लगभग १५ सय बढी उद्योगहरू सञ्चालन हुनु भनेको रोजगारी बढ्नु हो। सरकारको काम शिक्षाको काम बढाउनु, स्वास्थ्य क्षेत्रको बिस्तार गर्नु हो। नेपालको जुत्ता उद्योग अहिले जुन आत्मनिर्भर उन्मुख छ, यसलाई कसरी चोरी, पैठारीबाट भएकाबाट कसरी जोगाउने, बैंकबाट लिई आएको ब्याजलाई कसरी वान डिजिजमा कसरी सीमित गर्ने, ब्याजका कारण कोही पनि उद्योगीहरू विस्थापित भइरहेको अवस्था छ। जुत्तालाई टेकेर धेरै उभिएका छन्, तर जुत्ता उद्योगले टेक्ने खालको अवस्था राज्यले बनाउनु छ। जुत्ता उद्योग आफैँ उभिन राज्यले ब्याजको कुरामा ध्यान दिन जरुरी छ। यसलाई बृहत्तर उद्योगको रूपमा राज्यले प्रोत्साहित गर्नुपर्छ। नेपाललाई धेरै मानिसले श्रीलङ्का बन्छ भन्दै गरेको भनेको आयात बढेर जाने, रेमिट्यान्स गत जेठको भन्दा ८ सय अर्बले आउँदा पनि २ सय रुपैयाँ शोधनान्तर घाटा हुने भनेको, नेपाल भित्रिने भन्दा बाहिरिने पैसा बढी हुनु भनेको राम्रो होइन। नेपालको अर्थतन्त्र लड्खडाउँदै उभिन सक्ने की नसक्ने, कुनै पनि समय धराशायी हुने भन्ने दोधारमा छ। नेपाली उत्पादनको प्रयोग गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डलाई पनि भन्छु की सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रबाट भएको उत्पादन, आन्तरिक उत्पादन पनि उभिन सक्ने बनाउनु पर्छ । देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरूले बनाउने होइन, तर समन्वय गर्ने काम प्रधानमन्त्रीले हो, त्यसैले देश बनाउन सबै मानिसको संलग्नता हुनुपर्छ।’

महामन्त्री शर्माले जुत्ता उद्योगलाई बृहत्तर उद्योगको रूपमा बिस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै नेपाली जुत्ता लगाउन, प्रयोग गर्न र नेपाली उत्पादन उपयोग गर्न अपिल गरे।

प्रकाशित: १६ चैत्र २०७९ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App