१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

फागुनमा ६२ हजार नेपाली विदेसिए

कामको खोजी गर्दै फागुन महिनामा मात्रै ६१ हजार ८ सय ४५ जना नेपाली विदेसिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार माघमा ६४ हजार २ सय ८४ जना नेपाली विदेसिएका थिए।

वैदेशिक रोजगारीमा विदेसिनेको संख्या गत वर्षको भन्दा उच्च रहेको जानकारी विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले दिए। नेपालको आर्थिक अवस्था कमजोर हुँदै गर्दा झन् धेरै नेपालीहरू विदेसिन लर्को लागेको उनको अनुभव छ। विभागका अधिकारीहरू भन्छन्, पारिवारिक समस्या समाधान गर्ने र जीवन सहज बनाउने सपना साँचेर नेपालीहरू विदेसिइरहेका छन्।

फागुनमा ५६ हजार ७ सय १९ जना पुरुष र ५ हजार १ सय २६ जना महिला कामको खोजीमा विदेशिएका छन्। यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त २९ हजार २ सय ८८ जना युवा विदेशिएका छन्।

व्यक्तिगत रूपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५ सय ३६ जना छन्। जीटुजीमार्फत २ हजार १ सय ७० जना युवा विदेश गएका छन्। व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८ सय ५१ जना रहेको छ। तथ्यांक अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८ सय २४ जनाले श्रम स्वीकृति लिएका छन्। कतारका लागि ११ हजार ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन्। युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७ सय ९५ जना विदेशिएका छन्। साउदी अरबमा ९ हजार ५ सय ३ जना पुगेका छन्।

कुवेतका लागि २ हजार ४ सय ६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ। कोरियामा २ हजार २ सय २७ जनाले स्वीकृति लिएका छन्। रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ। जापानमा ८ सय ७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५ सय ९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ।

फागुन महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार १ सय २९ जना विदेसिएका छन् भने झापाबाट २ हजार ७ सय ३५ जना नेपाली वैदेशिक रोजगारीको लागि विभिन्न गन्तव्य मुलुक पुगेको विभागको तथ्यांकले देखाएको छ। त्यस्तै अन्य जिल्ला मोरङबाट २ हजार ३ सय ९६, सिराहाबाट २ हजार ३ सय ४५, महोत्तरीबाट २ हजार ३ सय ५, रूपन्देहीबाट १ हजार ८ सय १६ र सर्लाहीबाट १ हजार ७ सय २५ जना विदेशिएका छन्।

फागुनमा विदेसिएका नेपाली युवा मध्ये अधिकांश दक्ष योग्यता भएकाहरू छन्। विभागका अनुसार फागुनमा विदेसिनेमध्ये ४२ हजार ७ सय १८ जना युवा दक्ष थिए। यस महिनामा विदेशिएका अदक्ष युवा १३ हजार ५ सय ८० जना छन्। दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका ५ हजार ४ सय ४९ जना युवाले श्रम स्वीकृति लिएका छन्। व्यावसायिक योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना नेपाली वैदेशिक रोजगारीमा विदेसिएको तथ्यांकले देखाएको छ।

प्रकाशित: १३ चैत्र २०७९ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App